३ महिनादेखि बन्द हेटौंडा सिमेन्ट संचालनमा ल्याउन मजदुरको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 07:58:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको हेटौंडा सिमेण्ट उद्योग लि.को उत्पादन सुचारु गर्न उद्योगमा कार्यरत मजदुरहरुले माग गरेका छन्। बिगत ३ महिनादेखि उत्पादन ठप्प भएको हेटौंडा सिमेन्ट उद्योग तत्काल संचालन गर्न माग राख्दै मजदुर संगठनहरुले विज्ञप्ति जारी गरेका छन् । उद्योग प्रशासनले उद्योगलाई आवश्यक कोइला आपूर्तिमा आलटाल गरेको आरोप मजदुर संगठनले लगाएको छ । 

मओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर संघ र नेकपा एमाले निकट समग्र उद्योग ट्रेड युनियन हेसिउलिले उद्योग तत्काल संचालन गर्न माग गरेको हो । लामो समयदेखि उद्योग बन्द भएको र उद्योग संचालनमा ल्याउन पहल नभएको भन्दै २ वटा ट्रेड युनियनले उद्योग ब्यवस्थापन पक्षसँग माग गरेको हो । २०४३ सालमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगमा कुनैबेला ७ सय भन्दा बढी कामदार कर्मचारी कार्यरत थिए । उद्योगमा हाल २ सय २० जना कामदार कर्मचारी कार्यरत रहेको बताइएको छ । 

सहमति कार्यान्वयन गर्र्नुपर्ने र उक्त सहमतिमा उद्योग सञ्चालनका बिषयहरु नै प्रधान रहेको अखिल नेपाल औद्योगिक मजदुर संघ हेसिउलिका अध्यक्ष दीपकसिंह थोकरका अनुसार उद्योगका उच्चपदस्थ स्थायी कर्मचारीका लागि उद्योग बन्द हुनु र संचालनमा आउनुमा खासै फरक नहुने भएपनि मजदुरका लागि रोजीरोटी नै गुम्ने अवस्था छ । 

हेटौंडा उद्योग बन्द भए आफूहरुको जीवनयापन असहज हुने बताउँदै अध्यक्ष थोकरले पहिलो प्राथमिकता नै उद्योग संचालनमा आउनु पर्ने भएकोले उद्योग प्रशासनलाई ध्यानाकर्षण गराएको जानकारी दिए । गत चैत ३० गते उद्योगमा नयाँ महाप्रबन्धकका रुपमा बसन्तकुमार पाण्डे आएपछि उद्योग झन अस्तब्यस्त बनेको आरोप मजदुरहरुको रहेको छ ।

साउन ३ गतेदेखि बन्द भएको उद्योग दसैंलगत्तै संचालन गर्ने भनिए पनि यसतर्फ कुनै प्रयास नगरिएको आरोप मजदुरले लगाएका छन् । नयाँ महाप्रबन्धकको ६ महिना उद्योगका लागि उपलब्धीमूलक नरहेको उनीहरुले बताए । हेटौंडा नगरमा रहेका निजी सिमेन्ट उद्योग निरन्तर संचालनमा रहेको तर, सरकारी उद्योग ब्यवस्थापन पक्षबाटै थप धरासायी बनाउने काम भएको मजदुरहरुको आरोप छ । 

समग्र उद्योग ट्रेड युनियन हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष यमबहादुर बस्नेतले ३ महिनामा ६ लाख बोरा सिमेण्ट उत्पादन गर्नुपर्ने उद्योगले ६ महिनामा जम्मा ४ लाख बोरा मात्र सिमेण्ट उत्पादन गरेको बताए । उद्योगमा कार्यरत कर्मचारीहरु उद्योगको स्तरोन्नतीको लागि जतिसुकै खट्न परेपनि तयार रहेको बताउँदै बस्नेतले उद्योग ब्यवस्थापनसँग मजदुर संगठनले यस अघि गरेको सहमति कार्यान्वयन भएकोले उद्योगमा कुनै समस्या नरहेको जानकारी दिए ।

हेटौंडा सिमेन्ट उद्योग ब्यवस्थापन समितिका अध्यक्ष गणेश भेटवालले कोइलाको अभावका कारण उद्योगको उत्पादन बन्द भएको बताए । एक हजार मेट्रिकटन कोइला उद्योगमा मौज्दात भएपछि मात्र फायरिङ सुरु गर्ने तयारीमा आफूहरु लागेको अध्यक्ष भेटवालले बताए । हिजो (बुधबार) बाट उद्योगमा कोइला आपूर्ति सुरु भइसकेको दैनिक ५÷६ गाडी कोइला आइरहेको अध्यक्ष भेटवालले जानकारी दिए । उद्योग संचालनमा ल्याउने बिषयमा पटकपटक बैठक भइरहेको र एकसाता भित्र ै संचालनमा आउने उनले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved