कति सम्भव छ सेयर कारोबारको समय दैनिक १ घन्टा बढाउँन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 06, 2020 | 11:34:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले शेयरबजारको कारोबारको अवधि बढाउँनको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेको राय माग गरेसँगै यसको आवश्यकता र सम्भाव्यताबारे बहस सुरु भएको छ । बोर्डले कारोबार अवधिलाई बढाएर बिहान १०:३० देखि ३:३० सम्म कायम गर्दा उपयुक्त हुन्छ कि हुँदैन भनी नेप्सेको राय सुझाव माग गरेको थियो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले नेप्सेलाई समय अवधि बढाउँन कुनै समस्या नरहेको बताउँछन् । उनले तत्काल नै अवधि बढाएर कारोबार गर्न नेप्से तयार रहेको भएपनि यस विषयमा सरोकारवालासँग छलफल गरेरमात्र बोर्डलाई पठाईने बताए । उनले ब्रोकर, सिडीएस, निक्षेप सदस्य (डिपी) र लगानीकर्तासँग छलफल गरेर मात्र अगाडी बढ्ने बताएका छन् । 

नेप्सेलाई कति सहज  ?

सीइओ साउदले तत्काल नै कारोबार अवधि बढाउँन सकिने बताए पनि त्यसको लागि नेप्सेले ब्यबस्थापकिय कार्य गर्नु पर्ने देखिन्छ । नेप्से स्रोत भन्छ ‘कारोवार अवधि बढाउन मुख्य रुपमा ईओडि र बिओडिको सिस्टम संचालनको विषय हेर्नु पर्छ ।’ ईओडि भनेको इन्ड अफ डे को सिस्टम चलाउने हो । जस अन्तर्गत नेप्सेले कारोबार सकिएपछि दिनभरिको कारोबार सेटलमेन्टको लागि फाइल बनाएर सिडीएसलाई पठाऊछ । त्यस्तै बिओडि भनेको ‘बिगीनिंग अफ डेुको सिस्टम चलाउने हो, जुन हरेक दिन कारोबार सुरु गर्नु भन्दा अगाडी चलाउनु पर्छ ।’  

ईओडिको सिस्टम चलाएर काम पुरा गर्न १ घण्टादेखि डेढ घण्टासम्म समय लाग्ने नेप्से स्रोत बताउछ ।  यदि कारोबार सुरु हुने समय अवधि १०:३० बजे कायम गर्ने हो भने कम्तिमा पनि १ देखि डेढ घण्टा अगाडी सिस्टम चलाउन कार्यालय पुग्नु पर्ने छ । अर्थात् सिस्टम चलाउने कर्मचारी नियमित सरकारी कार्यालय समय भन्दा १ देखि डेढ घण्टा अगाडी नै कार्यालय समय पुग्ने पर्ने हुन्छ ।  यसको लागि सोहि अनुसार नेप्सेले कर्मचारी ब्यबस्थापन गर्नु पर्ने देखिन्छ । 

त्यस्तै  ईओडिको सिस्टम चलाउन लाग्ने समय भने त्यो दिन भएको कारोबार अनुसार फरक हुने नेप्सेले जनाएको छ । कारोबार समय थप भएपछि कारोबार पनि धेरै हुने भएकोले सिस्टम चलाएर काम पुरा गर्न अहिले भन्दा बढी समय नै लाग्ने देखिन्छ । कर्मचारी पनि सोहि अनुसार ब्यबस्थापन गर्नु पर्ने देखिन्छ ।  

यी बाहेक कारोबारसँग प्रत्यक्ष जोडिएका कर्मचारीको काम पनि केहि बढ्ने देखिन्छ । सिस्टमको सवालमा भने ११ बजेदेखि ३ बजेसम्म तोकिएको समयलाई समय परिवर्तन मात्र हुने भएकोले त्यसले फरक नपार्ने नेप्से बताउछ । 

ब्रोकरले लिने कमिशनको २० प्रतिशत नेप्सेलाई आउने भएकोले कारोबार अवधि बढाउँदा कारोबार रकम पनि बढ्ने र नेप्सेको आम्दानी पनि बढ्ने देखिन्छ । 

ब्रोकरलाई कति सहज ?

कारोबार अवधि थप हुँदा धेरै लोड भने ब्रोकरलाइ नै हुने देखिन्छ । उनीहरुले पनि नयाँ कारोबार समय अनुसार नै कर्मचारी ब्यबस्थापन गर्नु पर्ने हुन्छ । कर्मचारी व्यवस्थापन मात्र नभई ब्रोकरहरुलाई भने कर्मचारी थप नै गर्नु पर्ने अवस्था आउँन सक्छ । 

अहिले पनि ब्रोकरहरुले लगानीकर्ताले तिर्नु पर्ने पुँजीगत लाभकरको इन्ट्री ब्रोकरहरुले म्यानुअली गर्दै आएका छन् । त्यस्तै शेयर राफसाफका कतिपय काम अझै पनि कम्पुटराइज्ड हुन् सकेको छैन । धेरै कारोबार हुँदा ब्रोकर हाउसमा  राति अबेरसम्म पनि डाटा इन्ट्री गरिरहेको भेट्न सकिन्छ । यस्तो अवस्थामा कारोबार अवधि थप हुँदा कारोबार रकम बढ्ने र त्यहि अनुसार ब्रोकरको लोड पनि बढ्ने देखिन्छ ।

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट कारोबार अवधि थपिए आफुहरु कर्मचारी थपेर  केहि बढी काम गर्ने योजनामा रहेकोले त्यसको लागि तयार रहेको बताउछन् । उनी भन्छन् ‘केहि लोड लिन्छौ, स्टाफ थप्छौ, लग इन बढाउछौ’ । २०/२५ करोडको कारोबार पनि आफुहरुले गरेको र अहिले कारोबार रकमले रेकर्ड ब्रेक गर्दा पनि धानेकैले समस्या नहुने उनी बताउछन् । अटोमेटिक लाभकर इन्ट्रीको सिस्टम बन्ने क्रममा रहेको सिडीएसले जानकारी गराएकोले त्यो सिस्टम बुझे पनि सहज हुने उनी बताउछन् । 

कारोबार अवधि थप हुँदा कारोबार पनि बढ्ने र हरेक कारोबारबाट कमिशन आउने भएकोले पनि ब्रोकरहरु यसको लागि तयार देखिन्छन् । 

सिडीएसलाई कति सहज ?

कारोबार अवधि बढ्दा कारोबार रकम थप हुने र स्वाभाविक रुपमा राफसाफको लागि सिडीएसको लोड केहि बढ्ने देखिन्छ । तर अहिले हालको सिस्टममा केहि फिचर्स थप गर्ने कार्य भईरहेको र ति थप भएपछि केहि सहज हुने सिडीएसका प्रबक्ता सुरेश न्यौपाने बताउछन् । अहिले अटोमेटिक लाभकर इन्ट्रीको सिस्टम बनिरहेको र त्यो बनेपछि राफसाफ प्रक्रिया झन् सरल हुने उनको भनाई छ । सिडीएसको सिस्टमको भेन्डर भारतीय कम्पनी छ । सिस्टम बनेर काम गर्ने हुनको लागि समय लाग्ने देखिन्छ ।

के चाहन्छन् लगानीकर्ता ?

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार कारोबार समय अवधि बढाउनुलाई पनि बजार विकास र विस्तारको रुपमा लिनु पर्ने बताउछन् । कारोबार अवधि बढ्दा लगानीकर्तालाई समय खुकुलो हुने र आफ्नो अनुकुल समयमा लगानीकर्ताले कारोबार गर्न सक्ने भएकोले यो आवश्यक रहेको उनको भनाई छ । यसले  थप शेयर कारोबार हुने बजार कै विकास हुने उनी बताउछन् ।

तर नेप्से, सिडीएस र ब्रोकरको अहिलेको सिस्टमलाई सुधार गरेर मात्र कारोबार अवधि थप्नु पर्ने उनको माग छ । अहिले पनि कहिले नेप्सेको सिस्टममा समस्या आउने, कहिले ब्रोकरकोमा समस्या आउने, कहिले सिडीएसतर्फ समस्या आउने गरेकोले सिस्टमलाई अपग्रेड गर्नु पर्ने उनी बताउछन् । कारोबार अवधि थपिएपछि कारोबार रकम पनि बढ्ने र अहिले कै कारोबार धान्न नसकेको सिस्टमले थपिएको कारोबार झन् धान्न नसक्ने भएकोले सोहि अनुसारको बलियो पूर्वाधार चाहिने उनी बताउछन् । उनी भन्छन् ‘नेप्से, ब्रोकर र सिडीएसको प्रशासनिक सुधार, सिस्टम र पूर्वाधारमा सुधार गरेर मात्र अवधि थप्नु पर्छ, समय अवधि थप गरेपछि समस्या आयो भने राम्रो संदेश जादैन ।’

बैंकिङ तथा शेयर बजार विज्ञ डा. गोपाल भट्ट पनि कारोबार अवधि बढाउँदा  शेयरबजारको गहिराई बढ्ने भएकोले अवधि बढाउँदा समस्या नहुने बताउछन् । सुरुमा बानी नभएर थपिएको समयमा कारोबार नहुने वा कम कारोबार हुन सक्ने भएपनि बिस्तारै लयमा आउने उनी बताउछन् । अवधि थप गर्दा अहिलेको अवधिमा विविध कारणले कारोबार गर्न नसकेकाहरु थपिएको समयमा कारोबार गर्न आउँन सक्ने उनी बताउछन् । यसले बजारमा लगानीकर्ता पनि समेत थपिने उनको विश्वास छ । 

उता शेयरबजारबारे जानकार अधिवक्ता ज्योति दाहाल भने अहिले कारोबार अवधि बढाउँनु आवश्यक नरहेको दाबी गर्छन् । कारोबार अवधि ३ घण्टा हुँदा र ४ घण्टा पुर्याउदाको तुलानात्मक अध्ययन नगरी कारोबार  अवधि बढाउन नहुने उनको तर्क छ । 

उनी प्रश्न गर्दै भन्छन् ‘३ घण्टाबाट ४ घण्टा किन पुर्याईयो, त्यस समय अवधि बढाउँदा के असर देखियो, त्यसको अध्ययन किन भएँन ?’ अहिले पनि तुलनात्मक अध्ययन नगरी कारोबार अवधि बढाउँन नहुने उनको मत छ । कारोबार अवधि बढाउने विषय हलुका नभएकोले यसको आवश्यकता, औचित्य र यसले ल्याउन सक्ने सकारात्मक र नकारात्मक पाटोको अध्ययन गरेर मात्र निर्णय लिन उनको सुझाव छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved