महासंघको नयाँ टिमलाई इम्सनको बधाई, सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 02:27:27 PM मा प्रकाशित

laxmi  sunrise bank

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष, पदाधिकारी र  कार्यकारिणी समिति सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ । २२ वटा आर्थिक मिडियाहरु सदस्य रहेको इकोनिमिक मिडिया सोसाइटीले महासंघको नयाँ टिमलाई बधाई दिँदै संस्थागत सहकार्यको प्रस्ताव पनि गरेको छ । 

इम्सनद्वारा आयोजित सम्मान तथा बधाई कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसीसहित कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष ढकालले आफू अध्यक्ष भएसँगै महासंघले ५ वटा मुद्दालाई अगाडी बढाइरहेको बताएका छन् । अहिलेको आर्थिक मन्दीबाट कसरी बाहिर निष्किएर पुरानो लयमा फर्किने भनेर राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग समन्वय गर्दै अगाडी बढ्ने कामको सुरुवात भएको पनि उनले बताएका छन् । 

सरकार र व्यवसायीबीच हुँदै आएको आरोप–प्रत्यारोपलाई कमि गर्नेतर्फ महासंघ अगाडी बढ्ने अध्यक्ष ढकालको प्रतिवद्धता थियो । 

नेपालमा हरेक वर्ष ५ लाख जनशक्ति तयार हुने तर ति सबै अदक्ष जनशक्ति भएकाले विदेशबाट दक्ष जनशक्ति ल्याउनुपर्ने बाध्यता रहेको भन्दै अध्यक्ष ढकालले दक्ष जनशक्ति उत्पादनमा महासंघले पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । नेपालको अर्थतन्त्रमा ८० प्रतिशत योगदान रहेको निजी क्षेत्रलाई करदाताको रुपमा सम्मान गर्ने वातावरण बनाउन महासंघले पहल गर्ने उनको भनाई छ । 

राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत पुनरकर्जा तथा पुनर्तालिकिकरणका क्रममा एकै पटक कल व्याक नगर्न सुझाव दिए । मौद्रिक नीतिबाट महासंघका केहि मागहरु सम्बोधन भएको तर अब आगामी बजेटबाट आफूहरुका अधिकांश एजेण्डा सम्बोधन हुनेमा आशावादी रहेको उनको भनाई थियो ।

महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले लथालिङ्ग अर्थतन्त्रलाई सम्हाल्ने अभियानमा आर्थिक  मिडियाहरुले महासंघलाई साथ दिनुपर्ने बताए । सरकारले ७ खर्ब राजस्व संकलन गर्दा ११ खर्ब रुपैयाँ खर्च भइसकेको भन्दै उनले यहीँ अवस्था लामो समयसम्म रहिरह्यो भने नेपालले विदेशबाट ऋण ल्याएर कर्मचारीको तलब भत्ता खुवाउनुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे । 

कार्यक्रममा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक सञ्चार माध्यमले व्यवसायीको आवाजलाई सरकार समक्ष पुर्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । व्यवसायीहरुलाई सञ्चार माध्यमबाट टाढिने भन्दा पनि सूचना उपलब्ध गराएर सहकार्य गर्न उनले अनुरोध गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved