
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले भदौ ३१ गते बुधबार मेरोशेयरको एप सार्वजनिक गर्ने भएको छ । सिडीएसले बुधबारबाट परिक्षणको लागि एप सार्वजनिक गर्ने तयारी गरेको हो ।
आन्तरिक परिक्षण सफल भएकोले अब सर्वसाधारणलाई नै परिक्षणको लागि एप सार्वजनिक गर्ने सिडीएसले तयारी गरेको हो। सिडीएसका प्रबक्ता सुरेश न्यौपानेले बुधबारबाट एनड्रोईड प्रयोगकर्ताको लागि एप ल्याउने बताए । त्यसको केहि समयपछि मात्र आईओएस प्रयोगकर्ताको लागि एप आउने उनको भनाई छ ।
उनका अनुसार एपमा अहिले मेरोशेयरमा रहेका सबै सुविधा हुने छ । एपबाट लगानीकर्ताले आफ्नो पोर्टफोलियो हेर्न, आईपिओ, हकप्रदमा आवेदन दिन, शेयर बिक्रिपछि डीआईएस ट्रान्सफर गर्न, शेयरको पछिल्लो मूल्य अनुसार पोर्टफोलियोको आकार हेर्न, भारित औसत लाभकरको विवरण प्रविष्ट गर्ने लगायतक सुविधा छन् । यी सबै सुविधा एपमा हुने छन् ।
हाल एकै पटक धेरै ट्राफिक बढ्दा मेरोशेयर नखुल्ने, ढिलो चल्ने, लगायतका समस्या देखिएकोमा एपमा भने ति समस्या धेरै हदसम्म कम हुने सिडीएसले जनाएको छ ।