ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयरमा आज तेस्रो दिन नै साढे ७ गुणा भन्दा बढीको आबेदन परेको छ। बैशाख १३ गतेदेखि निष्काशन भएको ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा निष्काशनको तेस्रो दिनमा बेलुका ५ बजे सम्म ९ करोड २१ लाख ३ हजार रकम बराबरको आबेदन परेको हो।
सिडीएस एंड क्लियरिंग लिमिटेडका अनुसार आज शुक्रबार ५ बजे सम्म ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा ८ लाख ६१ हजार १ सय ९५ जना आवेदकबाट ९५ लाख २१ हजार ३० कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले कम्पनीका कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता शेयर निष्काशन गरेको हो ।
सर्बसाधारणले आईपिओमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०८० साल जेठ १६ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।