राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने भएको छ ।
कूल भौतिक प्रगति ९९ दशमलव तीन प्रतिशत पुगेको आयोजनाको प्रमुख संरचनाको परीक्षण गर्न लागिएको आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रमुख काम करिब सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति नभएको हो ।
आयोजनाको प्रमुख संरचनामध्ये बाँधस्थलको अवस्था पत्ता लगाउनका लागि पानी भर्न लागिएको हो । बाँधमा पानी जम्मा गरेर संरचनाको परीक्षण गर्न लागिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । आयोजनाका अनुसार सोमबारदेखि चार दिनसम्म बाँध, मुहान गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिनेछ ।
देशकै ठूलो आयोजनामा कूल २२ मिटर उचाइ तथा ६० मिटर चौडाइ भएको बाँध निर्माण गरिएको छ । हाल मुख्य सुरुङमा अन्तिम चरणको ढलान कार्य हुँदैछ । सबैभन्दा कठिन मानिएको ठोडो सुरुङमा पेनस्टक पाइप जडानको काम पनि धमाधम भइरहेको छ । हालसम्म ठाडो सुरुङमा कूल ३९५ मिटर पेनस्टक पाइप जडान कार्य पूरा भइसकेको प्रवक्ता न्यौपानेले जानकारी दिए । उनका अनुसार तल्लो ठाडो सुरुङमा कूल २५० मिटर र माथिल्लो ठाडो सुरुङमा १४५ मिटर पाइप जडान भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वैशाखभित्र ठाडो सुरुङमा पाइप जडानको कार्य सम्पन्न गर्न गत फागुन १४ गते निर्देशन दिएका थियो ।
आगामी असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी गरिएको छ । माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशः सात र पाँच दिनमा आइसकेकाले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले बताएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेस्रो भागमा पाइप जडान शुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने बताइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावरका अध्यक्ष घिसिङले गत फागुन १४ गते निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारसँग संयुक्तरूपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गरेका थिए । ठेकेदार कम्पनीले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यकारी निर्देशक घिसिङले अगामी असारभित्र कम्तीमा पनि एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाइ त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । पहिलो युनिटबाट कूल ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलगायतको गम्भीर चासो छ । त्यसैले जुनसुकै अवस्थामा पनि चालु आर्थिक वर्ष्भित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्ने भएकाले आफूले जनाएका प्रतिबद्धताअनुसारका समय तालिकामा रहेर काम गर्नुहोला आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न प्राधिकरण तयार छ ।
केही महिनाअघि ऊर्जा जलस्रोत तथा सिँचाइसचिव दिनेशकुमार घिसिङ, कार्यकारी निर्देशक घिसिङ, माथिल्लो तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसहितको टोलीले कोलकातास्थित टेक्स्म्याकोको मुख्यालय गई कम्पनीको उच्च व्यवस्थापनलाई भेटेर निर्माणमा तीव्रता दिन आग्रह गरेका थिए । श्रेष्ठका अनुसार, सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कङ्क्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ । विद्युत्गृहका सम्पूर्ण उपकरण जडान भई तयारी अवस्थामा छन् । प्रसारण लाइनको १२७ टावर निर्माण र ४७ किलोमिटर तार टाङ्ने कार्य सम्पन्न भएको छ ।