आइतवारदेखि तेस्रो चरणको निर्णायक आन्दोलन गर्दै निर्माण व्यवसायी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2023 | 07:47:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन शुक्रवार सम्पन्न भएको छ । साउन २२ बाट शुरु भएको दोस्रो चरणको आन्दोलन साउन २६ शुक्रवार सम्पन्न भएको महासंघले जनाएको छ ।

दोस्रो चरणको आन्दोलनमा राजधानीमा जम्मा भएका देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिठ्ठी जुलुश गरे । महासंघको निर्देशन बमोजिम ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुशमा सहभागी भएका हुन् ।

महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा शुक्रवार महासंघ सचिवालय अनामनगरबाट शुरु भएको जुलुश संसद् भवन नयाँ बानेश्वर अगाडि कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य गेल्जे लामा, कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष यमबहादुर बि.सी, निर्माण व्यवसायी संघ डोटीका अध्यक्ष घनश्याम पाठक, निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष निलकाजी गुरुङ लगायतले व्यवसायीहरूका जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

नयाँ बानेश्वरको कोण सभापछिको जुलुश माइतीघर मण्डलामा पुगेर पुन सभामा बदलिएको थियो । सभालाई सम्बोधन गर्दै संघीय सांसद तथा माओवादी केन्द्रका नेता सूर्यमान दोङ (लालध्वज) ले निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । नेपाल ईटा उद्योग महासंघका अध्यक्ष शंकरबहादुर चन्दले निर्माण उद्योगमा असर पर्दा सबै निर्माण सामग्री उत्पादक कम्पनीमा असर परेको बताउँदै महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाए ।

महासंघका अध्यक्ष रवि सिंहले दोस्रो चरणको आन्दोलन सकिँदा समेत व्यवसायीहरूको माग पूरा गर्न राज्य उदासीन भएकाले आइतबारबाट तेस्रो चरणमा निर्णायक आन्दोलन गर्ने चेतावनी दिए । तेस्रो चरणको आन्दोलन अन्र्तगत महासंघले आइतवार सडक विभाग र सिचाई विभागमा ताला लगाई धर्ना दिने भएको छ ।

व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved