नेपाल धितोपत्र बोर्डले सिद्धार्थ क्यापिटललाई प्रष्टीकरण सोधेको छ । क्यापिटल योजना ब्यबस्थापक रही संचालनमा आएको सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम नामक म्युचल फण्डको रकम फिर्ता गर्दा क्यापिटलले लापरवाही गरेको गुनासो आएपछि बोर्डले क्यापिटललाई प्रष्टीकरण सोधेको हो ।
बोर्डका प्रबक्ता निरज गिरिले सोमबार क्यापिटललाई पत्र पठाईएको पुष्टि गरे । उनले भने 'यस विषय के कसो भएको हो, ३ दिन भित्र जवाफ दिन आज पत्राचार गरेका छौ, जवाफ आएपछि थप प्रक्रिया अगाडी बढ्ने छन्' । यद्यपि उनले यसलाई स्पष्टीकरण भन्न नमिल्ने र जानकारी मात्र माग गरिएको जिकिर गरे ।
क्यापिटल स्वयंले भने गल्ति स्वीकार गर्दै माफी मागी सकेको छ । क्यापिटलले आफ्नो म्युचल फण्ड परिपक्क भएपछि रकम फिर्ताको क्रममा त्रुटी भएको स्वीकार गर्दै क्षमा याचना गरेको हो । क्यापिटलले रकम फिर्ता गर्दा प्राविधिक तथा मानवीय त्रुटीको कारणले केहि इकाईधनीको खातामा बढी र केहिको कम रकम गएको स्वीकार गरेको हो ।
क्यापिटलले दशैँ अगाडी नै लगानीकर्ताले रकम पाउन भन्ने उदेश्यले असोज १६ गतेदेखि रकम पठाईएको जनाएको छ । तर क्यापिटलले त्रुटी भएको भन्दै बढी रकम गएको लगानीकर्ताको खाताबाट रकम फिर्ता समेत लिएको थियो । त्रुटी सच्च्याउन रकम फिर्ता लिईएको र विदाको कारण फेरी रकम जम्मा गर्न नसकिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलले आज सोमबार साँझ सम्म सबै इकाईधनीको खातामा त्रुटी सच्चाई जति रकम पाउनु पर्ने हो त्यति रकम पठाई सक्ने प्रष्ट पारेको छ । यस अघि घोषणा भएको लाभांश नलिएका इकाईधनीलाई लाभांश समेत गरि रकम पठाईएकोले केहीको खातामा कम र केहीको खातामा बढी रकम गएको समेत क्यापिटलले प्रष्ट पारेको छ । आफुले पाउनु पर्ने रकम क्यापिटलको वेबसाइटमा आज सोमबार साँझबाट हेर्न सकिने ब्यबस्था मिलाइने क्यापिटलले जनाएको छ । क्यापिटलले अन्तिम कायम प्रति इकाई खुद सम्पति मूल्य ११.४९७१५९४८४६ मा कानुन बमोजिम कर कट्टा गरी बाँकि रकम पठाईने जनाएको छ ।
तर लगानीकर्ताले भने क्यापिटलले कुनै कानुन अनुसार खातामा पठाईसकिएको पैसा खातावालाको स्वीकृति बिना फिर्ता लगियो भन्दै गम्भीर प्रश्न उठाउदै आएका छन् ।