चेम्बर अध्यक्ष मल्लको दशैँः काठमाडौँ बाहिर नजाने, नवरात्रीभरी शक्तिपिठहरुको दर्शन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 11:13:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द मल्ल यसवर्ष पनि विगतमा झैँ स–परिवार बसेर दशैँ मनाउँदैछन् । उनी हरेक वर्ष दशैँ घरमै मनाउँछन्, बाहिर जाँदैनन् । यसवर्ष पनि काठमाडौँस्थित निवासमै बसेर स–परिवार रमाउँदै दशैँ मनाउने योजनामा मल्ल छन् ।

हरेक वर्ष नवरात्र सुरु भएपछि उनी नवरात्री भरी देवीका मन्दिरहरुमा पुगेर दर्शन गर्छन् । यसपाली पनि नवरात्री भरी देवीका मठ मन्दिर र शक्ति पिठहरुमा पुगेर दर्शन गर्ने उनको योजना छ । साथै, दशैँलाई परिवार र आफन्त मिलनको शुभ समयका रुपमा पनि उनी लिन्छन् ।

तर, उद्योगी व्यवसायीका लागि यसपालीको दशैँ विगतका वर्षहरुको तुलनामा त्यति सुखद भने छैन । त्यसो त, निजी क्षेत्रको छाता संगठनका रुपमा रहेको चेम्बर अफ कमर्सको अध्यक्ष भएको हुनाले मल्लले देशैभरीका उद्योगी व्यवसायीका पीडा सुनेका छन्, देखेका छन्, आफूले भोगेका पनि छन् । ति समस्या समाधानका लागि अर्थतन्त्र चलायमान हुने खालका नीतिहरु तर्जुमा गर्न माग गर्दै उनी निरन्तर सम्बन्धित निकाय र नियामक निकायका दैला दैलामा पुगिरहेका छन् । तैपनि बजारमा माग बढ्न सकिरहेको छैन ।

‘मुलुकको अर्थतन्त्र संकुचनमा छ, दशैँ भन्नासाथ मिठो खाने, राम्रो लगाउने, नयाँ नयाँ वस्तुहरु किन्ने भन्ने हुन्छ, यसपाली मिठो खाने त हुन्छ नै तर, कपडाको हकमा नयाँ किन्ने भन्ने यसपाली देखिएन’ मल्ल भन्छन्, ‘समग्रमा अर्थतन्त्र संकुचनको असर हुँदा पनि दशैँ जस्तो चाड रमाइलै गरेर मनाउनुपर्छ ।’

उनले दशैँमा नेवार समुदायमा निम्तो गर्ने चलन रहेको पनि सुनाएका छन् । 

‘हाम्रो नेवार समुदायमा टिकाको दिनका लागि निम्तो गर्ने चलन हुन्छ, आफन्तहरुलाई निम्त्याउने र आफू पनि घरघरमा गएर टिका थाप्ने चलन छ’ उनले भने ।

उनले दशैँलाई धार्मिक सद्भावको ठूलो पर्वसँगै आफन्त र परिवारसँगको मिलनको समयका रुपमा पनि लिन्छन् । उनका लागि दशैँ नै यस्तो चाड हो, जुन बेलामा उनले आफन्त, परिवार, साथीभाई, छिमेक तथा ठूलावडाहरुसँग साक्षात्कार गर्ने अवसर पाउँछन् । 

‘यो वर्ष दिनमा आउने विशेष खालको चाड हो, यो समयमा आफन्त, परिवार र ठूलाबडासँग बसेर रमाउने र आशिर्वाद लिने नै मुख्य कुरा हो’ मल्ल थप्छन्, ‘हामी पनि आफन्त र ठूलाबडासँग बसेर आशिर्वाद लिएर मनाउँछौँ ।’

बिजपाटी डटकमले गत वर्षबाट दशैँ विशेष ‘यसपालीको दशैँ’ स्तम्भ सुरु गरेको हो । यस स्तम्भमा हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग  कुराकानी गरेर उनीहरुले के कसरी दशैँ मनाउने गर्दछन्, उनीहरुको योजना के छन्, भनेर उल्लेख गर्ने गरेका छौँ । यसवर्ष पनि यसैको निरन्तरता स्वरुप हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग कुराकानी गरेर ‘यसपालीको दशैँ’ स्तम्भ प्रकाशन गरिरहेका छौँः सम्पादक ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved