भारतमा हिस्सा बढाउँदै नेपाली सिमेन्टः २५ शहरमा पुग्यो अर्घाखाँची

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 31, 2024 | 06:12:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बढिरहेको वैदेशिक ब्यापार घाटामा मल्हम लगाउने गरि अहिले नेपाली सिमेन्टको निकासी उल्लेख्य रुपमा बढिरहेको छ । नेपालबाट अहिले उल्लेख्य रुपमा भारतीय बजारमा सिमेन्टको निकासी गरिरहेका उद्योगहरुमध्ये अर्घाखाँची सिमेन्ट शीर्ष स्थानमै आउँछ । रुपन्देहीमा रहेको यो उद्योगले बेलहिया नाका हुँदै २०७९ साल असोज ३१ गते भारतको आनन्दनगर र नौतनवामा रहेको शुभांशु एसोसिएट डिलरलाई एक सय टन पीपीसी सिमेन्ट पठाएर निकासी सुरु गरेको हो । 

त्यसयता हालसम्म दैनिकजसो सिमेन्ट पठाइरहेको अर्घाखाँची सिमेन्टले अहिले भारतका २५ शहरमा सिमेन्ट बिक्रि गरिरहेको छ । उत्तर प्रदेश र बिहारका २५ बढी शहरमा नेपाली उत्पादनका रुपमा सगौरव बजारीकरण गरिरहेको अर्घाखाँची सिमेन्टले भारतीय बजारमा प्रचारप्रसार पनि उत्तिकै गरिरहेको छ ।

‘सपनों का नया निर्माण’ ट्यागलाइनसहित भारतीय बजारका घरघरमा भित्ते लेखनदेखि ढुवानीका साधनमा समेत ‘अर्घाखाँची सिमेन्ट’ भनेर लेखिएको छ । भारतीय सरकारबाट ‘इन्डियन स्टाण्डर्ड’ प्राप्त गरेर भारतीय बजारमा प्रभावशाली उपस्थिति जनाउन थालिसकेको अर्घाखाँची सिमेन्टले भारतीय बजार लक्षित नयाँ ब्राण्डका रुपमा ‘ढलाई मास्टर’ पीपीसी सिमेन्ट पनि ‘लन्च’ गरेको छ । 

अहिले अर्घाखाँची सिमेन्टले भारतमा ४ वटा ब्राण्ड पठाउँदै आएको छ । ओपीसी ४३ ग्रेड, ओपीसी ५३ ग्रेड, अर्घाखाँची पीपीसी सिमेन्ट र पीपीसी ढलाई मास्टर गरि ४ वटा ब्राण्डको निकासी भइरहेको कम्पनीका ब्राण्ड अफिसर अंकित दाहाल बताउँछन् । उनका अनुसार भारतीय बजारमा अहिले अर्घाखाँची सिमेन्टको माग बढिरहेको छ ।

अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले निकासी सुरु गर्दा नै अर्घाखाँची सिमेन्ट गुणस्तरीय भएकाले भारतीय बजारमा राम्रो उपस्थिति जनाउने बताएका थिए । उनले सिमेन्टको निकासीले ब्यापार घाटा कम गर्न मद्दत पुग्ने  पनि बताएका थिए । उनको भनाइ पुष्टि हुँदै गएको छ ।

कुनै बेला नेपालका ठूला परियोजनामा भारतीय सिमेन्टको दबदबा थियो । अहिले नेपालले चालु आर्थिक वर्षको ८ महिनामा भारतलाई मात्रै २ अर्ब ४७ करोड ६ लाख ९३ हजार बराबरको सिमेन्ट र क्लिंकर बिक्रि गरेको छ । यसमा अर्घाखाँची सिमेन्टको हिस्सा उच्च छ ।

कुनै बेला उद्योगीहरु पशुपति मुरारका, जगदिश अग्रवाल, राजेश कुमार अग्रवाल र मनोज केडियाहरुले ‘नेपालबाट सिमेन्टको निकासी सम्भव छ, हामी निर्यात गर्न सक्छौँ’ भन्दा सपना जस्तो लाग्थ्यो । तर, अहिले त्यहीँ असम्भव र सपना जस्तो लाग्ने दिनलाई चिर्दै अर्घाखाँची सिमेन्टले भारतीय शहरमा ‘सपनों का नया निर्माण’ भनेर नेपाली उत्पादन पनि विश्वस्तरीय हुन्छन् भन्ने सन्देश दिइरहेको छ । यो नेपालीहरुकै लागि गौरवको कुरा हो ।

त्यसो त, स्वदेशमा पनि अर्घाखाँची सिमेन्टको प्रयोग बढ्दो छ । ठूला ठूला जलविद्युत परियोजनादेखि सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनामा समेत अर्घाखाँची सिमेन्टको प्रयोग भइरहेको छ । 

यसरी स्वदेश र विदेशमा समेत आफ्ना उत्पादन बिक्रि गरिरहेको अर्घाखाँची सिमेन्टमा निकट भविष्यमा नै सर्वसाधारण नागरिकले समेत सेयर लगानी गर्न पाउने छन् । अहिले कम्पनी यसको आन्तरिक तयारीमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved