नेपाल टेलिकमले साधारणसभा प्रयोजनार्थ पुर्व घोसित बुक क्लोज मिति परिवर्तन गर्दा लगानीकर्ताले लाखौँ रुपैयाँ गुमाएका छन। बुक क्लोज हुने मितिभन्दा एक हप्ताअघि नै सूचना प्रकाशित गर्नु पर्ने प्राबधान अनुसार टेलिकमले पुर्व घोसित बुक क्लोज मिति परिवर्तन गर्दा लगानीकर्ताले नोक्सानी बेहोर्नु परेको हो।
टेलिकमले यस अघि पुष १२ देखि पुष ३० सम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकोमा त्यसलाई परिवर्तन गरी पुस १६ गतेदेखि ३० गतेसम्म कायम भएको सूचना १५ मिनेट ढिलो गरि नेप्सेको आधिकारिक वेबसाइटमा सार्वजनिक हुँदा लगानीकर्ता मारमा परेका हुन।
पुष ११ गतेको मिति राखेर टेलिकमले पठाएको पत्र नेप्सेले कारोबार सुरु हुनु पुर्व नै प्राप्त गरेको थियो। तर नेप्सेले १५ मिनेट ढिलोगरि उक्त सूचना सार्वजनिक गर्दा सस्तोमा टेलिकमको शेयर बेच्नेले गुमाए। पुर्व घोसित मितिलाई नै आधार मानेर लगानीकर्ताले सस्तोमा शेयर बिक्रि गर्दा उनीहरुले नोक्सानी बेहोर्नु परेको हो।
टेलिकमले गत आर्थिक बर्षको कमाईबाट दिने भनेको ५५ रुपैयाँ नगद लाभांश बुक गर्दै धेरै लगानीकर्ताले प्रतिकित्ता ८११ रुपैयाँ सम्ममा टेलिकमको शेयर बिक्रि गरेका थिए। तर सस्तोमा बिक्रि गर्नेहरु १५ मिनेटमा नै नेप्सेको एउटा सूचनाले लाखौँ नोक्सानी बेहोर्न बाध्य भएका छन।
'बुक क्लोज हुने मितिभन्दा एक हप्ताअघि नै सूचना प्रकाशित गर्नु पर्ने प्राबधान अनुसार टेलिकमले सच्याएर पठाएको नयाँ बुक क्लोज मिति सार्वजनिक गर्ने केहि मिनेट ढिलो भएको हो' नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने, 'प्राविधिक कारणले सूचना प्रकाशनमा ढिलाई हुँदा नगद लाभांश बुक भएको भनेर केहि सस्तोमा टेलिकमको सेयर बेच्नेहरुलाई नोक्सानी भएको प्रति हामीले दुखि छौँ, टेलिकमको सेयर बेचेर नोक्सान भयो भन्दै पीडित आए भने त्यसको सुनुवाई हुन्छ। '
नेप्सेको सूचनाकै कारण नोक्सानी बेहोरेका लगानीकर्ताले क्षतिपूर्तिको दाबि गर्दै नेप्सेमा निबेदन दिएमा त्यसको सुनुवाई हुने प्रवक्ता पराजुलीले स्पष्ट पारेका छन।
कम्पनीले ५५ प्रतिशत नगद लाभांश प्रस्ताब सहित पुष ३० गतेका लागि साधारणसभा डाकेको छ। टेलिकमले साधारणसभा प्रयोजनका लागि पुस १६ गतेदेखि ३० गतेसम्म बुक क्लोज मिति तय गरेको गरेको छ ।
अब पुष १५ सम्म कायम शेयरधनीहरुले साधारणसभामा सहभागी हुन र ५५ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन। त्रिभुवन आर्मी क्लब, काठमाडौंमा बिहान १० बजे साधारणसभा डाकिएको छ। कम्पनीले गत आर्थिक बर्ष १५ अर्ब १ करोड खुद मुनाफा गरेको छ।