चिनीको स्टक सकियो, दशैँ तिहारमा हाहाकार हुने संकेत

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 27, 2023 | 01:40:01 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनी उद्योगहरुले स्टक सकिएको जानकारी दिँदा पनि समयमै आयातको प्रवन्ध नमिलाउँदा यसपालीको दशैँ तिहारमा चिनीको अभाव हुने संकेत देखिएको छ । स्वदेशी चिनी उत्पादकहरुले मौज्दात नरहेको भन्दै कर छुटको चिनी ल्याउनुपर्ने बताउँदै आएका थिए । तर, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले यस सम्बन्धमा समयमै तदारुकता देखाएन ।

भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले भारतबाट २० हजार मेट्रिक टन चिनी ल्याउने र यसमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेपनि चिनी आयातको अनुमति पत्र दिइएको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई चिनी आयातको अनुमति दिने मन्त्रिपरिषदको निर्णय भएपनि अहिलेसम्म यी दुइ वटै संस्थानले चिनी ल्याउने अनुमति पाएका छैनन् ।

एकातिर स्वदेशी उद्योगसँग मौज्दात शून्य हुनु र अर्कातिर भन्सार छुटको चिनी ल्याउन खाद्य र साल्ट ट्रेडिङलाई समयमै अनुमति नदिइनुले यसपालीको दशैँ र तिहारमा चिनी अभाव हुने देखिएको छ । तर, बल्ल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङसँग १०÷१० हजार मेट्रिक टन चिनी ल्याउने विषयमा छलफल सुरु भएको छ । 

सरकारले टेण्डर माग गरेको भएपनि स्वीकृत गरिसकेको छैन । त्यसकारण भन्सार छुटको २० हजार मेट्रिक टन चिनी दशैँ अगाडी आउने सम्भावना टरेको खाद्य र साल्ट ट्रेडिङकै अधिकारीहरु बताउन थालेका छन् ।

‘२ महिना अगाडी नै चिनी आयातको अनुमति माग गरेका थियौँ, त्यतिबेला अलिअलि स्टक थियो, तर स्टक नसकिउन्जेलसम्म उद्योग वाणिज्य मन्त्रालय र सरकारले कुनै चासो दिएनन्’ खाद्यका एक अधिकारी भन्छन्, ‘अब ल्याउने भनिएको २० हजार टन चिनी दशैँ अगाडी नै आउने सम्भावना छैन ।’

‘अर्थले फाइल अड्कायो’

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले भने अर्थ मन्त्रालयका कारण चिनी आयातमा ढिलाई भएको जनाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत साउन १८ गते चिनी आयात गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयमा पत्र बुझाएको थियो । 

उक्त पत्रमा ६० हजार मेट्रिकटन चिनी सहुलियतमा ल्याउनुपर्ने भन्दै सहजीकरणका लागि अनुरोध गरिएको वाणिज्य मन्त्रालय स्रोत बताउँछ । तर, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उक्त पत्रबारे अर्थ मन्त्रालयले कुनै जवाफ दिएन ।

यसपछि साउन ३१ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयले फेरि अर्थलाई अर्को पत्र पठायो । तर, यो पत्र पनि अर्थमै रोकिएको उद्योग मन्त्रालय स्रोतले बताएको छ ।

‘चिनि ल्याउन अनुमति दिइएको ४५ दिन लाग्छ, अहिले भन्सार छुटमा ल्याउने भनिएको २० हजार मेट्रिक टन चिनी आजबाट प्रक्रिया सुरु गर्दा त्यो आइपुग्दा चाडपर्व नै सकिइसक्छ’ स्रोत भन्छ, ‘साउनमा हामीले पठाएको पत्र अर्थले वेवास्ता गर्नाले यसपालीको दशैँ र तिहारमा चिनीको अभाव हुने भयो ।’

अहिले उद्योगी, साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी कोहीसँग पनि चिनी छैन । बजारमा भएको चिनीको भाउ पनि प्रतिकिलो १३० रुपैयाँसम्म पुगेको छ । 

‘हामीले बैशाख जेठमै यसबारे सरकारलाई भनेका थियौँ, मौज्दात सकिँदैछ, चाडवाडमा चिनी अभाव हुने र अचाक्ली महँगी बढ्न सक्नेबारे सचेत गराउँदा पनि कसैले सुनेनन्, त्यतिबेला नै हामीले चिनी आयातको प्रबन्ध मिलाउन भनेका थियौँ’ चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल भन्छन्, ‘स्टक सकिएको छ, माग र आपुर्तिको तालमेल मिलेको छैन, बजारमा भाउ बढेको छ । सरकारले जतिसक्दो चाँडो भन्सार छुटको चिनी ल्याएर सन्तुलन कायम गराउनुपर्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved