दशैँको मुखैमा ढाड सेक्ने महँगी, कुन वस्तुको भाउ कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2023 | 01:01:04 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ, तिहार, छठ पर्व जस्ता चाडवाडको मुखैमा महँगी अचाक्ली बढेको छ । खाना पकाउने एलपी ग्यासदेखि दैनिक उपभोग्य खाद्यान्नसम्मको भाउ अचाक्ली बढेको छ । चिनीबाट सुरु भएको मूल्यवृद्धि अहिले ग्याससम्म आइपुगेको छ ।

ग्यासको भाउ अहिले प्रतिसिलिण्डर २ हजार ११० रुपैयाँ पुगेको छ । गत भदौ १४ मा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि भएर १ हजार ८९५ पुगेको थियो । यसको १५ दिनपछि फेरि प्रतिसिलिण्डर २१५ रुपैयाँले मूल्य बढाएर २ हजार ११० रुपैयाँ पुर्याइको छ ।

गत वर्ष अर्थात् २०७९ भदौ १६ मा ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८ सय कायम गरिएको थियो । गत वर्षको दशैँमा उपभोक्ताले यहीँ मूल्यमा ग्यास पाएका थिए । २०८० साउन १५ गतेसम्म यो मूल्य कायम रह्यो । २०८० साउन १६ गते मूल्य घटेर १ हजार ६६० रुपैयाँमा झर्यो । आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेअनुसार मूल्य घटेको थियो । तर, यसपछि भने ग्यासको भाउ बढ्ने क्रम सुरु भयो ।

२०८० भदौ १४ गते एकैपटक प्रतिसिलिण्डर २३५ रुपैयाँले मूल्य बढेर १ हजार ८९५ रुपैयाँ पुग्यो । असोज १३ गते फेरि प्रतिसिलिण्डर २१५ रुपैयाँले मूल्य बढाएर अहिले २ हजार ११० रुपैयाँ कायम गरिएको छ । गत वर्ष दशैँमा प्रतिसिलिण्डर १८ सयमा ग्यास पाएका उपभोक्ताले अब २ हजार ११० रुपैयाँ तिर्नुपर्ने भएको छ । यद्यपी, अक्टुबर १५ अर्थात् असोज २८ गते भारतीय आयल कर्पोरेशनबाट नयाँ मूल्यसूची आउने भएकाले त्यतिबेला बढेर आए दशैँको नवरथा सुरु भएपछि ग्यासको भाउ अझै बढ्ने देखिन्छ ।

कुन खाद्यान्नको मूल्य कति छ ?

अहिले खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य १० प्रतिशतदेखि सत प्रतिशतसम्म बढेको छ । विगत २ महिनादेखि महँगी बढिरहेको खुद्रा ब्यापार संघले उपलब्ध गराएको वस्तुको खुद्रा बजार मूल्यसूचीले पनि देखाएको छ ।

दुई महिना अघि १३० रूपैयाँ प्रतिकिलो रहेको मुसुरीको दाल अहिले १ नम्बरको १७० र २ नम्बरको १५५ रुपैयाँ पुगेको छ । त्यस्तै किलोको १८० रुपैयाँमा पाउँदै आइएको रहरको दाल २३० र नेपाली रहर दाल प्रतिकिलो २७० रुपैयाँ पुगेको छ । मासको दाल प्रतिकिलो २१५ रुपैयाँ पुगेको छ ।

लङ्ग ग्रेन वासमति चामल प्रति किलो १७५ रुपैयाँ, स्टिम जिरा मसिना चामल प्रति किलो ९५ रुपैयाँ, पोखरेली चामल प्रति किलो १०५ रुपैयाँ रहेको खुद्रा ब्यापार संघले जनाएको छ । 

भुटेको तोरीको तेल प्रति लिटर ३६० रुपैयाँ, काँचो तोरीको तेल प्रति लिटर २४० देखि ३१० रुपैयाँ, भटमास तेल प्रति लिटर २०५ रुपैयाँ र सनफ्लावर तेल प्रति लिटर २०५ रुपैयाँ रहेको खुद्रा ब्यापार संघले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, जिरा पाउडर प्रति किलो १३ सय, धनिया पाउडर प्रति किलो ३७५ र बेसार पाउडर प्रति किलो ३५० रुपैयाँ छ । राजमा प्रतिकिलो २४०, सेतो सिमी प्रति किलो २२०, बोडी प्रति किलो १५० र कालो भटमास प्रति किलो २६० रुपैयाँ छ ।

जिरा दाना प्रति किलो १२ सय ५०, धनिया गेडा हरियो प्रति किलो २५० र मेथी प्रति किलो २१० रुपैयाँ रहेको जनाइएको छ । 

जौ प्रति किलो १ सय, मैदा प्रति किलो ७५, आंटा प्रति किलो ७० र सुजी प्रति किलो ११० रुपैयाँ छ । 

चामल पिठो खस्रो प्रति किलो ८५ र चामल पिठो मसिनो प्रति किलो १६० रहेको खुद्रा ब्यापार संघले जनाएको छ ।

ताइचिन चिउराप्रति किलो १६० रुपैयाँ पुगेको छ । तरार्ई ताइचिन चिउराको भाउ प्रति किलो १०५ र तराई चिउराको भाउ प्रतिकिलो ९५ रुपैयाँ पुगेको छ । 

डाल्डा ध्यू प्रति लिटर २१० रुपैयाँ र नेपाली ध्यू प्रति किलो १ हजार ३५० रुपैयाँ पुगेको छ ।

कैलो तिलको मूल्य प्रति किलो ३५०, सेतो तिलको मूल्य प्रति किलो ४३० र कालो तिलको मूल्य प्रति किलो ४ सय रुपैयाँ छ । मस्याङ एक किलोको १४० रुपैयाँ पुगेको छ । काबुल चनाको भाउ प्रतिकिलो २२० र सानो चनाको भाउ प्रतिकिलो १२० रुपैयाँ पुगेको छ ।

त्यस्तै मकैको पिठो प्रति केजी ७० रुपैयाँ, मकै प्रति किलो ५५ रुपैयाँ, मुरली मकै प्रति किलो १६० रुपैयाँ तथा कोदो प्रति किलो ७५ रुपैयाँ पुगेको छ ।

बजारमा चिनी भने अभाव छ । चिनीको अभाव भएकाले खुद्रा बजार मूल्य नै तोकिएको छैन । उपभोक्ताहरुले भने प्रतिकिलो १५० रुपैयाँसम्म तिर्नु परिरहेको गुनासो गर्दै आएका छन् । उद्योगीले स्टक सकिएकाले तत्कालै भारतबाट भन्सार छुटको चिनी आयात गर्नुपर्ने बताउँदै आएका छन् । सरकारले ५० प्रतिशत भन्सार छुटमा २० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेपनि आउन नसक्ने देखिएको छ । साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैँ अगाडी भन्सार छुटको चिनी आयात गर्न नसक्ने जनाउ दिइसकेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved