
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले आफूलाई सरकारको कान छ जस्तै नलाग्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको वार्षिक साधारणसभामा बोल्दै उनले पटकपटक निजी क्षेत्रका तर्फबाट आवाज उठाउँदा र समग्र अर्थतन्त्र सुधारका लागि माग राख्दा पनि सरकारले बेवास्ता गरिरहेको बताएका हुन् ।
‘जति कराए पनि कोही सुन्नेवाला छैन, मलाई सरकारको कान छ जस्तै लाग्दैन’ पूर्व उपाध्यक्ष श्रेष्ठले भने, ‘देशको बर्बादी छ तर, बर्बादी भयो भनेर प्रधानमन्त्री, मन्त्रीलाई केही गरिदिनुहोस् न भनेर भेट्न जाँदा आश्वासन मात्रै दिने काम हुन्छ । हरेक पटक जाँदा आश्वासन मात्रै पाइरहेका छौँ ।’
उनले नेपाल उद्योगी व्यवसायीलाई चोर भन्ने देश भएकाले यहाँ उद्योग व्यवसाय गर्ने बेला भइनसकेको भन्दै ब्यङ्ग्य पनि गरे ।
‘नेपाल व्यापारीलाई चोर भन्ने हो, उद्योगीलाई चोर भन्ने देश हो, जुन देश उद्योगी व्यवसायीको ८० प्रतिशत पैसाले चलेको छ, त्यहीँ देशमा उद्योगी व्यवसायीलाई हेर्ने नजर यस्तो छ’ उनले भने, ‘ल नेता त बुझेका, पढेका भएनन् रे मैले मानेँ तर, सचिव भनेको त धुरन्धुर जान्ने मान्छे हुने हो भन्ने सुनिन्छ, तर उहाँहरुबाट पनि देशको लागि केही योगदान नहुने हो त ?’