मन्दीको मारमाथि अघोषित लोडसेडिङले सडकमा आए पूर्वका उद्योगी, कुलमानले मागे १५ दिनको समय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2023 | 03:05:47 PM मा प्रकाशित

laxmi  sunrise bank

औद्योगिक करिडोर क्षेत्रका उद्योगहरुमा बिजुली आपुर्तिको समस्या बल्झिएको छ । हरेक दिन दैनिक ७/८ घण्टासम्म अघोषित लोडसेडिङ हुन थालेपछि मोरङको विराटनगरका उद्योगीहरु मारमा परेका छन् ।

विद्युत प्राधिकरणको अघोषित लोडसेडिङको विरोधमा आइतबारबाट पूर्वका उद्योगहरु सडकमै उत्रिए। मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले औद्योगिक क्षेत्रमा अहिले ८ देखि १२ घन्टासम्म लोडसेडिङ भइरहेको बताए । उनले आफूहरुका समस्या समाधान नभएपछि बाध्य भएर सडकमा आउनु परेको उल्लेख गरे । उनका अनुसार नेपाल विद्यतु प्राधिकरणले औद्योगिक करिडोरमा एक महिनादेखि बिजुली कटौती गर्दै आएको छ ।

अध्यक्ष रिजालले बत्ती नआउने समयको तालिका माग गर्दा पनि प्राधिकरणले नसुनेको बरु उल्टै लोडसेडिङ होइन भन्दै मिडियाबाजी गरिरहेको आरोप पनि लगाएका छन् । 'बत्ती आउने र नआउने समयको तालिका दिए बत्ती नआउने समयमा मजदुरलाई छुट्टी दिएर मेशिन बन्द गर्न सकिन्थ्यो', उनले भने, 'अहिले पूर्वसूचना तथा जानकारी बिना झ्याप्प-झ्याप्प बिजुली काटिँदा मेशिन, औजार, घान हालेको कच्चा पदार्थ बिग्रने गरेको, उत्पादन घटेको र लागत बढेको छ।'

उद्योगीहरुले पौष महिनादेखि नै औद्योगिक क्षेत्रहरुमा नियमित बिजुली नआएको बताएका छन् । अहिले कतिपय उद्योगहरुले डिजेल प्रयोग गर्न थालिसकेका छन् । जसका कारण उत्पादन लागत ह्वात्तै बढेको छ । 

समस्या समाधान हुन्छ, लोडसेडिङ होइन

विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले पूर्वी क्षेत्रमा विद्युत आपूर्ति प्रणालीमा केही समस्या आएकाले दैनिक एकाध घण्टा बिजुली काटिएको स्वीकार गरेका छन् । उनले अहिले समस्या समाधानको पहल भइरहेको र लोडसेडिङ सुरु भयो भन्न नमिल्ने बताएका छन् । 

उनका अनुसार भारतबाट आयात गरिएको बिजुली पनि पूर्व र पश्चिम दुबैतिर पठाउन प्रसारण लाइन नै जम्मा १३२ केभिएको मात्र छ । यसले गर्दा विभिन्न ठाउँमा ब्रेकर पड्किएका छन् भने ट्रान्समिसन लाइन चुँडिएका छन् । गर्मी सुरु भएसँगै तराइमा बिजुलीको माग पनि ह्वात्तै बढेको छ । मागअनुसार उपभोक्तालाई बिजुली पुयाउनै कठिन भइरहेकाले यो बिजुली पनि औद्योगिक क्षेत्रमा बाँड्न सकिएको छैन । 

अर्कोतर्फ, यसपाली वैशाख सुरु हुँदाका बखत नै आन्तरिक उत्पादन गत वर्षभन्दा घटेको छ । गत वर्ष यो समयमा ११ सय मेगावाट बिजुली उत्पादन भएकोमा यसपाली अहिले दैनिक ८ सय मेगावाटको हाराहारीमा मात्रै बिजुली उत्पादन भइरहेकाले पनि समस्या देखिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि अहिले देखिएको समस्या समाधान हुन १५ दिन लाग्ने बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved