ब्रोकरले आफ्नै टिएमएस संचालन गर्न सक्ने बाटो खुल्यो, यस्तो बन्यो कार्यविधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 02:09:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर कम्पनीहरुले अब आफ्नै कारोबार ब्यबस्थापन प्रणाली टिएमएस संचालन गर्न सक्ने भएका छन् । नेप्सेको संचालक समितिको बैठकले  'धितोपत्र कारोबार सचालन 'तेस्रो संशोधन' नियमावली २०७९' स्वीकृत गर्दै असार ५ गते देखि लागु हुने निर्णय गरेसंगै ब्रोकर कम्पनीहरुले अब आफ्नै कारोबार ब्यबस्थापन प्रणाली टिएमएस संचालन गर्न सक्ने भएका हुन् ।

नेप्सेले यस सम्बन्धि कार्यविधि पनि बनाएको छ । कार्यविधि अनुसार  ब्रोकरले नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) प्रयोग गर्न वा आफ्नै प्रणाली विकास वा खरीद गरी प्रयोग गर्नका लागि नेप्सेको प्रणालीसँग जडान गर्न विनियमावलीको विनियम २१(ग) बमोजिम विवरण खुलाई निवेदन दिनुपर्नेछ । हाल नेप्सेका टिएमएस प्रयोग गरिरहेका ब्रोकरले पनि ३० दिन भित्र नेप्सेमा आवेदन दिनु पर्ने छ ।

ब्रोकरले पेश गरेको सूचना प्रविधि सम्बन्धी पूर्वाधार तथा सो सम्बन्धी विवरण नेप्सेले तीस दिनभित्र निरीक्षण तथा चेकजाँच गर्नेछ । ब्रोकरले आफूसँग भएको प्राविधिक क्षमता, जनशक्तिको व्यवस्था, प्रणाली विकास वा खरीद परियोजनाको विस्तृत विवरण पेश गर्नु पर्दछ । 

निरीक्षण सम्पन्न भए पश्चात तथा नेप्सेले उपयुक्त देखेमा कारोवार सदस्यलाई एक महिनाभित्र प्रणाली खरीद वा विकास गर्न सैद्धान्तिक सहमतिको साथै प्रणाली जडान सम्बन्धी एपिआई डकुमेन्ट प्रदान गर्नेछ । आफ्नै प्रणाली विकास वा खरीद गरी प्रयोग गर्ने कारोबार सदस्य र उक्त प्रणाली विकास गर्ने वा उपलब्ध गराउने कम्पनी बीच सम्झौता गरी नेप्सेलाई जानकारी गराउनु पर्नेछ।

 आफ्नै कारोवार व्यवस्थापन प्रणाली खरीद वा विकास गरी कारोबार सञ्चालन गर्न चाहने ब्रोकरले प्रणाली विकास भइसके पश्चात वा खरीद गरिसकेपछि नेप्सेको प्रणालीमा जडान गर्नुपूर्व सो प्रणाली मान्यता प्राप्त तेस्रो पक्षबाट परीक्षण (अडिट) सम्पन्न गराउनुपर्नेछ ।  

 अडिट पश्चात उपयुक्त देखेमा नेप्सेले उक्त प्रणाली परीक्षणको रूपमा जडान गर्न एपीआई प्रदान गर्ने छ । एक कारोबार सदस्यका लागि प्रदान गरिएको एपिआई अर्को सदस्यले प्रयोग गर्न पाउने छैन । कम्तीमा एक महिनाको परीक्षण पश्चात प्रणालीमा कुनै समस्या नदेखिएमा उक्त प्रणाली नियमित सञ्चालनको अनुमति दिइने छ । ब्रोकरले जडान गरेको कारोवार व्यवस्थापन प्रणालीमा कुनै परिवर्तन गर्नु परेमा नेप्सेलाई अग्रिम जानकारी गराउनु पर्नेछ। त्यस्तै ब्रोकरले डाटा रिकभरी साइटको ब्यबस्थापन गर्नु पर्ने छ भने टिएमएसलाई अनलाइन भुक्तानी प्रणालीसँग आवद्दता गराउनु पर्ने छ। 

हाल ब्रोकरहरुले नेप्से कै भेन्डर कम्पनी वाईकोले तयार पारेको टिएमएस चलाउदै आएका छन् । अब भने ब्रोकरहरुले नेप्सेसँग अनुमति लिएर नेप्सेले तोकेको स्पेसीफिकेसन अनुरुपको टिएमएस संचालन गर्न सक्ने छन् । नेप्सेले ब्रोकरहरुले १ दिनमा कम्तिमा ५ लाख वटा कारोबार ब्यबस्थापन गर्न सक्ने टिएमएस निर्माण गर्नु पर्ने उल्लेख गरेको छ । 

ब्रोकरहरुले आफ्नै टिएमएस संचालनको लागि कानुनी ब्यबस्थाको माग गर्दै आएका थिए ।  'धितोपत्र कारोबार सचालन 'तेस्रो संशोधन' नियमावली २०७९' र कार्यविधि स्वीकृत भएसंगै अब ब्रोकरले आफ्नै टिएमएस संचालन गर्न सक्ने छन् । 

कार्यविधि हेर्न यहाँ क्लिक गर्नु होला ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved