अबदेखि साना भुक्तानीहरु वास्तविक समय (रियल टाइम) मा नै हुने भएको छ। यसअघि एकै बैंकमा गरिने भुक्तानिहरु मात्र रियल टाइममा हुँदै आएकोमा प्रणालीको स्तरोन्नति गर्दै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कनेक्ट आइपीएस ईपेमेन्ट सिस्टममा अन्तर बैंक कारोबार समेत रियल टाइममा हुने व्यवस्था गरेको हो।
यस व्यवस्थाअनुसार अनलाइन रकमान्तर, नेपाल सरकारलाई गरिने भुक्तानीहरु तथा अन्य सेवा प्रदायकलाई गरिने भुक्तानीहरु पाउने तथा भुक्तानी गर्ने ग्राहकको बैंक खातामा तुरुन्त हुनेछ। अब देखि जुनै बैंक खाताबाट अनलाइन रियल टाइममा रकम ट्रान्सफर गर्न सकिने भएको छ।
यस प्रणालीमा भुक्तानी कारोबारहरु सिधै बैंक खाताबाट हुने हुदा रकम ट्रान्सफरको लागि कुनै मध्यस्तकर्ताको आवश्यकता रहँदैन। कनेक्ट आइपीएस ईपेमेन्ट प्रणाली मार्फत बैंकका ग्राहकले अनलाइन, मोवाइल अथवा पेमेन्ट प्रोसेसर (गेटवे) मार्फत् आफ्नो कारोबार गर्न सक्ने जनाइएको छ।
हाल ४४ बैंक वित्तीय संस्थाहरुका ग्राहकले यसको सुविधा लिने व्यवस्था रहेको छ । यसमा उपलब्ध सेवाहरुमा अनलाईन फण्ड ट्रान्सफर, नेपाल सरकारलाई गरिने भुक्तानी (एफसीजीओं, लोकसेवा, आन्तरिक राजस्व), सेयर ब्रोकर भुक्तानी, डिम्याट शुल्क, डिपी शुल्क, क्रेडिट कार्ड भुक्तानी, मोबाइल वालेट लोड÷अनलोड तथा अन्य क्रेडिटर भुक्तानीहरु गर्ने व्यवस्था रहेका छन् । यसमा अनलाइनबाट गरिने र मोबाइलबाट गरिने कारोबार सीमा क्रमश १००,००० र रु ५,००० रहेका छन।
नेपाल राष्ट्र बैंक तथा सम्पूर्ण बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले इसीसी, आइपीएस र कनेक्ट आइपीएस ईपेमेन्ट जस्ता राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ। जसको दैनिक औसत सेटलमेन्ट कारोबार ३५ अर्ब रहेको छ ।