नेपाल बैंक लिमिटेडले निष्काशन गरेको एफपिओमा आवेदन दिने आज साउन १३ गते अन्तिम दिन रहेको छ । बैंकले असार १५ गतेदेखि एफपिओ निष्काशन गरेको हो । बैंकले प्रिमियम मूल्यमा एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ बिक्रि खुला गरेको हो । बैंकले प्रति कित्ता १ सय अंकित मूल्यमा १ सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा एफपिओ निष्काशन गरेको हो ।
बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार एफपिओमा साउन ११ गते दिउँसोसम्म २४ लाख ५१ हजार कित्ताको लागि आवेदन परेको छ ।
यो कुल निष्काशन कित्ताको १४ प्रतिशत भन्दा पनि कम हो । आज अन्तिम दिनमा ८६ प्रतिशत भन्दा बढीको लागि आवेदन पर्ने सम्भावना न्यून छ । यद्यपि ठुला र संस्थागत लगानीकर्ताले आज अन्तिम दिनमा आवेदन गर्न सक्ने सनुमन गरिएको छ ।
लगानीकर्ताले न्युनतम ५० कित्ता तथा १० ले भाग जाने गरी विद्यमान कानुनी ब्यबस्थाको सिमा भित्र रहने गरी अधिकतम निष्काशन गरिने सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् । साथै निष्काशन खुला गरिएको पहिलो दिन देखि नै संगठित संस्थालाई समेत आवेदन खुला गरिएको छ ।
लगानीकर्ताले मेरो शेयर मार्फत अनलाइन बाट वा सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।
राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गरेको हो । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ । हाल बैंकमा सरकारको सेयर स्वामित्व ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ ।
एफपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।