रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको हाइड्रोपावरको काम अन्तिम चरणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 01:23:50 PM मा प्रकाशित

laxmi  sunrise bank

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा सो सिँचाइ आयोजना रहेको छ ।

चार मेगावाट क्षमताको सो हाइड्रोपावर योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको छ । आयोजनाले भवन निर्माण र नहरको सबै काम सम्पन्न गरिसकेको छ भने अहिले उपकरण सामानको जडानको काम हुँदै आएको छ । गत वर्ष असार मसान्तसम्म मुख्य नहरमा पानी छाड्ने लक्ष्य भए पनि कोरोना सङ्क्रमणका कारण समयमै काम सम्पन्न हुन नसक्दा आयोजनाको काम लम्बिएको हो । आयोजनाले असार मसान्तसम्म सबै काम सम्पन्न गरेर मङ्सिर महिनाभित्र विद्युत् जलाउने लक्ष्य राखेको भए पनि अझै आयोजनाको काम सम्पन्न हुन समय लाग्ने भएको छ ।

सो आयोजना प्रमुख केदार श्रेष्ठले चालु आर्थिक वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गर्दै आएको जानकारी दिए । उनले कोरोनाका कारण समयमै आयोजनाको काम सम्पन्न गर्न नसकिएको जनाउँदै बाहिरी काम सम्पन्न भए पनि उपकरण जडानको काम सुरु भएको बताए । “काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ । सम्भवतः असार मसान्तभित्र काम सम्पन्न हुन्छ होला ?”, उनले भने , “गत कात्तिकमा आएको बाढीका कारण पनि आयोजनाको काम लम्बिएको हो । बाढीले आयोजनामा क्षति पु¥याउँदा त्यसको मर्मतसम्भारमा पनि समय लागेकाले आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको हो ।”

तुदी कन्स्ट्रक्शनले हाइड्रोपावर निर्माणको जिम्मा पाएको छ । हाइड्रोपावरसँगै छ किलोमिटर नहर र पाँच किलोमिटर कर्णाली नदीमा तटबन्धको जिम्मा पाएको कन्स्ट्रक्शनले तटबन्ध र नहरको काम सम्पन्न गरिसकेको छ । करिब रु दुई अर्बको लागतमा निर्माण भएको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले बताएको छ । हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् लम्की स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । चार दशमलव ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । राष्ट्रिय गौरवको आयोजनाले हाइड्रोपावरको आयोजनालाई विषेश महत्वका साथ लिएको छ ।

निर्माण कम्पनीका इञ्जीनियर उदय पोखरेलले असारसम्म विद्युत् उत्पादन गरेर हस्तान्तरण गर्ने गरी आयोजनाको काम भइरहेको बताउनुभएको छ । उनले नहर र तटबन्धको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र हाइड्रोपावरको ९० प्रतिशत काम सम्पन्न भएको जनाउँदै कोरोनाको सङ्क्रमणका कारण ढिलाइ भएको बताए । “हामीले गत आर्थिक वर्षको अन्तिमसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेका थियौँ । कोरोनाको कारण समयमै काम सम्पन्न गर्न नसक्दा त्यो हुन सकेन ।” उनले भने , “वैशाखसम्ममा हाइड्रोपावरको परीक्षण गर्ने तयारी गरेका छौँ । असारमा सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्छौँ ।”

उनले अहिले मेसिरेनरी जडानको काम भइरहेको जनाउँदै उपकरण जडानको काम सकिएपछि परीक्षण गरिने र त्यसपछि विद्युत् लाइन जोडेर लम्की विद्युत् स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि हस्तान्तरण गरिने बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved