भीरकोट नगरपालिकालाई निर्माण सामाग्री प्रशोधनबाट बार्षिक २ करोड बढी आम्दानी

नारायण प्रसाद कोइराला

नारायण प्रसाद कोइराला

Apr 29, 2023 | 09:17:33 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीयताको कार्यान्वयनसँगै आन्तरिक आम्दानीको भरपर्दो स्रोत नहुँदा स्थानीय तहहरूले जनअपेक्षा अनुरुप काम गर्न सकीरहेका छैनन् l  तर  प्राकृतिक स्रोत र साधनहरूको सही सदुपयोग गर्न सकियो भने आन्तरिक आम्दानीमा  उल्लेख्य वृद्धि गर्न सकिन्छ भन्ने कुरा स्याङ्जाको भीरकोट नगरपालिकाले प्रमाणित गरेको छ l 

नगरपालिकाको बीच भाग भएर बग्ने आँधीखोलामा पाइने नदीजन्य सामाग्री प्रशोधन गर्न पालिकाले ग्रीजी भाइब्रेटिंग मेसिनको स्थापना गरेको छ l सोही मेसिनबाट प्रशोधित ढुङ्गा, गिटी, बालुवा लगायताका  नदीजन्य निर्माण सामाग्री बिक्रीबाट भीरकोट नगरपालिकाले  वार्षिक २ करोड भन्दा बढी आम्दानी गर्दै आएको छ l

आर्थिक वर्ष २०७८/७९ मा पालिकाले नदीजन्य निर्माण सामाग्री बिक्रीबाट २ करोड ३३ लाख आम्दानी गरेको थियो l आर्थिक वर्ष २०८० को पौष मसान्तसम्म नदीजन्य निर्माण सामाग्री बिक्रीबाट करिब १ करोड  आम्दानी भैसकेको पालिकाको आर्थिक प्रशासन शाखा प्रमुख जब्बर  अलि मियाँले जानकारी दिए l प्रशोधित निर्माण सामाग्री उच्च गुणस्तरको भएकाले  निर्माण व्यवसायीहरूले खरिद गर्ने गरेको पालिकाका योजना अधिकृत याम प्रसाद रेग्मीले बताए l 

नदीजन्य सामाग्रीको उत्खनन्, प्रशोधन र बिक्रीवितरणलाई व्यवस्थित गर्न एवम् गुणस्तरीय निर्माण सामाग्री उपलब्ध गराउने उद्देश्यले पालिकाले “ भीरकोट नगरपालिकाको क्षेत्र भित्र पर्ने नदीजन्य पदार्थको उत्खनन् , प्रशोधन तथा विक्रीवितरण सम्बन्धी कार्यविधि ,२०७७ “ अनुसार काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए l 

कार्यविधि अनुसार नै  प्रारम्भिक वातावरणीय परीक्षण (IEE) गरी तोकिएको क्षेत्र र परिणाममा मात्रै नदी उत्खनन् गरिएको पालिकाका योजना अधिकृत रेग्मीले जानकारी दिए  l कार्यविधी अनुसार  प्रशोधन केन्द्र संचालन खर्च बाहेकको आम्दानीलाई सतप्रतिशत मानी ६०  प्रतिशत स्थानीय तहमा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारलाई बुझाउने गरिएको पालिकाले जनाएको छ l सोही अनुसार पालिकाले आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारलाई १६ लाख राजस्व बुझाएको थियो l 

पालिकालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन फोहरमैला व्यवस्थापन तथा सरसफाइ केन्द्र स्थापना, गडहरे गुफा विकास गुरूयोजना निर्माण र नदीजन्य निर्माण सामाग्री प्रशोधन केन्द्रको स्थापना गरिएको निवर्तमान नगर प्रमुख छायाराम खनालले बताए l 

प्रशोधन केन्दको स्थापना आफ्नो कार्यकालको मुख्य उपलब्धी बताउने खनालले प्रशोधित निर्माण सामाग्री प्रयोग गरी  पालिकाको भौतिक पूर्वाधार निर्माणलाई दिगो र गुणस्तरीय बनाउने लक्ष्य सहित प्रशोधन केन्दको स्थापना गरिएको बताए l प्रशोधन केन्द्रलाई व्यवस्थित रूपमा संचालन गर्ने हो भने वार्षिक ५ करोड सम्म आम्दानी गर्न सकिने उनको दाबी छ। व्यवसायिक कृषिलाई प्राथमिकता दिँदै गडहरे गुफा, स्वरेक मैदान , सुन्दरचौर क्षेत्रमा  पर्यटन प्रबर्द्धन गरेर थप ५ करोड आन्तरिक आम्दानी गर्न सकिने उनको दाबी छ।

प्रशोधित निर्माण सामाग्री बालुवा प्रति घनमिटर २ हजार ४ सय , ठूलो  ढुङ्गा प्रति घनमिटर ४ सय सानो  ढुङ्गा प्रतिघनमिटर २ सय ,  गिटी प्रति घनमिटर १ हजार पाँच सय र चिप्स   प्रति घनमिटर १ हजार ४ सय रूपैयाँका  दरले बिक्री भैरहेको पालिकाले जनाएको छ l उत्खनन् , प्रशोधन  र विक्रीवितरण कार्यलाई व्यवस्थित पारदर्शी बनाउन कार्यविधि अनुसार नगर प्रमुखको अध्यक्षतामा ११ सदस्यीय अनुगमन समिति गठन गरिएको छ l 

नदी उत्खनन् गर्दा नदीको बहाब क्षेत्रलाई प्रभाव नपर्नेगरी गरिएको र प्रशोधन गरेर बाँकी रहेको सामाग्रीहरू नदी नियन्त्रण र सडक निर्माणमा प्रयोग गरिएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बताए l 

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा ६ र ७ बमोजिम कार्यविधि निर्माण गरी स्थापना गरिएकाले प्रशोधन केन्द्र वातारणीय र कानुनी दृष्टिकोणले समेत वैध रहेको नगर प्रमुख कर्माचायले बताए l प्राकृति स्रोत साधनको सदुपयोग गरी आन्तरिक आम्दानी वृद्धि , तटबन्धन र सडक निर्माण गरिएको हुँदा केन्द्रिय सरकारले समेत प्रशोधन केन्द्रलाई क्रसरको रूपमा हेर्न नहुने नगर प्रमुख कर्माचार्यको भनाई छ।

उनका अनुसार  आँधीखोला नदी नियन्त्रणका लागि पालिकाले आर्थिक वर्ष २०७९/८० को लागि  १ करोड बजेट छुट्याएको  छ र तटबन्धन निर्माणको काम जारी छ l पालिकाको आन्तरिक स्रोत बाहेक प्रदेश र संघीय सरकारको सहयोग र सहलगानीमा  नदी नियन्त्रण र हरित सडक निर्माणको काम भैरहेको कर्माचार्यले जानकारी दिए l

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved