अपी पावर कम्पनीले ८ मेगावाटको माथिल्लो नौगड गाड आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको छ । आयोजनाको विद्युत कार्तिक १३ गतेदेखि राष्ट्रिय प्रशारण लाईनमा जोडिएको हो । आयोजनाको विद्युत अत्तरिया बलाच १३२ केभि ट्रान्समिशनलाईन मार्फत राष्ट्रिय ग्रिडमा आएको हो ।
यो सँगै दार्चुलामा कम्पनीको दोश्रो आयोजना सम्पन्न भएको छ । कम्पनीका अनुसार यस आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा उर्जा उत्पादन गर्नेछ भने विद्युत विक्रीबाट कम्पनीले पहिलो वर्ष रु. २७.४८ करोड आम्दानी गर्नेछ । आम्दानी बार्षिक ३ प्रतिशतका दरले वृद्धि हुने कम्पनीले जनाएको छ । कुल लागत १६० करोड रहेको यस आयोजना निर्माणको लागी नेपाल एस.बि.आई. बैंकको अगुवाइमा प्रभु बैंक लिमिटेड, कैलाश विकास बैंक तथा युनाईटेड फाईनान्स कम्पनीले सहवित्तियकरण अन्र्तगत रु. १२० करोड कर्जा उपलब्ध भएको थियो ।
कम्पनीले यस अघि २०७२ साल भदौमा ८.५ मेगावाटको नौगड गाड आयोजना निर्माण सकेको थियो । अब कम्पनीले सोही क्षेत्रमा नयाँ आयाजनाको रुपमा ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्ने जनाएको छ । यसका लागी आवश्यक सबै स्विकृतिहरु प्राप्त भएको कम्पनीले जनाएको छ । चमेलिया जलविद्युत आयोजना सुदुर पश्चिमाञ्चल प्रदेशको दुर्गम जिल्ला दार्चुलामा अवस्थीत आयोजना हो । यो आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरि संचालन गरेको अत्तरिया–बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान हुने छ । आयोजनाका अनुसार यसबाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३.२ डायमिटरको पेन स्टक पाएपको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिनेछ ।
अपर चमेलिया जलविद्युत आयोजना निर्माणको लागी जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने रु. २२२ करोड शेयरधनीको लगानीबाट र बाँकी रु. ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी हुने कम्पनीले जनाएको छ। यो आयोजनाको निर्माण कार्य २०७७ बैसाख महिना देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।