नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकको बुधबार भएको सेयर कारोबार राफसाफ नगर्न निर्देशन दिएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवाह गरेको लाभांश सम्बन्धी सूचनाले लगानीकर्ता मारमा परेकाले सो दिनको सेयर कारोबार राफसाफ गर्न सिडिएस एण्ड क्लियरिङलाई निर्देशन दिइएको धितोपत्र बोर्डले जनाएको छ।
भदौ गते २१ बुधबार एक दिनको कारोबार राफसाफ नगर्न सिडिएसीलाई पत्रचार गरिएको छ। धितोपत्र बोर्डको निर्देशन अनुसार नै ब्रोकरहरुलाई बुधबारको सेयर कारोबार राफसाफ नगर्न जानकारी गराइएको सिडिएसीका प्रमुख कार्यकारी अधिकृत देव प्रकास गुप्ताले बताएका छन। बुधबार ७ करोड रुपैयाँ बराबरको ९१ हजार २४७ कित्ता सेयर किनबेच भएको छ।
अघि बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंक बिरुद्दको कारबाही प्रक्रिया, के होला अब ?
बोर्डको अर्को निर्णय नआउँदा सम्म बुधबारको सेयर कारोबार राफसाफ नहुने भएको छ। बोर्डले बैंकसंग बुधबार नै तीन दिन भित्र स्पष्टीकरणको माग गर्दै पत्राचार गरेको छ। बोर्डले बैंकलाई दिएको समयअवधि आइतबार सकिदै छ। बैंकको जवाफ पश्चात नै कारबाही तय हुने बोर्डका सह प्रवक्ता निरंजय घिमिरेले बताएका छन।
भदौ २१ गते बुधबार बैंकले बजार खुले लगत्तै लाभांश सम्बन्धि सूचना नेपाल स्टक एक्सचेन्ज मार्फत सार्वजनिक गरेको थियो। बैंकद्वारा जारी लाभांश सम्बन्धि सूचनामा बैंकले २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने उल्लेख थियो । तर त्यसको करिब आधा घण्टा पछी बैकले 'टाइप मिस्टेक' भएको भन्दै उक्त सूचना सच्याएर २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिने निर्णय भएको जानकारी गराएको थियो।
बैंकद्वारा जारी पहिलो सूचनाका कारण बैंकको सेयर प्रति कित्ता ६० रुपैयाँसम्मले बढेको थियो। उच्च दरले लाभांश पाउने आशामा 'बढेको' मुल्यमा सेयर उठाउने लगानीकर्तालाई बैकको दोस्रो सूचनाले 'घात' गरेको छ। यसबाट लगानीकर्ताको लगानी फसेको छ भने पुंजीबजारमा गलत अभ्यास बस्ने 'खतरा' बढेको छ।
विभिन्न संघ संस्थामा आबद्द सेयर लगानीकर्ता तथा सेयर बिज्ञहरुले बैंकद्वारा भएको यस प्रकारको गम्भीर गल्तिले लगानीकर्ता मारमा परेकाले उनीहरुलाई क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन भने केहि लगानीकर्ताले बैंकको सेयर कारोबार रद्ध गरिनुपर्ने समेतको माग गरेका छन।