३ सयबाट सुरु भएको उद्यमलाई अर्बौको बनाएका अञ्जनले महासंघमा के–के काम गर्लान् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 05:40:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको नव निर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ उद्योग वाणिज्यको क्षेत्रमा क्रियाशिल भएको २० वर्ष पुगेको छ । पोखराबाट उदाएको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठसँग ३० वर्ष लामो औद्योगिक/व्यवसायिक अनुभव छ ।

‘यूथ लिडरसीप’को उदाहरणीय पात्र बन्ने हुटहुटी बोकेर महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका अञ्जन अन्ततः सफल भए । अब उनी ३ वर्षपछि महासंघको अध्यक्ष (विधान संशोधन भएर अध्यक्षमै प्रत्यक्ष निर्वाचन हुने अवस्था नबने) बन्ने बाटो खुलेको छ । 

‘महासंघमा ६ वर्ष समितिको सदस्य भएँ, २ पटक राजस्व समितिको सह–सभापति भएँ । रोजगारदता परिषदमा ९ वर्ष काम गरेँ । वाणिज्य समितिको सदस्य र उद्योग समितिको सभापति पनि भएर काम गरेको छु । यसको अर्थ उद्योग वाणिज्य महासङ्घभित्र उद्योग वाणिज्य क्षेत्रका सबै विधामा, सबै ठाउँमा कुनै न कुनै रुपमा योगदान गरेको छु । काम गरेको छु’ अञ्जन भन्छन्, ‘वरिष्ठ उपाध्यक्षका रुपमा अब मैले मेरो २० वर्ष लामो चेम्बर मुभमेन्टको अनुभव प्रयोग गरेर महासंघलाई साँच्चै जोशिलो र जीवन्त महासंघ बनाउने मेरो काम हुनेछ ।’

कलेज पढ्दा २०४५ सालदेखि नै अभिभावकलाई सघाउँन सुरु गरेका अञ्जन त्यसै बेलादेखि प्रत्यक्ष उद्योग व्यवसायमा जोडिए । उनको परिवारले २०३० सालमा ३ सय रुपैयाँबाट उद्यम सुरु गरेको थियो । आज लक्ष्मी ग्रुप ४९ वर्षको इतिहास बोकेको सर्वाधिक सफल समूह बनेको छ । 

उनलाई सबैभन्दा मन परेको चाहिँ डेरी उद्योग हो । गाउँ–गाउँमा हरेक दिन नगद प्रवाह गर्ने सशक्त माध्यम नै डेरी उद्योग र यो सँग सम्बन्धित व्यवसाय भएको उनको अनुभव छ । 

‘शहरी अर्थतन्त्रबाट ग्रामिण अर्थतन्त्रमा नगद प्रवाह गर्ने यो जत्तिको सशक्त माध्यम अरु हुँदैनन् भन्ने अनुभूत भएको छ । कसरी भन्दा, यसले हरेक दिन गाउँ गाउँमा नगद प्रवाह हुन्छ । तरकारी खेती गर्यो भने सिजनमा हुन्छ, एकपटक बाली लगायो भने त्यसले गाउँमा पैसा भित्र्याउन ३ महिना लाग्छ । तर, दूध वर्षभरी हरेक दिन उत्पादन हुन्छ । यसले हरेक दिन गाउँमा पैसा भित्र्याउँछ’ अञ्जन भन्छन् ।

अब उनको एउटा महत्वपूर्ण लक्ष्य छ, उद्योगी व्यवसायीलाई साना र ठूला भनेर विभेद नहुने वातावरण बनाउने । 

‘व्यवसायी भनेको सबै व्यवसायी नै हो, साना र ठूला भनेर भन्नु हुँदैन, म यो मान्यता स्थापित गराउने अभियानमा लाग्छु’ अञ्जन भन्छन्, ‘काम गर्दै जाँदा कसैको व्यवसायको भोलुम ठूलो भयो होला, कसैको सानै रह्यो होला । त्यसैले कारोबारको भोलुमलाई हेरेर साना व्यवसायी र ठूला व्यवसायी भनिनु नै गलत हो । सबै उद्योगी व्यवसायी समान हुनुपर्छ, समान व्यवहार गरिनुपर्छ ।’ 

अर्को महत्वपूर्ण कुरा चाहिँ, अहिले अर्थतन्त्र साँच्चै नै सिथिल अवस्थामा छ भन्ने उनको अनुभूति छ । बजारमा माग छैन, सहरी क्षेत्रमा सटरहरु खाली हुने क्रम बढिरहेको छ । यसले उनलाई चिन्तित बनाएको छ ।

‘अन्तराष्ट्रिय अभ्यास के हुन्छ भने बजारमा माग नभएर अर्थतन्त्र संकुचनतर्फ जान थाल्यो भने माग बढाउने नीतिहरु अपनाइन्छ, हाम्रोमा उल्टै बजारमा माग नै नहोस् भन्ने नीति लिइयो, यो गलत छ’ उनले आगामी योजनाबारे बिजपाटीसँग भने, ‘बजारमा तरलताको व्यवस्थापन गर्दै माग बढाउने नीति चाहिएको छ, अब महासंघले यसका लागि तीव्र रुपमा लविङ गर्छ । बजारमा माग सिर्जना हुने पोलीसीहरु आउनुपर्छ भन्नेमा लभिङ गर्छौ । रि–फाइनान्सिङ, रि–स्टकचरिङका मुद्दाहरु पनि हाम्रा प्राथमिकतामा छन् ।’

यति भन्दै गर्दा विधानतः कार्यकारी पद अध्यक्ष नै हो भन्नेमा पनि अञ्जन जानकार नहुने कुरा भएन । त्यसैले त उनी भन्छन्, ‘नीतिगत सुधारमार्फत अर्थतन्त्र लयमा ल्याउने नै मुख्य कार्यभार हाम्रो कार्यसमितिको हो, यो भन्दै गर्दा विधानतः कार्यकारी पद अध्यक्ष नै हो । अध्यक्ष र सदस्यहरुबीच निरन्तर सम्बाद र समस्या समाधानमा केन्द्रित रहन बरिष्ठ उपाध्यक्षका हैसियतले म पुलको काम गर्छु ।’ 

स्मरण रहोस्, अञ्जनले हाँकिरहेको लक्ष्मी ग्रुपले हाल ३२ सय जनालाई रोजगारी दिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved