उदयपुर सिमेन्ट बचाउन माग गर्दै मिडियामा आए महाप्रबन्धक न्यौपाने, प्रचण्ड सरकारसँग मागे जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2023 | 08:53:50 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई बचाउन माग गर्दै उद्योगका महाप्रबन्धक गोपी न्यौपाने मिडियामा आएका छन्। उदयपुर् सिमेन्ट उद्योग संचालन गर्न थप सुद्रिड बनाउनलाई थप लगानीको आवश्यकता भएको बारे पटक पटक जानकारी गराउँदा पनि सरकार कानमा तेल हालेर बसेकाले बाध्य भएर संस्थाको अवस्था र अहिलेको यथार्तबारे जानकारी गराइएको महाप्रबन्धक न्यौपानेले जनाएका छन्। 

उनकाअनुसार अन्तराष्ट्रिय तथा नेपालको आन्तरिक कारणले कर्जाको ब्याजसँगै कच्चा पदार्थ महंगो हुँदा उदयपुर सिमेन्टको उत्पादन तथा मागमा प्रत्यक्ष असर परेकाले यसको व्यवस्थापन गर्नलाई पटक पटक सहयोग माग्दा पनि  सरकारले कुनै सहयोग गरेको छैन। 

उनकाअनुसार कोइलाको अन्तर्राष्ट्रिय मूल्य आकासिएर ५० प्रतिशत भन्दा बढीले वृद्धि भएको, डिजेलको मूल्य शतप्रतिशत बढेको, कर्मचारी तलब १५% ले वृद्धि भएको आदि कारणले सिमेन्टको लागत मूल्य ह्वात्तै बढेको अबस्था छ । तर सिमेन्टको माग भने बिगत बर्षहरुको तुलनामा ४०% मात्रै छ।

उनि भन्छन्, "म इमन्दारीका साथ लगानी जुटाउन उद्योग र अर्थ मन्त्रालयमा निकै मेहनतका साथ धाएं तर अहिलेसम्म पनि पार लागेन । मात्र ४० करोड लगानी गरिदेउ, त्यो पनि रिण स्वरुप भनेर भीख मागेजस्तो गरेर लागियो तर पार लागेन । यो पैसा तीन बर्षभित्र फर्काउछौं भनेर संभाव्यता अध्ययन पेस गरियो । संचालक समिती, उद्योग मन्त्रालयबाट पारित गरि सिफारिस गरेका पत्रहरुको चाङ लागेको छ । फेरि संचालक समिति, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय हुँदै बैकिङ कर्जाको लागि राष्ट्र बैंक सम्म पुगियो तर समाधान अहिलेसम्म हात परेन।"

उनि अगाडी लेख्छन्, "उदयपुर सिमेन्ट उद्योगमा जडित ३० बर्ष पुराना जीर्ण मेसिनहरुको पुंजिगत मर्मतसंभार,अपग्रेडेसन,रिप्लेसमेण्ट र  २५%कोइलाको खपत कम गर्न क्याल्सनाइर प्रविधिको जडान गरी जडित क्षमताको पूर्ण उपयोग, क्षमता बिस्तार गरी लागत घटाउदै मुनाफामा लैजानेगरी म महाप्रबन्धक हुंदाका बखत स्वीकृत भएको कार्ययोजना को फ्लोअपमा २७ महिना ब्यतित हुंदैगर्दा ४ महिना मन्त्रीबिहिन भएको, बांकी २३ महिनामा छ जना माननीय मन्त्रीज्यूहरुको स्वागत र बिदाइमा बितेको व्यहोरा जगजाहेर नै छ । पछिल्लो अबस्थामा बैंकले घरजग्गा कारोबारमा लगानी निरुत्साहित गरेको, सरकारी निर्माण कार्यहरु अति सुस्त ढंगले भैरहेको परिस्थितिमा समग्र सिमेन्ट उद्योगहरु नै धाराशायी बनिरहेको अवस्था छ ।"

अहिलेको कठिन परिस्थितिमा समग्र सिमेन्ट उद्योगहरूको संरक्षण गर्नुपर्ने उद्योग तथा अर्थ मन्त्रालय आफ्नै पूर्ण लगानी ( तत्कालीन अबस्थामा जापान सरकारको पूर्ण अनुदान प्राप्त) भएको उदयपुर र हेटौंडा सिमेन्टलाई थप लगानी गरी उत्पादन बढाउन सरकारले चासो नराख्ने हो भने आफु जस्तो प्रोफेसनलाई झुलाएर राख्नुको कुनै अर्थ नभएको र आफु आम कर्मचारीहरुको बीचमा झुठा आश्वासन दिने महाप्रबन्धकको रुपमा अंकित हुन नचाहेको उनको भनाई छ। 

पटक पटक हार गुहार गर्दा पनि सरकारले कुनै सुनुवाई नगरेपछि न्यौपानेले "विश्व आर्थिक मन्दीबाट बच्न उत्पादनमुखी अझ नेपालकै कच्चापदार्थ प्रयोग हुने उद्योगको संरक्षण गराउनुपर्नेमा यो सरकारको नीति के हो " भनेर सरकारलाई प्रश्न गरेका छन्। 

महाप्रबन्धक हटाउने चाल बुनिएको हो भने संचालक समिति र उद्योग मन्त्रीज्यूलाई उपयुक्त बिकल्प सहित प्रस्ताब गर्नलाई सुझाव दिंदै आम नागरिकका बीचबाट मार्ग प्रशस्त गर्न आफु तयार रहेकाले उद्योगमा राजनीति नगर्न समेत उनले आग्रह गरेका छन्। 

सरकारको व्यवहारका कारण ३० बर्ष देखि निरन्तर काम गरिरहेका उदयपुर सिमेन्टका कर्मचारीहरु आक्रोसित भएको बताउदै अबको चार बर्ष भित्र एक अरब भन्दा बढी कर्मचारीलाई मात्र भुक्तानी गर्नुपर्ने महाप्रबन्धक न्यौपानेले जानकारी दिएका छन्। मिल मेसिनरीमा लगानी गरेर उत्पादन नबढाउने हो भने यी कर्मचारीहरुको भुक्तानीको सूनिश्चितता गर्ने काम पनि सरकारकै भएको उनले स्मरण गराएका छन्। 

सरकारलाई महाप्रबन्धक न्यौपानेका तीन प्रश्न:

१. मेरो कार्ययोजना स्वीकृत गरेर मलाई महाप्रबन्धक नियुक्ति गरेर पठाएपछि स्वीकृत कार्ययोजना बमोजिमको लगानी गर्ने कार्यको सरकारले व्यवस्थापन किन नगरिदिएको?

२.उदयपुर सिमेन्टको सिन्धालीस्थित खानीमा दक्षिण एसियाकै उत्कृष्ट चूनढुंगा अर्थात् MgO अति कमको, CaO निकै बढी रहेको ७ करोड ३५ लाख टन सिमेन्ट उत्पादन क्षमताको खानी मध्ये यो ३० बर्षमा ६ प्रतिशत जति अर्थात् ३८ लाख टन मात्रै उपयोग गरिएको छ । यो सरकारी उद्योगलाई विभिन्न लगानी मोडलमा अर्को दैनिक ६ देखि १० हजार टन क्लिंकर उत्पादन गर्ने उद्योग खोल्न सकिन्छ भन्ने प्रारम्भिक अध्ययनले देखाएकोले संचालक समिति र त्रियुगा नगरसभाले निर्णय गरि उद्योग मन्त्रालयमा पेस गरी एक समिती समेत बन्यो तर अहिले संयोजकको टेबुलमा थन्किएको छ, किन ?

सरकारी भएकोले सजिलो छ, उत्पादन बढाएर कुटनैतिक पहलको माध्यमबाट भारत निकासी गर्ने सहजता हरेक दृष्टिले हामीलाई मात्रै छ, क्लिंकरको गुणस्तर उत्कृष्ट भएकोले स्वदेसी सिमेन्ट मात्र उत्पादन गर्ने र MgO बढी भएका उद्योगहरुले खरिद गर्ने भएकोले बजारको अभाव हुने छैन, यो अवसरको उपयोग गरौं भन्ने मेरो आग्रहलाई किन उपेक्षा गरिदैछ ?


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved