सरकारले बिगत ३ दिनदेखि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा संचालन गरिरहेको जनाएको छ । उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले कुलेखानीमा बाँधमा पानीको सतह उच्च भई खतराको संकेत देखिएकोले ९० मेगावाटको उक्त आयोजनालाई २४ घण्टा नै संचालन गरिएको बताएको हो ।
उर्जा मन्त्री बर्षमान पुनले गत बर्षहरुमा असोजको १५ गतेसम्ममा पानिको सतह १५२७ मिटर पुग्ने गरेकोमा यो वर्ष भारी बर्षा हुँदा असार महिना मै १५२७ मिटर पानि पुगेको बताए । पानी बढेपछि खतरा टार्न आयोजनालाई २४ घण्टा नै चलाईएको बताएका हुन् । यस अघिसम्म कुलेखानी आयोजनालाई अन्य आयोजनाले माग धान्न नसकेको खण्डमा हिउँदमा मात्र संचालन गर्ने गरिएको थियो । खतरा नटरेसम्म आयोजना संचालन गरेर पानीलाई निकास दिईने मन्त्री पुनले जानकारी दिए ।
मन्त्री पुनले कुलेखानी बाट उत्पादित बिजुली भारत निर्यात गरिएको समेत जानकारी थिए। मन्त्री पुनका अनुसार नेपाल बिद्युत प्राधिकरणले ३ दिन १५० मेगावाट र आज २ सय मेगावाट बिजुली निर्यात गरिएको बताए ।
बाढी पहिरोका कारण विभिन्न स्थानमा बिद्युत आपूर्ति अवरुद्द हुँदा कुल माग नै ५ सय ५० मेगावाटमा झरेकोमा हिजोबाट अधिकाश स्थानमा आपूर्ति सहज भईसकेकोले माग पुन ११२५ भन्दा धेरै भईसकेको बताए । भोली बुधबारसममा सबै स्थानमा बिद्युत आपूर्ति सुचारु भई सक्ने मन्त्री पुनले जानकारी दिए ।
इनर्जी बैंकिंगको अवधारणा अनुरुप बिजुली निर्यात गरिएको मन्त्री पुनले बताएका हुन।