एमसीसीको सबस्टेसन बनाउने ठेक्काः योग्य ठहरिएका ६ कम्पनीमध्ये ५ भारतीय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 02:04:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोगमा बन्न लागेका ३ महत्वपूर्ण उर्जा पूर्वाधार अर्थात् सबस्टेसन परियोजना निर्माणका लागि आह्वान गरिएको बोलपत्र प्रस्ताव खोलिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले ३ चरणमा बनाउने गरि आह्वान गरेको सबस्टेसन निर्माणको ठेक्कामा प्राविधिक रूपमा योग्य देखिएका ६ कम्पनीले पेश गरेको आर्थिक प्रस्ताव खोलिएको हो ।

एमसीसी सहयोगमार्फत नुवाकोटको रातमाटे, बुटवल र दमौलीमा निर्माण हुने ४ सय केभी क्षमताका सबस्टेसन बनाउन भारत, साउदी अरब, अफगानिस्तान र टर्कीका ७ कम्पनीले बोलपत्र पेश गरेका थिए । ७ कम्पनीमध्ये ६ वटा प्राविधिक रूपमा सफल भएका छन् । प्राविधिक रूपमा सफल भएका कम्पनीमध्ये ५ वटा भारतीय कम्पनी छन् भने एउटा साउदी अरबको कम्पनी छ । 

अफगानस्तान र टर्कीको कम्पनी प्राविधिक रुपमा अयोग्य देखिएको एमसीए नेपालले जनाएको छ ।

कुन सबस्टेसन बनाउन कुन कम्पनीले कतिमा हाल्यो टेण्डर ?

एमसीए नेपालका अनुसार विभिन्न लटमा विभाजन गरेर एमसीसी परियोजना अन्तर्गतका सबस्टेसन बनाइने छ । ति मध्ये पहिलो लटमा ४ सय केभी क्षमताको रातमाटे सबस्टेसन निर्माण गरिनेछ । काठमाडौँको लप्सीफेदी र मकवानपुरको हेटौंडा सबस्टेसनको काम पनि पहिलो लटमै परेको छ । 

पहिलो लटको काम गर्न ३ कम्पनीले प्रस्ताव पेश गरेका छन् । सबैभन्दा कम भारतको टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले ५ करोड १७ लाख ९६ हजार २ सय ६७ अमेरिकी डलर (६ अर्ब ८८ करोड ८९ लाख रुपैयाँ) मा परियोजना निर्माणको प्रस्ताव गरेको छ ।

यसपछि भारतकै साइमेन्स लिमिटेड इन्डियाले ६ करोड ७६ लाख ३८ हजार ९ सय ७६ डलर र तेस्रोमा केईसी इन्टरनेसनल लिमिटेडले ७ करोड २९ लाख ४५ हजार ६ सय २१ डलरमा पहिलो लटको परियोजना निर्माण सम्पन्न गर्ने गरि आर्थिक प्रस्ताव पेश गरेका छन् । 

दोस्रो लटमा ४ सय केभी क्षमताको न्यु बुटवल सबस्टेसन निर्माण हुनेछ । यो लटमा परेका परियोजनाको निर्माणका लागि ५ कम्पनीले प्रस्ताव पेश गरेका छन् । 

सबैभन्दा कम प्रस्ताव गर्ने कम्पनीमा भारतको लिङजन इन्डिया प्रा.लि. छ । उसले ४ सय केभी क्षमताको न्यु बुटवल सबस्टेसन ३ करोड ९६ लाख ९१ हजार ८ सय ६९ डलर अर्थात् ५ अर्ब २८ करोड रुपैयाँमा निर्माण गर्ने प्रस्ताव पठाएको छ ।

दोस्रो नम्बरमा रहेको केईसी इन्टरनेसनल लिमिटेडले ४ करोड ३९ लाख ५ हजार १ सय १७ डलर र तेस्रोमा साइमेन्स लिमिटेड इन्डियाले ४ करोड ५४ लाख ७१ हजार ६ सय ७९ डलरमा काम गर्ने प्रस्ताव गरेका छन् ।

तेस्रो लट अन्तर्गत ४ सय केभी क्षमताको न्यु दमौली सबस्टेसन निर्माण गर्न ४ कम्पनीले प्रस्ताव पेश गरेका छन् । ४ मध्ये सबैभन्दा कम दरमा परियोजना निर्माण गर्ने प्रस्ताव टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले गरेको छ । उसले ३ करोड ९८ लाख २० हजार ३ डलर अर्थात् ५ अर्ब ३० करोड रुपैयाँमा न्यु दमौली सबस्टेसन बनाउने प्रस्ताव गरेको छ ।

दोस्रो सस्तो दरको प्रस्ताव गरेको केईसी इन्टरनेसनलले ४ करोड ८४ लाख १८ हजार ६ सय ६४ डलर र तेस्रो सस्तो दरको प्रस्ताव गरेको साइमेन्स लिमिटेड इन्डियाले ५ करोड २३ लाख २२ हजार ४ सय ४७ डलरमा दमौली सबस्टेशन निर्माणको प्रस्ताव गरेका छन् । 

एमसीए नेपालले २०७९ चैत १० देखि २०८० कार्तिक २ सम्मको अवधि राखेर सबस्टेसन निर्माण गर्न अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । यसमा आवेदन दिएर प्राविधिक रूपमा योग्य ठहरिएका ६ कम्पनीको आर्थिक प्रस्ताव फागुन १४ गते खोलिएको हो ।

एमसीए नेपालले यसअघि प्रसारण लाइनको टेन्डर खोलेको भए पनि प्रस्ताव पेश गरेका कम्पनीहरुले एमसीएको लागत अनुमानभन्दा बढी दर प्रस्ताव गरेपछि ठेक्का प्रक्रिया रद्द गरिएको छ । प्रसारण लाइन निर्माणका लागि पुनः नयाँ टेण्डर आह्वान गर्ने तयारीमा एमसीए नेपाल देखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved