'संस्कृति अनुसार तिहार मनाउनु पर्छ, देखावटीको लागि पर्व मनाउने हुँदैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2023 | 09:38:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सरिता अधिकारी विष्ट 

हिन्दु धर्मावलम्बीहरुको महान चाड तिहार आएको छ । मलाई दशैँपछि सबैभन्दा रमाइलो र विशेष चाड तिहार लाग्छ । मलाई तिहार भन्नासाथ बाल्यकाल खुब याद आउँछ । मैले चार जना दाजुभाईलाई टिका लगाउथे । २ जना मेरा आफ्नै भाई र २ जना मेरा ठुलाबुबाका छोराहरु थिए । ४ जनालाई हामी ६ जना दिदि बहिनीले टिका लगाइ दिन्थ्यौ । अहिले मेरो एक जना भाई अमेरिकामा छ । उतै बस्ने भएकोले धेरै भैसक्यो तिहारमा भेट नभएको । बाँकि ३ जना भने नेपालमै छन् । हरेक भाई टिकामा उनिहरुलाई टिका लगाउदै आएकी छु । 

घर कि कान्छी छोरी भएर होला आफुँले काम गर्न सक्ने र जान्ने भए देखि लक्ष्मी पुँजाको सबै कामहरु म आफै गर्थे । मलाई भगवान प्रति अलि बढि आस्था भएकोले पुँजा कोठा सफा गर्न धेरै मन लाग्थ्यो । तिहारमा पुँजाको सबै सामान म आफै तयार गर्थे । आमा पुँजा गर्न मात्र जानुहुन्थ्यो । 

बाल्यकाल र अहिलेको तिहारमा धेरै फरक छ । हामी केटा केटी हुँदा टोलको सबै जना साथिहरु मिलेर लक्ष्मी पुँजा गरिसके पछि भैलो खेल्न जान्थ्यौ । त्यति बेला मान्यता पाउने भनेको मादल थियो । मादल पनि हामीलाई बजाउन आउदैन थियो । र गित गाएर गुनिउ चोली लगाएर नाच्ने गर्थ्यौ । लक्ष्मी पुँजाको दिन त कहिले साँझ पर्छ र भैलो खेल्न जानु जस्तै हुन्थ्यो । एक दिन नाच्नको लागि विद्यालय विदा भए देखि नाच्न सिक्ने र के कपडा लगाउने भन्ने गर्थ्यौ। र आमाको साडी मागेर लगाएर जान्थ्यौ। 

विशेष गरि देउसी भन्दा पनि भैलो खेल्न गईन्थ्यो । केटीहरु भैलो खेल्न आउदा सुभ लक्षण पनि मानिने गरिन्थ्यो । खेलीसकेपछि टिका लगाएर दक्षिणा, फलफुल,सेलरोटी र आशिर्वाद दिनु हुन्थ्यो । हामीले यतिओटा घरसम्म खेल्ने भनेर पहिला नै निर्णय गरेका हुन्थ्यौ । त्यो घरसम्म पुगेपछि हामिले खेल्ने यतिसम्म मात्र हो भनेर फर्किन्थ्यौ । भैलो खेलेर उठेको पैसा फर्केर आएपछि बाढेर खुसी हुने रमाईलो गर्ने गर्थ्यौ। मलाई त्यो पलको याद आउछ । 

पहिले खेल्ने देउसी भैलो र अहिले खेल्ने देउसी भैलोमा धेरै फरक छ । अहिले त ठुलो ठुलो समुहमा जाने र नेपाली संकृति भन्दा पनि विदेशी संकृति अनुसार गर्ने, र माईकहरु लगाउने गरिन्छ । संकृतिलाई सम्झाउने भन्दा पनि आधुनिक गीतहरु गाउने गरेको पाईन्छ । गीत गाउनु रमाईलो गर्नु भनेको नराम्रो त हैन मौलिकता चाहि विस्तारै हराउदै गएको छ । देउसी भैलो खेल्न आउनेले दक्षिणा पहिलानै मलाई यति चाँहिन्छ भनेर माग्ने गरेको पाईन्छ । यो खराब संस्कार हो । सबैमा यस्तो नहोला तर, धेरैमा यस्तै छ । 

कोरोना काल देखि त केटा केटीहरु देउसी भैलो खेल्न हिड्न छोडेका छन् । अहिलेका केटाकेटीहरु मोबाइल, कम्प्युटरमा भुलिने अनि साथिसँग पनि मोबाइलमा मात्र भेट हुने त्यस्तो खालको अवस्था पनि भएको देखिन्छ । त्यसकारण बालबालिकाले भैलो खेल्ने भन्ने कुरा चाँहि हराउदै गएको छ । 

समयको परिवर्तन सँग सँगै हामीले भाईहरुलाई दिने भाई मसलामा फरक आउदो रहेछ । पहिला पहिला चाँहि भाई मसला तिहारमा मात्र बजारमा किन्न पाइन्थ्यो । तर, अहिले बजारमा बाह्रौ महिना भाई मसलाका सामाग्रीहरु उपलब्ध छन् । दैनिक जीवनमा पनि प्रयोग गरिरहेको देखिन्छ । पहिला पहिला सेल, अनर्साहरु बनाइन्थ्यो भने अहिले त रेडिमेड सामानहरुलाई बढि प्राथमिकता दिइन्छ । 

बाल्यकालमा दाजुभाईको लागि दुबोको माला सयपत्रीको माला दिनभरी लगाएर मैले उन्थे । र घर सजावटको लागि पनि मालाहरु उनेर लगाउथे । सजावट गर्न मलाई धेरै मन पर्थ्यो। अहिले चाहि सबै कुराहरु रेडिमेड पाइने भएकाले र व्यस्तताको हिसाबले पहिलाको जस्तो गर्न नसकिने रहेछ । उमेर र परिस्थितिले केहि कुरामा फरक पार्ने रहेछ । 

मलाई तिहार भन्ने बित्तिकै आमाले बनाउनुभएको सेलको याद आउछ । सेल भनेको विशेष गरेर तिहारमा मात्र बनाइन्थ्यो । अहिले पनि आमा त हुनुहुन्छ तर, पहिलाको जस्तो सेल पकाउन उहाँलाई गाह्रो हुन्छ । हामीले पनि पकाउन लगाउदैनौ । बाल्यकालको तिहारको सम्झना आउने भनेको आमाले पकाएको सेल, देउसी भैलो र धेरै मिहिनेत गरेर माला उनेर सबैतिर माला लगाएर दियो बालेको र चामलको पिठोले लक्ष्मीको पाइला बनाएको एकदम याद आउछ । 

बाल्यकाल र करियर सुरु गरिसकेपछि  तिहारमा धेरै फरक छ । बाल्यकालमा आफ्नो आम्दानी केहि थिएन, बुवा आमाले तयार पारिदिएको सामानहरु नै बाढेर दिने गरिन्थ्यो । अहिले आएर आफ्नो आम्दानीको स्रोत भै सकेपछि त्यसमा फरक आउछ । आफु कमाउने भैसकेपछि आफुलाई दिन मन लागेको कुराहरु पनि सबै दिने गरेकी छु । यो अवस्थासम्म आइपुग्दा जिम्मेवारीहरु धेरै भएकाले तिहार मान्ने रहर एकातिर राखेर सबैको मन बुझाउनु पर्छ । बाल्यकालमा सामान किन्न नजिक भनेको असन बजार थियो । अरु पसलमा सबै कुरा पाइदैन थियो र असनमा सबै सामान पाइने भएकाले आमाको पछि लागेर म पनि असन जान्थे । 

सानोमा मलाइ काममा भाईहरुले सघाउने गर्थे । विवाह भएपछि मेरो श्रीमानले तिहारको काममा सघाउनु भयो । र अहिले चाँहि मेरा २ जना छोराहरुले मलाई सघाउने गरेका छन् । मैले माला उन्न भ्याइन भने पनि मेरो छोराहरुले उनेर घर सजाउने गरेका छन् । र सानोमा बुबाआमाले धन्तेरसको अवसर पारेर नयाँ भाडाकुडाहरु जोड्ने गर्नु हुन्थ्यो । मैले पनि धन्तेरसमा लक्ष्मी पुजाको लागि आवश्यक सामानहरु जोड्ने गरेकी छु । हामीले सुनचादी भन्दा पनि आफुलाई आवश्यक सामानहरु नै ल्याउनु पर्छ । 

तिहार भनेको दिदीबहिनी र दाजु भाईहरुको मिलनको क्षण हो । एकआपस विचमा मनमुटाब छ भने पनि यो समयमा सबै मिलेर उत्सव मनाउने गरीन्छ । सबैले यो पर्व आफ्नो संस्कृति अनुसार मनाउनु पर्छ र कसैको देखावटीको लागि पर्व मनाउने हैन । आफ्नो क्षमता अनुसार जति सकिन्छ त्यहि अनुसार यसलाई एउटा बोझको रुपमा नलिई राम्रो सँग मनाउनु पर्छ। यसलाई आफ्ना सन्ततीहरुले पनि मनाउने वातावरण सृजना होस् लक्ष्मी माताको कृपा सधै हामीमा रहि रहने छ भन्दै सबैलाई दिपावलीको शुभकामना दिन चाहन्छु । 

सरिता अधिकारी विष्ट स्टक ब्रोकर एसोसिएसन अफ नेपालकी उपाध्यक्ष हुन् ।

बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौ।: सम्पादक


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved