निर्माण व्यवसायीद्वारा सिठ्ठी फुकेर सरकारको ध्यानाकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2023 | 07:37:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको अन्दोलन सोमबारबाट शुरु भएको छ । जस अनुसार निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर महासंघ सचिवालयदेखि संसद भवन अगाडि सम्म सिठ्ठी जुलुश गरेका थिए ।

महासंघका अध्यक्ष रवि सिंह नेतृत्वमा रहेको सोही जुलुश बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोण सभामा बदलिएको थियो । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले  व्यवसायीहरूको रकम तत्काल भुक्तान गर्न सरकारसँग माग गरे । निर्माण व्यवसायीहरूको रकम भुक्तान हुनुपर्ने विषयमा आफूले संसदमै कुरा उठाइसकेको स्मरण गराउँदै शाहीले अब अर्थ समितिमा पनि यो विषय प्राथमिकता सहित उठान गर्ने प्रतिबद्धता जनाए ।

‘सरकारले काम लगाएपछि रकम भुक्तानी गर्नैपर्छ, आफ्नो अधिकार पाउनका लागि निर्माण व्यवसायीहरू सडकमै ओर्लनु राज्यकै कमजोरी हो’ शाहीले भने । निर्माण उद्योगमा धेरै समस्याहरू रहेको स्विकार गर्दै शाहीले त्यस्ता समस्या समाधानका लागि सार्वजनिक खरिद ऐनमै संशोधन आवश्यक रहेको बताए । मुलुकको कर्मचारीतन्त्रका कारण पनि निर्माण व्यवसायीहरू मारमा परेको उनको भनाइ थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन शुरु गर्नुपरेको बताए । म्याद थप मात्र समस्याको समाधान होइन भन्दै अध्यक्ष सिंहले म्याद थपसँगै भुक्तानीको व्यवस्था नहुँदा निर्माण उद्योगको समस्या जटिल हुँदै गएको धारणा राखे ।

महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताए । महासंघका प्रवक्ता समेत रहेका नितिगत उपमहासचिव शिवहरि घिमिरेले सोमबारको विरोध कार्यक्रमलाई आगामी शुक्रवारसम्म निरन्तरता दिइने जानकारी दिए । घिमिरेले शुक्रवारसम्म पनि माग पूरा नभए साउन २८ बाट तेस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरिने बताए ।

साउन २८ सोमबारदेखि अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरू अनिश्चितकालका लागि बन्द गर्ने महासंघले जनाएको छ । त्यस्तै विकासे विभागहरूमा पालैपालो विहान १० बजेदेखि ११ बजेसम्म धर्ना तथा तालाबन्दी गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ । तेस्रो चरणकै कार्यक्रम अन्र्तगत महासंघले निर्माण विज्ञहरूबीच प्रत्यक्ष सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्नेछ । आफ्ना मागहरू पूरा नभए थानकोट तथा भक्तपुरको साँगा नाकामा आलोपालो गरी दैनिक एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।

महासंघको जारी आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका नीजि क्षेत्रका विभिन्न संघ संस्थाहरूले ऐक्वद्धता जनाइसकेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved