
नेपाल विद्युत प्राधिकरणले १० मेगावाटसम्म जडित क्षमता भएका जलविद्युत आयोजनालाई विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्न बोलाएको छ । प्राधिकरणको विद्युत व्यापार विभागले आवश्यक कागजातहरू र दस्तावेज सहित विभागमा निवेदन पेस गर्न सूचना जारी गरेको हो।
त्यस्तै विभागले विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भइसकेका जलविद्युत आयोजनाहरूको बढीमा २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि भएको भए त्यस्ता आयोजनालाई पनि पीपीए गर्न बोलाएको हो । यस सगै विद्युत प्राधिकरणको २०८० माघ २४ को संचालक समितिको निर्णय कार्यान्वयनमा गएको छ ।
सो बैठकले साना लगानीकर्ताहरूलाई विद्युत आयोजना निर्माणमा प्रोत्साहन गर्न पीपीएको सीमा ( Quota ) को अधीनमा नरहने गरी ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका वा हुने आयोजनाहरूमध्ये मेगावाटसम्म जडित क्षमता भएका आरओआर तथा पीआरओआर जलविद्युत आयोजनाहरूलाई लिउ वा तिर (Take or Pay) प्रावधानमा विद्युत खरिद सम्झौता गर्ने निर्णय गरेको थियो । साथै विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भइसकेका आरओआर तथा पीआरओआर जलविद्युत आयोजनाहरूको हकमा बढीमा २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि हुँदा समेत पीपीएको सीमाको अधीनमा नरहने गरी लिउ वा तिर (Take or Pay) प्रावधानमा राखी विद्युत खरिद बिक्री सम्झौता संशोधन गर्ने निर्णय गरेको थियो।
सोहि निर्णय बमोजिम हुनेगरी पीपीए वा पीपीएमा क्षमता वृद्धि गर्नुपरेमा आवश्यक कागजातहरू / दस्तावेज सहित नेपाल विद्युत प्राधिकरण, विद्युत व्यापार विभागमा निवेदन पेस गर्न प्राधिकरणले आग्रह गरेको हो।