नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छाका २० वर्ष र ५ महत्वपूर्ण योगदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 04:05:10 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रका उद्योगी, व्यवसायीको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा वरिष्ठ उपाध्यक्षसहितको नयाँ नेतृत्वको लागि आज चैत २९ गते निर्वाचन भएको छ। 

यस निर्वाचनले वरिष्ठ उपाध्यक्षसहितको नयाँ नेतृत्त्व दिंदैगर्दा बहालवाला वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको रुपमा चैत ३० गतेदेखि महासंघको नेतृत्व सम्हाल्नेछन् भने उद्योगी तथा गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा अध्यक्षबाट बिदा भएर निवर्तमान बन्नेछन्। 

उद्योगी, व्यवसायीको हक-हितका लागि सन् १९६५ मा स्थापना भएको एफएनसीसीआई अहिले उद्योगी, व्यवसायीको नेता बनेर नेतृत्व गर्ने एउटा शाखको विषय बनेको छ। सत्ता सञ्चालनका लागि हुने राजनीतिक दलका चुनावको झल्को दिने एफएनसीसीआईको चुनावले पनि यसको नेतृत्व र शाखको गरिमाबारे बोल्दछ। 

खिचापोखरीको मिराहाउसबाट आजभन्दा करिब ५८ वर्ष अअघि केही उद्योगी, व्यवसायी मिलेर छरिएर रहेका चेम्बरहरुलाई एक गर्ने सोचबाट स्थापना भएको संस्था हो नेपाल उद्योग वाणिज्य महासंघ। विधान बनाएर महासंघलाई औपचारिकता दिने जिम्मेवारी पाएका थिए शेखर गोल्छाका हजुरबुबा रामलाल गोल्छाले। महासंघ स्थापनामा मात्रै नभइ नेपालको पहिलो उद्योग विराटनगर जुटमिल स्थापना गर्ने व्यक्ति रामलालको परिवारलाई उद्योगी परिवारका रुपमा पनि लिइन्छ। 

महासंघको जन्ममा रामलाल गोल्छाको अतुलनीय योग्दान हुँदाहुँदै पनि शेखर गोल्छाका बुबा हुलासचन्द्र गोल्छा महासंघको अध्यक्ष बनेनन्। गोल्छा ग्रुपलाई विस्तार गर्ने क्रममा र औद्योगिक विकासमा महत्त्पूर्ण योगदान गरेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षसमेत भएका थिए । उनले महासंघको नेतृत्व सम्हाल्ने चाहना राख्दा पनि पूरा गर्न सकेका थिएनन्। पारिवारिक विरासत देखाएर नभइ निर्वाचन जितेर छोरा शेखर गोल्छाले उनको र उनको परिवारको चाहना पुरा गरे अनि ५४औँ साधारणसभाबाट अध्यक्ष चयन भए। 

नाडा अटोमोबाइल एशोसिएसनबाट व्यवसायिक राजनीतिक जीवनको सुरुवात गरेका गोल्छा नाडाको अध्यक्ष बने। त्यसपछि शेखर महासंघको कार्यसमिति सदस्य, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै महासंघको अध्यक्ष बनेका हुन्। 

नाडाको अध्यक्ष हुँदा सामान्यरुपमा चलिरहेको 'नाडा अटो शो'लाई नयाँ र व्यवसायिक रुप दिन तथा नाडालाई महासंघ बनाउन योगदान गरेका गोल्छाका लागि बरिष्ठ उपाध्यक्ष विधानतः स्वतः महासंघको अध्यक्ष बन्ने हुँदाहुँदै पनि उनको वरिष्ठ उपाध्यक्षको कार्यकाल कहिल्यै सहज भएन। आफू वरिष्ठ उपाध्यक्ष हुँदा अध्यक्ष रहेका पशुपति मुरारकालाई मेरुदण्ड बनेर सघाएका गोल्छामाथि महासंघको शान्त नेतृत्व भएको आरोप लागेको थियो। 

यद्यपि शालिन स्वभाव र तथ्य, तथ्यांकमा रहेर बोल्न रुचाउने गोल्छाले महासंघमा कार्यसमिति सदस्यदेखि अध्यक्ष हुँदासम्ममा धेरै महत्त्वपूर्ण योगदान दिएको महासंघका जानकारहरु बताउँछन्।  

गोल्छा रोजगार परिषद्का सभापति हुँदा श्रमिकहरुको आन्दोलनले निजी क्षेत्र अप्ठ्यारोमा थियो। त्यस बेला पशुपति मुरारर्काको संयोजकत्व र दिशानिर्देशनमा गोल्छाले श्रमिकहरुको आन्दोलनलाई एउटा बाटो तय गरिदिए। त्यसबखतको प्रयासबाट नयाँ श्रम ऐन आयो। जुन ऐनमा श्रमिकलाई राख्दा सम्झौता गर्नुपर्ने, कुनै न कुनै तरिकाले हायर एण्ड फायर गर्न पाइने, नो वर्क नो पे हुनुपर्ने जस्ता व्यवस्था सामेल गरियो। धेरैले उक्त श्रम ऐनलाई आलोचना गरे पनि श्रमिकको अधिकारलाई समेत संरक्षण गरिएकाले उक्त श्रम ऐनलाई अहिलेसम्मकै प्रगतिशील (प्रोग्रेसिभ) ऐनको रुपमा अर्थ्याइन्छ। 

नेपालको एक मात्र सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा वास्तविक क्षेत्र (रियल सेक्टर)लाई ल्याउन वरिष्ठ उपाध्यक्ष हुँदा गोल्छाको योगदान स्मरणीय रहेको पाइन्छ। नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा मनोनित हुँदा नेपालको सेयर बजारमा वास्तविक क्षेत्र ल्याउने प्रयास सफल भएको थियो र त्यसको नतिजा अहिले नेपालको सेयर बजारमा  वास्तविक क्षेत्रका दर्जनौँ कम्पनी सुचिकृत छन्। 

यद्यपि वरिष्ठ उपाध्यक्ष हुँदाको समयमा महासंघमा उनलाई कहिल्यै सहज भएन। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न नपाउने गरी विधान संसोधनको बहस नचलेको एउटा पनि कार्यसमितिको बैठक नभएको स्वयम् शेखर गोल्छा सुनाउँछन्। प्रत्येक कार्यसमितिको बैठकमा विधान संसोधनको कुरा झिकिदिँदाको तनावले 'ब्लड प्रेसर'को औषधि खान बाध्य भएको गोल्छा बताउँछन्। 

महासंघको अध्यक्ष भइसकेपछिको पहिलो साधारणसभाको बैठकमा गोल्छाले चारवटा विषय आफ्नो पहिलो प्राथमिकता रहने बताएका थिए। सरकारसँग होस् वा अरु सरोकारवाला, ठाउँमा टेबल ठोकेर कुरा गरोस् भन्ने धेरैको चाहना विपरित शान्त स्वभावका शेखर गोल्छाले तार्किक र तथ्यांकको आधारमा नै केही महत्त्वपूर्ण काम गरेर महासंघको अध्यक्ष पदबाट बिदा भएको बताउँछन्। 

गोल्छाले अध्यक्ष भएको तीन महिनाभित्र महासंघको भिजनपत्र ल्याएर कम्तिमा महासंघको कार्यसमिति र नेतृत्वमा रहनेहरुको महासंघसँग सम्बन्धित काम गराइमा एकरुपता दिने प्रतिबद्धता पुरा गरे। स्टार्टअपलाई प्राथमिकता दिएर यससँग सम्बन्धित नीति निर्माण गर्ने काम भिजनपत्रकै एउटा उपलब्धी भएको बताइन्छ। गोल्छा अध्यक्ष हुँदा साना तथा मझौला उद्योगी व्यवसायका लागि भएका कामहरु पनि अर्को उपलब्धीको रुपमा लिइन्छ। 

महासंघको प्रशासन, लेखालाई चुस्त र पारदर्शी बनाउने, कर्मचारीको उचित व्यवस्थापनका लागि कर्मचारी विनियामावाली ल्याउने जस्ता महत्त्वपूर्ण काम गोल्छाको दोस्रो प्राथमिकतामा थियो। जसकारण अहिले महासंघको लेखा र अन्य कामबारे महासंघको आधिकारिक वेबसाइटबाट जानकारी लिन सकिन्छ। सुधारका कार्यक्रमका कारण विगतमा घाटामा रहने महासंघ गोल्छाको कार्यकालमा करिब ५ करोडले बचतमा देखिन्छ। 

अन्य चेम्बरसँगको सम्बन्ध सुधारको काम प्रतिबद्धता अनुसार भने हुन सकेन। कार्यकालमा नै कोभिड-१९ को महामारी देखिएकाले यात्रामा प्रतिबन्ध लगायतका कारण भारतको समानान्तर संस्था सीएनआईलगायतका संस्थासँगको सम्बन्ध सुधार तथा विस्तार हुन नसकेको स्वयम् शेखर गोल्छा स्वीकार्छन्। 

आफ्नो एजेन्डा नभए पनि महासंघको साधारणसभाले तोकिदिएका काम भएकाले विधान संसोधनका लागि तत्कालिन महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्त्व र पशुपति मुरारकाको साथमा 'पावरफुल टिम' बनाइएको थियो।  

विधान संसोधनका लागि मस्यौदा तयार भए पनि आफूले त्यसलाई 'पुश' गर्न नसकेको गोल्छा बताउँछन्। आफ्नो कमजोरीका कारण नभइ महासंघ राजनीतिको अखडा नबनोस् भन्ने पवित्र उद्देश्यले नै सक्ने भएर पनि विधान संसोधन आफ्नो कार्यकालमा नगरेको र त्यसलाई आगामी अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गर्ने गोल्छा बताउँछन्। विधान संसोधनको मस्यौदालाई के-कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी अब ढकालको काँधमा आइपुगेको छ। 

उद्योग वाणिज्य महासंघ कसरी चल्नुपर्छ भन्ने कुरा बहालवाला अध्यक्ष तथा नेतृत्वलाई नै सुम्पिनुपर्छ भन्ने धारणाको विकास पनि अध्यक्ष गोल्छाकै कार्यकालबाट भएको जानकारहरु बताउँछन्। त्यसो त निवर्तमान अध्यक्ष बन्ने क्रममा रहेका शेखर गोल्छाले पनि व्यक्तिगत भेटमा कानमा खुसुक्क कसैलाई केही भने पनि आफूले पूर्वअध्यक्षको हैसियतले बहालवाला नेतृतत्वले चाहेमा सघाउनेबाहेक अरु कुनै हस्तक्षेप र सक्रिय भूमिका निर्वाह नगर्ने बताएका छन्।  

महासंघलाई नीति, निर्माता तथा अन्य सरोकारवालाले 'बाइपास' गरेर अरु समानान्तर संस्थालाई महत्त्व दिइरहेको अवस्थालाई चिरेर सबैको प्राथमिकतामा नेपाल उद्योग वाणिज्य महासंघ पहिलो रोजाइमा पर्ने अवस्थामा ल्याउन गोल्छाको योगदान भएको बताइन्छ। तथ्य, तथ्यांकका लागि तथा नीति, निर्माणका लागि महासंघ अहिले सरकार तथा सरोकारवालाको पहिलो रोजाइमा पर्ने गरेको छ। 

महत्त्वपूर्ण योगदान दिंदैगर्दा पनि अध्यक्ष हुँदा गोल्छाका केही कमजोरी पनि देखाइने गरेको छ। महासंघको अध्यक्ष हुँदा सरोकारवालासँग टेबल ठोकेर कुरा गर्न नगएको, उद्योगी व्यवसायीलाई सरकार तथा अन्य निकायविरुद्ध आन्दोलनमा उत्रिन आब्हान नगरेको, देशका सबै जिल्ला,नगर तथा अन्य कार्यक्रममा सहभागी भएर प्रमुख आतिथ्यता नगरेको जस्ता कुराहरुमा महासंघ आबद्द व्यवसायी तथा उद्योगीको आरोप उनीमाथि रहिरह्यो। तर यी विषयहरु आफ्नो स्वभावभन्दा बाहिर भएकाले यी कमजोरी स्वीकार गर्न आफू तयार रहेको गोल्छा बताउँछन्। आफू अध्यक्ष हुँदाको यी तीन वर्ष धेरै जिल्ला नगए पनि प्रत्येक दिन २ बजेदेखि वेलुकासम्म पूर्ण-समय महासंघको कार्यलयमा बसेर उद्योगी, व्यवसायको समस्या सुन्ने  र समधानको विकल्प खोज्ने काम गरेको गोल्छा बताउँछन्। 

त्यसो त नेपाल उद्योग बाणिज्य महासंघमा कार्यसमिति सदस्यदेखि अध्यक्षको जिम्मेवारीसम्म पुग्दा महासंघलाई दिएको मात्र नभई महासंघबाट जीवनकै महत्त्वपूर्ण सिकाई आफूले सिकेको गोल्छा बताउँछन्। 

महासंघलाई दिएकोभन्दा महासंघबाट सय गुणा आफूले लिएको स्वीकार गर्दै उनी भन्छन्, 'उद्योग वाणिज्य महासंघ गएर न मलाई ब्राण्ड बनाउनु थियो, न मलाइ बिजनेश बढाउनु थियो, न मलाइ मेरो पहिचान बनाउनु र बढाउनु थियो, तर पनि महासंघको मेरो २० वर्षको यात्राले मेरो जीवन परिवर्तन गरिदियो। उद्योग वाणिज्य महासंघमा रहँदा प्रत्येक दिन जसो साना मझौला व्यवसायीका प्रतिक्रियाले मेरो धारणा परिवर्तन गरिदिएको छ।' 

उनी थप्छन्, 'मेरी आमाले घरमा एउटा रजिष्टर राख्नु भएको थियो । जहाँ, म जुन दिन आमाको साथमा बसेर डिनर (बेलुकाको खाना) खान्थेँ, त्यो दिन टिक लगाइन्थ्यो, सुरुका एक/दुई वर्ष मेरी आमाले सँगै खाना खाएको दिन टिक लगाउनु हुन्थ्यो तर महिनामा एक/दुई पटक मात्रै टिक लाग्ने अवस्था आएपछि आमाले सँगै खाना खाने दिनको रेकर्ड राख्न छाडिदिनुभयो, यो उद्योग वाणिज्य महासंघको जीवन हो।'

'महासंघको नेतृत्वमा रहँदा अर्को सिकेको कुरा, आलोचना नेतृत्व अर्को पार्ट रहेछ, सुरुसुरुमा कसैले आलोचना गर्दा म त्यसको प्रतिक्रिया दिन्थें तर अब त्यस्तो रहेन, जसले जे भने पनि आफ्नो काम गर्दै जाने हो आलोचना गर्नेले गर्दै जान्छन्, तर यो कुरा धेरै ढिला आएर बुझेँ', गोल्छाले भने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved