संचालकले शेयर बेच्न नपाउने व्यवस्थाप्रति चेम्बरले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2023 | 03:53:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शले संचालकहरुले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था प्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ।  सिंहदरवारमा अर्थमन्त्री डा.महतलाई आईतबार ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले यो व्यवस्था अव्यवहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको छ ।

 चेम्बरद्धारा अर्थन्त्री डा महतलाई बुझाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ धितोपत्र बोर्डबाट जारी भएको सूचिकृत एवं संगठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित “कुनै व्यक्ति संचालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक बर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने” व्यवस्था व्यवसाय अनुकुल छैन, । ’

कुनैपनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितीमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरले जनाएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउनका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । बोर्डको निर्णयले व्यवसायीहरुलाई मर्कामा पार्ने अध्यक्ष मल्लको भनाई छ ।

सञ्चालकले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी जुनसुकै समय बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले अग्रह गरेको छ । बोर्डले गरेको व्यवस्था भारत लगायत अन्य कुनै पनि राष्ट्रमा प्रचलनमा नरहेको अध्यक्ष मल्लको भनाई छ ।

आफुसंग भएको सेयरको कम्तिमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराएको छ । चेम्बरको ध्यानकर्षण पत्र बुझ्दै अर्थमन्त्री डा. महतले चेम्बरले गराएको ध्यानाकर्षण प्रति  आफु सकारात्मक रहेको बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved