साधना लघुवित्तले निष्काशन गरेको आईपिओले रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपिओमा ४ लाख ५८ हजार ६ सय ४३ जनाले आवेदन दिएका छन् । आईपिओमा यति धेरै लगानीकर्ताको आवेदन परेको यो नै पहिलो पटक हो ।
बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपिओमा ४ लाख ५८ हजार ६ सय ४३ जनाले १ करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता लागि आवेदन दिएका छन्। जस मध्ये १० हजार ३१ जनाको आवेदन रद्द भएको छ । कम्पनीको आईपिओ गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले मात्र पाउने भएकोले आवेदन दिएका मध्ये ३ लाख ९२ हजार ४ सय ९१ आवेदक हात खाली हुने छन् ।
कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ ।