आँधीखोला लघुवित्तको साधारण सेयर आजदेखि सर्वसाधारणको लागि बिक्रि खुला भएको छ। लघुवित्तले बिक्रि खुला गरेको ४ करोड रुपैया बराबरको आइपीओमा सर्वसाधरणले आजदेखि आबेदन भर्न पाउनेछन।
कम्पनीले निष्कासन गरेको ४ करोड आइपीओ मध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र २० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन।
आइपीओमा आज अर्थात असार २२ देखि असार २५ गतेसम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले सम्पूर्ण सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था मार्फत र मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्ने छन।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर लघुवित्तको आईपिओमा माग भन्दा धेरै गुणा आवेदन पर्ने र गोलाप्रथाबाट १० कित्ता मात्र शेयर पाइने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु अनुपयुक्त देखिन्छ।
शेयर निष्काशनको लागि एनआईबीएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले बैशाख ३ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको आधारभुत पक्ष औसत भन्दा कमजोर रहेको देखाउछ।
आँधिखोला लघुवित्त चुक्ता पूँजी ६ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ । कम्पनीको अधिकृत पूँजी १५ करोड रहेको छ ।
२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि कारोवार सुरु गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले स्याङजा सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ कार्यक्षेत्र विस्तार गरेको छ ।