अञ्जनको टिममा १९ दिन पनि टिकिनन् जोत्सना, क्याम्प चेन्जको भित्रि कारण डेढ करोडको खेलो !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 10:07:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेतालाई संघीय चुनाव लागे झैँ उद्योगी व्यवसायीलाई नेपाल उद्योग बाणिज्य महासंघमा आगामी नेतृत्व चयनका लागि चुनाव लागेको छ। जसरी संघीय चुनावमा नेताहरु अन्तिम अवस्थासम्म को, कुन दलमा रहन्छ र को बागी उठ्छ भन्ने अनिश्चित रहन्छ, ठिक त्यस्तै अवस्था महासंघको आगामी चुनावका उम्मेदवारमा देखिएको छ। 

महासंघको वरिष्ठ उपाध्यक्षमध्येका एक उम्मेदवार अञ्जन श्रेष्ठको टिममा रहेर एसोसियट उपाध्यक्षमा लड्ने घोषणा गरेकी जोत्सना श्रेष्ठले उन्नाइस दिन नै नपुगी आफ्नो क्याम्प बदलेको घटनाले महासंघमा तरंग ल्याएको छ। 

जोत्सनाले उन्नाइस दिन अगाडि अञ्जनले आफ्नो टिम घोषणा गर्दा उक्त टिमबाट एसोसिएट उपाध्यक्षमा लड्ने घोषणा गरेकी थिइन। तर उनको घोषणा उन्नाइस दिन पनि टिक्न सकेन। 

जोत्सना उन्नाइस दिनपछि महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका अर्का उम्मेदवार एनआईसी एसिया बैंकका सञ्चालकसमेत रहेका रामचन्द्र संघाईको टिमबाट एसोसिएट उपाध्यक्षमा लड्ने घोषणा गरेकी हुन्। 

उन्नाइस दिनमै क्याम्प किन बदलिन भन्नेबारे उद्योगी व्यवसायीहरुबीच चर्चाको विषय बनेको छ। यद्यपि एसोसिएट सदस्यहरुको सदस्यता नवीकरणको लागि लगानी नगरिदिएकाले जोत्सनाले अञ्जनको 'क्याम्प' छाडेको उद्योगी व्यवसायीहरु माझ चर्चा चलेको छ ।

कम्तिमा २५० एसोसिएट सदस्यको सदस्यता नविकरण गरिदिनुपर्ने सर्त नमान्दा अञ्जनको समूह त्यागेर संघाई रोजेको बजार चर्चा छ। प्रति सदस्य नविकरण लागत ६० हजार रहेको छ। झन्डै डेढ करोडको खर्च उठाउन नमान्दा जोत्सनाले समूह परिवर्तन गरेको उद्योगी व्यवसायी माझ सवाल उठेको छ । 

यसबारे जोत्सना श्रेष्ठलाई सोध्दा आफू अञ्जनको समूहमा कम्फर्ट नभएकाले संघाई समूह रोज्नुपरेको तर सदस्यता नविकरणसँग कुनै सम्बन्ध नभएको बताएकी छिन्। महासंघको चुनावमा भोट हाल्न पाउने एसोसिएट सदस्यको संख्या १ हजार ७६२ रहेको छ र त्यसमध्ये करिब २०० जतिको मात्र नविकरण भएको छ। एसोसिएट उपाध्यक्ष जित्नका लागि ८०० बढी भोट ल्याउनुपर्ने हुन्छ। 

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी चत्रै २८ र २९ गते हुन गइरहेको  छ। उक्त चुनावले महासंघको वरिष्ठ उपाध्यक्ष लगायतका नयाँ नेतृत्त्व चयन गर्नेछ।  महासंघमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएकाले प्रत्येक तीन वर्षमा हुने बरिष्ठ उपाध्यक्ष पदको चुनाव विशेष हुने गर्दछ। 

महासंघमा आगामी चैत २९ पछि अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल विधान अनुसार स्वतः अध्यक्ष बन्दैछन्। उनले आगामी तीन वर्ष अध्यक्षको हैसियतले चैत २९ पछि महासंघको नेतृत्व सम्हाल्नेछन्। महासंघमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved