दशैँमा एक जनाबाट पनि गुनासो नआउने गरि विद्युत व्यवस्थापन गर्न ऊर्जा मन्त्रीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 12:50:58 PM मा प्रकाशित

laxmi  sunrise bank

 ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दशै तिहार, नेपाल स्म्वत, छठ जस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका  प्रमुख शुरेशबहादुर भट्टराईलगायत काठमाडौँ उपत्यका भित्रका वितरण केन्द्र प्रमुखहरुलाई मन्त्री बस्नेतले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहज रुपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन्।

“ कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । बर्षदिनभरी राम्रो काम गरेपनि चाड पर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ  । त्यसकारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशिल हुनुस् ” मन्त्री बस्नेतले भने“ पूर्ण रुपमा जिम्मेवार भएर काम गर्नुस् ।”

चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउन समेत निर्देशन दिए ।

चाडपर्वमा उद्योग प्रतिष्ठान, होटल, व्यवसाय तथा व्यापारिक प्रतिष्ठानमा बिजुलीको माग कम हुने भएकाले बिजुली खेर जाने अवस्था आउने भन्दै प्राधिकरणका कर्मचारीले जानकारी दिएपछि मन्त्री बस्नेतले भने “ सकेसम्म बिजुली खेर जान नदिनुस् ।”

मन्त्री बस्नेतले प्राधिकरणका नो लाइट सेन्टरहरुलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्ने बित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमा नै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुर्त टोली व्यवस्थापन गर्न आग्रह गरे । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिको अध्यक्ष समेत हुन् ।

सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिए । उनले जिम्मेवार र चनाखो भएर सामान्य समय भन्दा चाडपर्वको समयमा कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४ सै घण्टा परिचालन हुने गरी काठमाडौँ उपत्यका र शहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताए । उनले चाडपर्वको समयमा आफै नियमित रुपमा वितरण केन्द्रहरुको अनुगमन, निरीक्षणका लागि निस्कने जानकारी दिँदै कुनै पनि उपभोक्ताले गुनासो नआउने गरी काम गर्ने बताए ।

चडपर्वको समयमा उद्योग प्रतिष्ठान पनि कम क्षमतामा चल्ने भएकाले बिजुलीको माग कम हुने भएकाले केही बिजुली खेर जाने अवस्था रहेको उनको भनाइ छ । “ सकेसम्म बिजुली खेर जान नदिन हामीले प्रयास गरेका छौ । खेर जान सक्ने बिजुली भारतीय बजारमा पठाउने तयारी पनि छ । तर, अन्तिम सहमति आइसकेको छैन ” कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणले थप एक सय मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्ने तयारी गरेको छ । त्यसका लागि अनुमति आउन बाँकी छ । उनले सकेसम्म कुनै पनि स्थानमा समस्या आउन नदिने गरी प्राविधिक तयारी गरिएको जानकारी दिँदै देशैभरका कर्मचारीलाई चाडपर्व भनेर छुट नदिइएको बताए । सो अवसरमा उपकार्यकारी निर्देशक सिल्वाल, भार प्रेषण केन्द्रका प्रमुख भट्टराईले प्राधिकरणले गरेको तयारीका बारेमा जानकारी गराएका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved