
धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतबाट विदाभएपछि मिन बहादुर बोहोराले अब लघुवित्त संस्थाको प्रमुख नेतृत्त्वमा नआउने बताएका थिए । बिजपाटीसँगको कुराकानीको क्रममा उनले अति आवश्यक परिस्थिति सृजना नभएसम्म लघुवित्त संस्थाको प्रमुख नेतृत्त्वमा नआउने बताएका थिए ।
उनले त्यसो भनेको ५ महिना मै फेरी उनी लघुवित्तको नेतृत्वमा पुगेका छन्। उनी मिर्मिरे लघुवित्तको कायम मुकायम सीइओ नियुक्त भएका छन्। मिर्मिरे लघुवित्तको मङ्सिर ३ गते बसेको संचालक समितिको बैठकले बोहरालाई कामु सीइओ नियुक्त गरेको हो । मङ्सिर २ गतेदेखि लागु हुने गरि मिर्मिरेका सीइओ पुष्करराज जोशीले अवकाश लिएपछि मिर्मिरेमा सीइओ पद रिक्त भएको थियो । रिक्त पदमा कामु सीइओको रुपमा बोहरा नियुक्त भएका हुन् ।
त्यसो त बोहरा सिधै मिर्मिरे लघुवित्तको निमित्त सीइओ बनेका भने होइनन्। मर्जरको प्रकृयामा रहेका मिर्मिरे र नेरुड़ेको आन्तरिक किचलोमा टेकेर बोहरा मिर्मिरेको डेपुटी सीइओ हुँदै निमित्त सीइओ बनेका हुन्। मिर्मिरे र नेरुड़ेबीच मर्जरको लागि सहमति भएलगत्तै मर्जर पश्चात बन्ने संस्थाको अध्यक्ष र प्रमुख कार्यकारी बन्नलाई बेजोडको लडाई समेत भएको थियो।
सोहि लडाईका कारण टेक बहादुर बोहरालाई नेपाल राष्ट्र बैंकले ५ लाख जरिवाना र ५ वर्षसम्म संचालक समितिमा बस्न नपाउने गरि मिर्मिरेको अध्यक्षबाट निलम्बन गरेको थियो। बोहरा निलम्बनमा परे पश्चात मिर्मिरेको सीइओबाट राजिनामा दिएका जोशी चेपुवामा परेका थिए। जोशीमाथि नेरुड़ेको अध्यक्षसँग मिलेर मिर्मिरेका अध्यक्ष बोहरालाई निलम्बनमा पुर्याएको आरोप लागेको थियो।
एक अर्कालाई सिध्याउने खेलोले दुवैलाई हित नहुने भएपछि पछिल्लो समय नेरुडे र मिर्मिरे समुहबिच भद्र सहमति भएको छ। उक्त सहमतिअनुसार मर्जर पश्चात बन्ने संस्थाको अध्यक्ष मिर्मिरेले पाउने र सीइओ नेरुड़ेले पाउने स्रोतले जनाएको छ। यो सहमति अनुसार नेरुड़ेका हालका अध्यक्ष डा. भेष प्रसाद धमला अध्यक्षबाट विदा हुनेछन् भने मिर्मिरेका बहालवाला अध्यक्ष संजय कुमार श्रेष्ठले निरन्तरता पाउनेछन्। त्यस्तै अध्यक्ष छाड्न तयार रहेको नेरुड़ेका बहालवाला सीइओ भोजराज बस्यालले सीइओमा निरन्तरता पाउनेछन् भने मिर्मिरेमा निमित्त सीइओ बनेका मिन बोहरा डेपुटी सीइओ बन्नेछन्।
तर मिर्मिरेका अध्यक्षबाट निलम्बनमा परेका टेक बहादुर बोहराले आफ्नो उत्तराधिकारी बनाएर डेपुटी सीइओको रुपमा भित्र्याएका मिन बोहरासँग नेरुड़ेको टिम अझैं पनि त्रसित रहेको स्रोतको भनाई छ। त्यसो त मर्जर तथा प्राप्तिको क्रममा रहेका सँस्थाका 'झगडा' मा प्रवेश गरेर त्यसबाट लाभ लिनमा मिन बोहरासँग राम्रो अनुभव रहेको छ। सम्भवत: यहि कारण होला, उनीमाथि विगतमा जस्तै 'च्याखे दाउ' थाप्न मिर्मिरे गएको चर्चा लघुवित्त क्षेत्रमा चल्न थालेको छ।
बोहोरा यस अघि धौलागिरी लघुवित्तको सीइओ थिए । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्ज लिएपछि उनी राम्रो पैसा थापेर स्वेच्छिक अवकास लिएर बाहिरिएका थिए । त्यस अघि उनी कालिका लघुवित्त र नेपाल एग्रो लघुवित्तमा सीइओ थिए । मर्जरपछि उनी त्यहाँपनि राम्रो पैसा थापेर स्वेच्छिक अवकास लिएर बाहिरिएका थिए।
बोहोरासँग ६ वटा मर्जर र ४ वटा डीमर्जसहितको अनुभव पनि छ। उनी लघुवित्त क्षेत्र मै सबैभन्दा बढी भीआरएस लिने सीइओमा पर्ने चर्चा यस क्षेत्रमा हुने गरेको छ। उनीसँग एकै वर्षमा ३ वटा लघुवित्त वित्तीय संस्थाका प्रमुखको जिम्म्मेवारी सम्हालेको अनुभव समेत रहेको छ।