केही व्यवसायीको चरित्रले सिङ्गो उद्योग व्यवसाय क्षेत्र प्रभावित भयो (अन्तर्वार्ता)

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 29, 2024 | 02:29:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले मुलुकको अर्थतन्त्र ठिकठाक ढङ्गले नचलिरहेको अवस्था जगजाहेरै छ । प्रधानमन्त्री र अर्थमन्त्री लगायत सरकारका मन्त्रीहरुले अर्थतन्त्र लयमा फर्किएको दाबी गरे पनि बजारमा घट्दो माग र औद्योगिक क्षेत्रमा निम्तिएको सुस्तताले उनीहरुको दाबीलाई खण्डन गरिरहेको छ । संसदमा प्रमुख प्रतिपक्षी दलका नाताले अर्थतन्त्रका मुद्दाहरुमा नेकपा एमाले खरो रुपमा उत्रिन नसकेको आरोप लाग्दै आएको छ । यद्यपी, मधुरै स्वरमा भए पनि एमालेले आफ्नो दृष्टिकोण भने सार्वजनिक गरिरहेको छ । 

समृद्धिको सम्भावनाको खोजी गर्न एमालेले झुलाघाट–चिवाभन्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा नागरिकस्तरबाट आएका सुझावलाई दस्ताबेज नै बनाएको छ । ति सुझावहरुलाई लिपिवद्ध गरेर एमालेले सरकारलाई सुझावका रुपमा बुझाइ पनि सकेको छ । 

सरकार अहिले १६औँ पञ्चवर्षीय योजना बनाउने गृहकार्यमा जुटिरहेको छ । यसमा एमालेले सार्वजनिक रुपमा आफ्ना धारणाहरु खासै राखेको देखिएको छैन । हामीले अर्थतन्त्रको अहिलेको जटिल अवस्था आउनुको कारण, उद्योगी व्यवसायीमा देखा परेको निराशाको स्थिति, एमालेले संकल्प यात्राबाट देखेको समृद्धिको सम्भावना, समाजवादका लागि एमालेले अंगिकार गरेको राजनीतिक कार्यदिशा र वर्तमान गठबन्धन सरकारको एक वर्षे कार्यकालको समीक्षा लगायतका विषयमा केन्द्रित रहेर नेकपा एमालेका महासचिव शङ्कर पोखरेलसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

वर्तमान गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । प्रधानमन्त्रीले एक वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा अब सचिन्छु, अब प्रयास गर्छु भनेर अहिलेसम्म खास उपलब्धि हाँसिल नभएको संकेत गर्नुभएको छ । यस बीचमा एमालेको केन्द्रीय कमिटीको बैठक पनि बसेको छ । सरकारको काम कारबाहीबारे केन्द्रीय कमिटी बैठकमा कस्तो छलफल भयो ?

यो एक वर्षमा वर्तमान सरकारले देशको नेतृत्व गर्न सक्दैन भन्ने स्पष्ट भएको छ । अर्को कुरा, जब मुलुक नै संकटमा छ भने कार्यकालको समीक्षा गर्नुको के अर्थ हुन्छ र ? एउटा वास्तविकता चाहिँ के हो भने, सरकार पूर्णतया असफल छ । सुशासनका दृष्टिकोणले, राजस्व परिचालनका दृष्टिकोणले, रोजगारीका अवसर सिर्जना गर्ने कुराका दृष्टिकोणले, विकास र निर्माणका दृष्टिकोणले र नागरिकमा भविष्यप्रतिको आशा जगाउने कुराको दृष्टिकोणले पनि यो सरकार असफल छ । सरकारको असफलताको उपज स्वरुप आजको निराशा बढेको छ ।

राष्ट्रको नेतृत्व लिइरहेको सरकार जथाभावी गरिरहने र नेकपा एमाले मौनता साँधेर बसिरहने कुरा सम्भव छैन र उचित्त हुँदैन भन्ने मान्यताका आधारमा राष्ट्रिय हितका पक्ष, जनसरोकारका प्रश्नमा, सरकारको अकर्मण्यता, भ्रष्टाचार, कालोबजारी, तस्करीतन्त्रको विरुद्दमा अब जनतामा जानुपर्छ भन्ने निष्कर्षका आधारमा हामीले हाम्रो पार्टीको केन्द्रीय कमिटीको बैठकमा छलफल गरेका छौँ । यसका आधारमा ९ वटा समूह बनाएर सुझावहरु प्राप्त गरेका छौँ । यी सुझावका आधारमा पार्टीलाई पनि व्यवस्थित बनाउँदै जाने योजना बनाएको र सरकारको असक्षमताका सन्दर्भमा पनि जनतामा जाने निर्णय भएको कुरा म राख्न चाहन्छु ।

केन्द्रीय कमिटीको बैठक सकिएको छ । नेकपा एमाले आगामी दिनमा अब कसरी अघि बढ्छ ?

पार्टीको राजनीतिक कार्यदिशाको मूल पक्ष भनेको जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने कुरा नै राजनीतिक कार्यदिशाको मूल विषय हो । कतिपयले जनताको बहुदलीय जनवादको सान्दर्भिकता सकियो भनेर प्रचार गर्ने गर्दछन् । वास्तवमा जनताको बहुदलीय जनवादका थप १४ विशेषतामध्ये जनवादी व्यवस्थाको सुदृढिकरण भन्ने जुन शीर्षक छ, यो शीर्षकमा के भनिएको छ भने राजनीतिक क्रान्ति सम्पन्न भएपछि समाजवादमा पुग्नका लागि अपेक्षित लामो समय लाग्नेछ, यसका लागि ३ वटा विशेष अवधिबाट अगाडी बढ्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।

अहिले हामी यी ३ वटा विशेष अवधिबाट चाहिँ अगाडी बढ्दैछौँ । जनताको बहुदलीय जनवादको कार्यान्वयनको विशेष ३ अवधिमध्ये पहिलो अवधि भनेको पूरानो व्यवस्थाका अवशेषहरुलाई अन्त्य गर्ने अवधि, दोस्रो भनेको नयाँ उत्पादन सम्बन्ध आधारित उत्पादन पद्धतिलाई सबल र सुदृढ पार्ने उदेश्यका साथ आर्थिक, सामाजिक, सांस्कृति विकास गर्ने अवधि । र, तेस्रो विशेष अवधि भनेको समाजवादमा पुग्ने लक्ष्यका साथ आर्थिक, सामाजिक विकासलाई तीव्रता दिने अवधिमा रुपमा रहनुपर्दछ । जबजको यहीँ निष्कर्षका आधारमा हामी अगाडी बढ्ने प्रयास गरिरहेका छौँ ।

जबजको निष्कर्षका आधारमा समाजवादमा पुग्ने लक्ष्यका साथ पार्टी र संगठन परिचालन गर्ने कुरा त छँदैछ । यसका लागि पार्टीले देखेका चुनौतिहरु के के छन् ?

आजको सन्दर्भमा हामीले समाजवादको आधार तयार गर्ने क्रममा मुख्यगरि दुइ वटा चुनौतिको सामाना गर्नुपर्ने देखिन्छ । पहिलो चुनौति भनेको परम्परागत निर्वाहमुखी उत्पादन पद्धति हो । अहिले आधुनिक विकासका लागि सबैभन्दा ठूलो चुनौति भनेकै परम्परागत निर्वाहमुखी उत्पादन पद्धति हो । हाम्रो देशको ठूलो जनसंख्या कृषिमा जोडिएको छ, तर कृषिको ठूलो हिस्सा चाहिँ निर्वाहमुखी छ । जुन हाम्रो विकासका लागि बाधक छ । जुन समयमा एक प्रकारले वस्तु विनिमयको समय थियो, रुपैयाँ पैसाको प्रयोग हुँदैनथ्यो, त्यतिबेलाको खेती प्रणाली अहिले पनि हाम्रो मुलुकमा कायम छ । जसलाई हामीले निर्वाहमुखी खेती प्रणाली भन्ने गरेका छौँ । यो आजको आधुनिक बजार व्यवस्थाभित्र फिट खान्छ कि खाँदैन भन्दा फिट खाँदैन । समाज अगाडी बढिसक्यो, वस्तु र सेवाको उपलब्धता बजारका माध्यमबाट हुने गर्दछ । यो बजारको युगमा वस्तु र सेवा प्राप्त गर्ने माध्यम भनेको चाहिँ मुद्रा हो । यस्तो मुद्रा आज डिजिटल करेन्सीमा बद्लिए पनि मूलतः भनेको रुपैयाँ पैसाले नै वस्तु र सेवा उपलब्ध गराउने परिपाटीको विकास भएको छ । निर्वाहमुखी अर्थतन्त्र पूँजी उत्पादनका लागि अनुपयुक्त प्रणाली हो । जबकी, हामीलाई समाजवादको आधार तयार गर्नका लागि राष्ट्रिय पूँजीको विकास गर्नुपर्दछ । राष्ट्रिय पूँजीको निर्माण नगरि समाजवादको आधार तयार हुन सक्दैन । निर्वाहमुखी उत्पादन पद्धतिले पूँजी निर्माण गर्न सक्दैन । यस अर्थमा पहिलो चुनौति भनेको चाहिँ हाम्रो ग्रामिण क्षेत्रमा अहिले पनि रहिरहेको गुजारमुखी उत्पादन पद्धतिलाई बदल्ने कुरा नै हो ।

अर्कोतर्फ, पछौटे अर्थतन्त्र भएका मुलुकमा पूँजीवाद सम्राज्यवादमा विकास भइसकेपछि उनीहरुले राष्ट्रिय पूँजीको विकासमा अवरोध गर्ने गर्दछन् । उनीहरुले आफ्ना एजेन्टका माध्यमबाट, कमिशनखोरीका माध्यमबाट राष्ट्रिय उद्यमशीलतालाई अवरोध गर्ने गर्दछन्, राष्ट्रिय पूँजीको विकासलाई अवरुद्ध गर्ने गर्दछन् । त्यो ठाउँमा दलाल नोकरशाहको जन्म हुने गर्दछ । वास्तवमा हाम्रो देशलाई अगाडी बढाउन दलाल नोकरशाही पूँजीवाद बाधक हो भन्ने कुरालाई बुझ्नुपर्दछ । यसका विरुद्दको संघर्षबाट मात्रै राष्ट्रिय पूँजीको विकास गर्न सक्दछौँ । समाजवादको निर्माण पनि राष्ट्रिय पूँजीको माध्यमबाटै हुन सक्दछ ।

यी चुनौतिलाई पन्छाउँदै समाजवादमा पुग्ने नेकपा एमालेको राजनीतिक कार्यदिशा के हो ?

समाजवादमा पुग्न सकिन्छ भन्ने राजनीतिक कार्यदिशाको कुरा गर्दा के कुरालाई केन्द्रविन्दुमा राखेर अगाडी बढ्न खोजिरहेका छौँ भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ । यो भनेको नेकपा एमालेले भन्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा नै हाम्रो पार्टीले समाजवादको आधार तयार गर्ने कुरालाई सुत्रवद्ध गरेको छ ।

हाम्रो पार्टीको नेतृत्वमा सरकार भएका बेला हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अनुसार मुलुकको विकास र समृद्धिको योजना बनाएर अघि बढ्ने काम सुरु गरेका थियौँ । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बखत हामीले आर्थिक विकास, पूर्वाधार विकास, सामाजिक विकास, सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य निर्माण गर्ने सन्दर्भमा धेरै महत्वपूर्ण अवधारणाहरु प्रस्तुत ग¥यौँ र कार्यान्वयनमा पनि अघि बढ्यौँ । तर, जब हाम्रो पार्टी अध्यक्ष नेतृत्वको सरकारलाई षडयन्त्रपूर्वक ढङ्गले ढाल्ने, हाम्रो पार्टीलाई सरकारबाट हटाउने र पार्टी नै विभाजन गराउने खालको काम भयो, त्यसपछाडी मुलुकमा हामीले अगाडी बढाएको व्यवस्थित आर्थिक, सामाजिक रुपान्तरणको कार्ययोजना अवरुद्ध भएको छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षामा एक खालको तुसारापात भएको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षामा तुसारापात भएको कारण जनतामा नैराश्यता बढेको छ, युवा पलायन बढेको छ, यो वर्ष ठूलो संख्यामा युवाहरु पलायन भएर विदेश गएका छन्, शिक्षण संस्थाहरुमा विद्यार्थीको अभाव देखिन थालेको छ, १२ कक्षा पास गर्नासाथ युवाहरु विदेश जान थालेका छन् । यो सबै कुराको परिणाम के हो त भन्दाखेरी जनताले रुचाएको शक्तिले शासन गर्न नपाउने जुन परिस्थिति सिर्जना गरियो, त्यो परिस्थितिको परिणामका रुपमा आज जनतामा निराशा उत्पन्न भइरहेको छ ।

अहिले पनि हाम्रो पार्टी नेकपा एमाले जनताका रोजाईका हिसाबले मुलुकको पहिलो पार्टी हो । तर, पार्टीमाथि गरिएको घेराबन्दी, नेतृत्वमाथि गरिएको आक्रमणको कारण गर्दाखेरी आज हामी संसदमा पहिलो स्थानमा छैनौँ । लोकप्रीय मतका हिसाबले ७७ जिल्लामध्ये ४४ जिल्लामा नेकपा एमाले पहिलो स्थानमा छ । ७ प्रदेशमध्ये ६ प्रदेशमा हामी पहिलो स्थानमा छौँ । जनताको रोजाईको पहिलो पार्टी आज न केन्द्र सरकारमा छ, न प्रदेश सरकारहरुमा छ । लोकतन्त्र भनेको जनताले रोजेका शक्तिहरुले जनताका लागि काम गर्ने व्यवस्था हो भन्ने कुराको मान्यतालाई विश्वास गर्ने हो भने नेपालमा त्यो खालको परिस्थिति छैन । यसकारण अब जनताले रुचाएको र छानेको पार्टीले नै शासन गर्न पाउने परिपाटीको निर्माण गर्नुपर्नेछ । 

नेकपा एमाले अहिले ‘मिशन ०८४’ अभियानमा छ । मिशन ०८४ को लक्ष्य के हो ?

नेकपा एमाले राष्ट्रिय शक्ति हो । हामीले नेकपा एमालेलाई निर्णायक शक्तिका रुपमा विकास गर्ने भनेका हौँ । यो केवल चुनावको मात्रै विषय होइन । तर, हामीले नेकपा एमालेको एक्लै बहुमतको सरकार निर्माण गर्ने कुराको सुनिश्चितता गर्ने कुरा हामी गरिरहेका छौँ । 

हामीले यसमा चुनावको विषय वा चुनाव जित्ने कुरा मात्रै गरिरहेका छैनौँ । हामीले जबसम्म उत्पादन शक्तिलाई बलियो बनाउन सक्दैनौँ, तबसम्म समाज समृद्ध हुन सक्दैन । उत्पादन शक्तिलाई बलियो बनाउन हामीले ५ कुरालाई ध्यान दिनुपर्छ । पहिलो हाम्रो शिक्षा व्यवस्था । हाम्रो शिक्षा व्यवस्था परम्परागत खालको छ । आजको उत्पादन ढाँचासँग जोडिएर, उत्पादन सम्बन्ध र उत्पादन पद्धतिसँग जोडिएर बजारले माग गर्ने जनशक्तिको विकास गर्ने थलोका रुपमा शिक्षा व्यवस्थालाई रुपान्तरण गर्नुपर्नेछ । विश्वविद्यालयले दीक्षित गरेका मान्छेहरु बजारमा आउँदा नबिक्ने खालको जुन प्रकारको परिस्थित छ, यसको अन्त्य गर्नुपर्नेछ । हाम्रो शिक्षा व्यवस्था अर्थतन्त्रलाई सहयोग गर्ने ढाँचाको हुनुपर्दछ । 

दास्रो विषय भनेको नागरिकको शारीरिक र मानसिक स्वास्थ्य हो । यसका लागि स्वास्थ्य पूर्वाधार र स्वास्थ्य शिक्षामा जोड दिनुपर्दछ । 

तेस्रो कुरा भनेको चाहिँ कुनै समाज अगाडी बढ्ने कि नबढ्ने भन्ने कुरा त्यो समाजका नागरिकहरुले विज्ञान प्रविधिले आविष्कार गरेका यन्त्र उपकरणको प्रयोगको सामर्थ्य कति राख्छन् भन्ने कुराले पनि निर्भर गर्दछ । जति धेरै नागरिकले आधुनिक यन्त्र उपकरणको प्रयोग गर्ने क्षमता राख्दछन्, त्यो समाज त्यति नै छिटो विकास हुने गर्दछ । यसर्थमा हामीले नागरिकहरुलाई विज्ञान र प्रविधिले विकास गरेका आधुनिक यन्त्र उपकरणहरुको प्रयोग गर्ने क्षमता विकास गर्ने कुरामा जोड दिनुपर्दछ ।

चौथो कुरा भनेको, पूँजीको जति उपलब्धता दिन सक्दछौँ, त्यति नै आजको श्रमिक भोलीको रोजगारदाता बन्न सक्दछ । जति मुलुकमा उत्पादनमूलक स्वरोजगार सिर्जना गर्न सकिन्छ, औद्योगिक क्षेत्रको विकास गर्न सकिन्छ र नेपालमा भएका उत्पादनहरुलाई भ्यालू एड गर्ने हिसाबले प्रोसेसिङ गर्ने उद्योगहरुको विकास गर्न सकिन्छ, त्यति नै छिटो हामीले रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दछौँ । यसबाट रोजगारीको खोजीमा युवाहरु विदेशिने परिस्थिति बदल्न सकिन्छ ।

अर्को सर्वाधिक महत्वको पाँचौ विषय के हो भने, व्यवस्थापकीय सीप र क्षमताको विकास गर्ने कुरा नै हो । वास्तवमा हाम्रो समाजमा, हाम्रा युवाहरुमा हामीले व्यवस्थापकीय सीप र क्षमता दिन नसक्दा उनीहरु केही नयाँ गर्न खोज्दा असफल हुने र जोखिम मोल्न नचाहने, बरु विदेश नै गएर भए पनि श्रम केन्द्रित रोजगारीमार्फत गुजारा गर्ने जुन खालको परिपाटी छ, यसलाई बदल्नका लागि हामीले व्यवस्थापकीय सीप र क्षमता नयाँ पुस्तामा प्रदान गर्न सक्नुपर्दछ ।

यो प्रकारको सीप र क्षमता प्रदान गर्ने ३ वटा बाटाहरु हुन्छन् । एउटा पारिवारिक परम्परागत प्रणालीबाट पनि व्यवस्थापकीय सीप र क्षमता प्राप्त हुने गर्दछ । उदाहरणका रुपमा हामीले थकाली समुदायलाई हे¥यौँ भने यो समुदायमा रोजगारीका लागि युवाहरु भौतारिनु पर्दैन । यो समुदायका युवाहरु वयस्क हुनासाथ अधिकांश होटल व्यवसायमा लाग्छन् । यो समुदायका युवाहरुले हामी बेरोजगार भयौँ भनेर भनेको खासै देखिँदैन । त्यसैगरि, मारवाडी समुदायका युवाहरु पनि रोजगारीको खोजी गर्दै हिडेको हामी पाउँदैनौँ । किनकी, उनीहरुले परिवारबाटै व्यवस्थापकीय सीप सिकेर आएका हुन्छन् । परिवारबाटै उद्यमशीलता सिकेर आएको हुनाले उनीहरु सजिलै उद्यम व्यवसायमा लाग्न सक्दछन् । तर, अरु समुदाय हामीले हे¥यौँ भने यो खालको परम्परागत व्यवस्थापकीय सीप र क्षमताको अभाव छ । यस्ता युवाहरुलाई ज्ञान कसले दिने त भन्दा, एउटा त विश्वविद्यालयले दिनुपर्दछ । अर्कोतर्फ राज्यले तालिमका माध्यमबाट युवाहरुलाई यो अवसर प्रदान गर्नुपर्दछ ।

यस आधारमा हामीले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने, यसको जगमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने उदेश्य राखेर अघि बढेका छौँ ।

उद्योगी व्यवसायीले अहिले लगानीको वातावरण छैन भनेर निराशा पोखिरहेका छन् । बैंकमा पैसा थुप्रिएको छ, तर लगानी बढेको छैन । वर्तमान सरकारप्रति लगानीकर्ताको विश्वास क्रमशः घट्दो छ, रोजगारीका अवसरहरु सिर्जना हुन नसक्दा युवा पलायन बढ्दो छ । देशको आर्थिक अवस्था शन्तोषजनक छैन, यसमा प्रमुख प्रतिपक्षी दलको नाताले नेकपा एमालेको धारणा के छ ?

नेकपा एमाले जतिबेला सरकारमा आउँछ, त्यतिबेला लगानीको वातावरण अनुकुल बनेको हुन्छ, मानिसहरुमा पनि उत्साह पैदा हुन्छ । त्यसर्थमा नेकपा एमालेको नेतृत्वलाई राष्ट्र निर्माणमा अपरीहार्य ठानिनु पर्दछ । तर उद्यमी व्यवसायीहरुको मूल नेतृत्वको चरित्र कस्तो देखिन्छ भने, जो चाहिँ खराब छ, जसले चाहिँ मुलुकमा लगानीको लागि प्रतिकुल वातावरण बनाउँछ, उसैप्रतिको निकटता ज्यादा देखिन्छ । सिमित वर्गले यसबाट लाभ पनि लिएका छन् । गएको वर्ष आर्थिक मन्दीको वर्ष रह्यो, तर सत्ता निकट एक जना व्यवसायीको सम्पत्ति ४० अर्बले वृद्धि भयो । यस अर्थमा संकटका बेला लाभ लिने वर्गबाट व्यवसायीहरु प्रभावित हुनु भएन । अहिले पनि संकटका बेला लाभ लिने वर्गबाट नेपालका उद्योग व्यवसायहरु प्रभावित हुने र जसले मुलुकमा औद्योगिक वातावरण तयार गर्न सक्दछ, व्यवसायिक वातावरण बनाउन सक्दछ, त्यसप्रति सहयोगी नहुने जुन समस्या छ, यस समस्या नै मुलुकको आर्थिक सामाजिक विकासको चुनौती हो भन्ने कुरालाई व्यवसायिक क्षेत्रले बुझ्नुपर्छ । 

साथै, मुलुकको आर्थिक र सामाजिक विकासका लागि नेकपा एमाले अपरीहार्य छ भन्ने कुराको बोध व्यवसायिक क्षेत्रले पनि गर्नुपर्दछ । नेकपा एमाले यो वातावरण निर्माण गर्ने कुरामा सक्षम छ । किनकी, कुनै पनि राष्ट्रको विकासका सन्दर्भमा ३ वटा विषय अपरीहार्य हुन्छ । पहिलो, भिजनरी लिडरसीप, दोस्रो बलियो राजनीतिक शक्ति र तेस्रो राजीतिक स्थिरता । यी ३ वटै विषयमा सामर्थ्य राख्ने पार्टी भनेको नेकपा एमाले मात्रै हो । अरु कसैले पनि यी ३ वटा आधारहरु पूरा गर्न सक्ने सामर्थ्य राख्छन् भन्ने म ठान्दिनँ । यसर्थमा राष्ट्रको विकास, उन्नति, पूँजीको विकास, लगानीको वातावरण निर्माण लगायत सबै विषयमा नेकपा एमाले अपरीहार्य छ भन्ने सच्चाईलाई समाजका सबै वर्ग र समुदायले आत्मसाथ गर्नु जरुरी छ । 

एउटा कुरा स्मरण गरौँ, सरकारले लिएको आर्थिक नीतिका कारण गएको वर्ष देशमा आर्थिक मन्दीको अवस्था रह्यो । बैंकमा तरलताको अभाव भयो, आर्थिक गतिविधि ठप्प भयो । बैंकहरुले ब्याजदर बढाएर बचत संकलन गर्नुपर्ने अवस्था बन्यो, फलस्वरुप व्यवसायका लागि प्रवाह भएको कर्जाको ब्याजदर पनि बढ्यो । त्यो समय सुन तस्करी मौलाएको थियो । नेकपा एमालेले नै अगुवाई गरेपछि सरकार सुन तस्करीको छानबिन समिति बनाउन बाध्य भयो । सुन तस्करीको छानबिन समिति बनेपछि क्रमशः पैसा बैंकमा फर्किन थाल्यो । अहिले ५ खर्ब हाराहारी लगानीयोग्य रकम छ । यसबाट के पुष्टि हुन्छ भन्दा, बैंकबाट बाहिरिएको पैसा तस्करीको हातमा रहेछ । तर, अहिले पैसा भए पनि लगानी भएको छैन । बैंकमा बढी पैसा थुप्रिएपछि राष्ट्र बैंकले बैंकहरुबाट तरलता खिचिरहेको छ । तरलता खिच्नु भनेको निश्चित ब्याजमा पैसा लिनु हो, एक प्रकारले सरकारकै दायित्व बढ्नु हो । बाह्य ऋण पनि बढिरहने र आन्तरिक ऋण पनि थपिइरहने जटिल अवस्था छ । यसलाई सरकारले खास ध्यान दिएको देखिँदैन ।

नेकपा एमालेले मध्यपहाडको विकासको सम्भावनालाई उजागर गर्ने उदेश्यले ३ हप्ता लामो ‘झुलाघाट–चिवाभन्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ सम्पन्न गरेको छ । यस यात्राबाट नेकपा एमालेले मध्यपहाडको विकास र समृद्धिका लागि के कस्ता सम्भावना देख्यो ?

समृद्धिका लागि संकल्प यात्रा मूलतः पहाडको बसाईसराईको प्रवृत्तिको अवलोकन, पहाडमा विकास निर्माणमा भइरहेको सुस्ततालाई रोक्ने उपायको खोजी र पहाडमा विकास निर्माणको सम्भावनासँगै जनतामा उत्साह जगाउने उदेश्यका साथ यात्रा आरम्भ ग¥यौँ । यात्रामै हामीले ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भनेका थियौँ । वास्तमा यो यात्रा नेकपा एमालेको मात्रै रहेन । यो सिङ्गो राष्ट्रको संकल्प यात्रा बन्न पुग्यो । हामीले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मको कार्यक्रम बनाएका थियौँ । यात्रा अघि बढ्दै जाँदा रातको ११, १२ बजेसम्म पनि कार्यक्रम जारी राख्नुपर्ने स्थिति बन्यो । जनताको अभूतपूर्व साथ समर्थन हामीले त्यो यात्राका क्रममा प्राप्त ग¥यौँ ।

वास्तवमा मध्यपहाडी क्षेत्र जुन छ, यो क्षेत्र भएर मध्यपहाडी पुष्पलाल लोकमार्ग बनेको छ, त्यो आफैँमा समृद्धिको आधारशीला बन्न सक्दछ भन्ने कुरालाई हामीले उजागर गरेका छौँ । त्यो यात्राका क्रममा जनताले दिएका सुझावहरुलाई सुत्रवद्ध गरेर व्यवस्थित ढङ्गले नेपाल सरकारलाई प्रस्तुत गरेका छौँ । यसको निरन्तर निगरानीमा हामी छौँ । हामी के अपेक्षा र विश्वास गर्दछौँ भने त्यो यात्राका क्रममा प्राप्त भएका सुझावहरुलाई आधार बनाएर मध्यपहाडी क्षेत्रको विकासका लागि सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा समावेश गर्नेछ । अर्कोतर्फ, हामी स्वयम् आफैँ पनि पार्टीका तर्फबाट मध्यपहाडी क्षेत्रको समग्र विकासको अवधारण तयार गरेर त्यसका आधारमा प्रतिपक्षमा रहँदा दबाबका रुपमा, जागरणका रुपमा र सरकारमा रहँदा नीति कार्यक्रमका रुपमा अगाडी बढाउनु पर्दछ भन्ने मान्यता अन्तर्गत अगाडी बढिरहेका छौँ ।

अन्तिममा, हामीले १५औँ पञ्चवर्षीय योजना निर्माण गर्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने आधारहरु समावेश गरेका थियौँ । अहिले १५औँ योजनाको अन्तिम वर्षको पनि अन्तिम अन्तिम समयमा आइपुगेका छौँ । सरकार १६औँ योजनाको गृहकार्यमा छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादमा पुग्ने आधार तयार गर्न १६औँ पञ्चवर्षीय योजना कस्तो बन्नुपर्छ ?

नेपाल सधैँभरी पीछडिएको मुलुकका रुपमा चिनिने जुन अवस्था छ, यो अवस्थालाई अन्त्य गर्न सक्नुपर्दछ । तर बिडम्बनाको कुरा, सरकार यसका लागि असक्षम छ । सक्षम सरकारले मात्रै योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सक्दछ । १६औँ पञ्चवर्षीय योजना निर्माणको चरणमा हामी प्रवेश त गरेका छौँ, तर त्यसको कार्यान्वयका लागि बलियो राष्ट्रि शक्तिको आवश्यकता पर्दछ भन्ने कुरालाई बुझ्नुपर्दछ । योजना बनाएर मात्रै पुग्दैन, त्यसको कार्यान्वय गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता पर्छ । 

नेकपा एमाले सरकारमा रहँदा औसतमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिएको थियो । जुन विश्वकै सन्दर्भमा पनि १०औँ स्थानमा थियो । आज मुलुकको अवस्था के छ भने विश्वका मुलुकहरुको तुलनामा सबैभन्दा पछौटे बन्नु परेको छ । सरकार परिवर्तनले कति असर पर्दोरहेछ भन्ने कुरा यसैले पुष्टि गरेको छ । यसर्थमा १५औँ पञ्चवर्षीय योजना कार्यान्वयका क्रममा देखा परेका चुनौतिहरु हल गर्न सक्ने वातावरण १६औँ योजनाको निर्माण गर्ने सन्दर्भमै जोड दिएर जानुपर्दछ भन्ने कुरा राख्न चाहन्छु ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved