घरजग्गा र सेयर कारोबार ठप्प पारिदिएपछि कसरी ऋण तिर्ने ?: उपाध्यक्ष वैद्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 04:51:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले घरजग्गा र सेयर कारोबार ठप्प पारेर राष्ट्र बैंकले बैंकको ऋण तिर्नु भनेर चेप्ने काम गरेको गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको वार्षिक साधारणसभामा बोल्दै उनले घरजग्गा र सेयर बजारमा गरेको लगानी उठ्न नदिएर आम्दानी नै रोकेर बैंकको ऋण बुझाउनु भन्दा पैसा तिर्न नसकेर उद्योगी व्यवसायीहरु कालोसूचीमा परिरहेको बताएका हुन् ।

‘घरजग्गा र सेयर बजारमा ठूलो लगानी छ, तर राष्ट्र बैंकले सेयर कारोबार र घरजग्गा कारोबार ठप्प पारेर बैंकको पैसा तिर भनियो, आम्दानी नै नभएपछि कहाँबाट ल्याएर तिर्ने ?’ उनले प्रश्न गर्दै भने, ‘लगानीकर्ताले सेयर बजारमा १५ खर्ब बढी लगानी गुमाइसके, घरजग्गाको हालत पनि उस्तै छ । सेयरबाट कमाए भनेर भन्नु भन्दा त्यहाँबाट कमाएको पैसा उद्योग व्यवसायमा लगानी गरेको किन हेरिँदैन ?’

उनले अर्थतन्त्र चलायमान बनाउने सेयर बजार र घरजग्गा कारोबारलाई अनुत्पादक क्षेत्र भनेर यी क्षेत्रमा हुने लगानीलाई हतोत्साही बनाउने काम गलत भएको बताए ।

उपाध्यक्ष वैद्यले ४० प्रतिशत उद्योग व्यवसाय बन्द नै भएको र चलेका उद्योग पनि क्षमताको ३० प्रतिशतमा मात्रै चलेको महासंघको अध्ययनले देखाएको बताए । यी सबैको पछाडी ब्याजदर नै प्रमुख कारणका रुपमा रहेको र अहिले बैंकहरुले आफ्नो निक्षेप जोगाउनकै लागि ब्याजदर बढाइरहेको उनको आरोप छ ।

‘हिजो पैसा नभएर ब्याजदर बढ्यो भनियो, अहिले बैंकमा तरलता पर्याप्त छ, अहिले ब्याज बढ्ने कुनै कारण छैन’ उनले भने, ‘तर, बैंकहरु आफूसँग भएको निक्षेप अन्यत्र जाने डरले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन्, यो रोक्नुपर्छ ।’

फरक प्रसंगमा उपाध्यक्ष वैद्यले अहिले आन्तरिक राजस्व विभागले २ हजार कम्पनीको फाइल खोल्न लागेको भन्ने खालका समाचारहरु आइरहेको भन्दै यसले उद्योगी व्यवसायीमा त्रास पैदा गरेको पनि गुनासो गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved