वर्ष २०७९: निराशाजनक पूँजीबजारमा नियामकले जगाएको केही आशा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 14, 2023 | 11:35:19 AM मा प्रकाशित

laxmi  sunrise bank

विक्रम सम्बत २०७९ साल पूँजीबजारका लागि उत्साहप्रद रहेन । २०७९ सालमा शेयरबजार परिसूचक ‘नेप्से’ झन्डै २० प्रतिशतले घट्यो भने बजारका १३ समूहगत सूचाकमध्ये १२ वटामा गिरावट देखियो ।

२०७८ चैत्र ३० गते २४१५.२५ को विन्दुमा रहेको नेप्से सूचक २०७९ चैत्र ३० गतेसम्म पुग्दा १९.९१ प्रतिशतले घटेर १९३४.४७ को विन्दुमा कायम रह्यो । यस अवधिमा नेप्से सूचक ४८०.७८ विन्दुले घट्यो ।

समूहगत सूचकतर्फ होटल तथा टुरिजम समूहको सूचक ७.१५ प्रतिशतले बढ्यो भने अन्य सबै समूहगत सूचक घट्न पुगे । जसमध्ये लघुवित्त समूह २७.२५ प्रतिशतले घट्यो । 

लघुवित्त विरोधी आन्दोलन चर्किएपछि त्यसको समाधानको प्रयास स्वरूप राष्ट्र बैंकले लघुवित्तको लाभांशमा ‘सिलिङ’ तोकिदियो । १५ प्रतिशत मात्र लाभांश वितरण गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेपछि लघुवित्तको शेयर मूल्यमा त्यसको असर देखियो ।

राष्ट्र बैंकका अन्य विभिन्न नीतिले नै बजार घटेको भन्दै वर्षभर जसो नै शेयर लगानीकर्ता संघ संगठनले राष्ट्र बैंकको नीति परिवर्तन तथा पुनरावलोकन गराउन लबिङ गरिरहे । 

बजार पूँजीकरणको हिसाबमा लगानीकर्ताले वर्ष २०७९ मा ६ खर्ब १२ अर्ब गुमाएका छन् । ३४ खर्ब ३२ अर्बको बजारपूँजीकरण २८ खर्ब १३ अर्बमा सिमित भएको छ ।  

पूँजीगत लाभकर संकलनमा धक्का 

वर्ष २०७९ मा संकलन गरिएको पूँजीगत लाभकरले पूँजीबजारको अवस्था झल्काउँछ । २०७८ सालभरमा शेयरबजारबाट १५ अर्ब ४७ करोड ४५ लाख ५५ हजार पूँजीगत लाभकर संकलन भएकोमा वर्ष २०७९ मा पूँजीगत लाभकर २ अर्ब ५५ करोड ९ लाख ११ हजार मै सिमित रह्यो ।  

डिम्याट खाता र मेरोशेयर खाता खोल्ने संख्यामा गिरावट 

वर्ष २०७८ भर कुल १७ लाख ४६ हजार ४ सय ४५ वटा नयाँ डिम्याट खाता खुलेकोमा वर्ष २०७९ मा नयाँ डिम्याट खाताको संख्या ५ लाख ८ हजार ४ सय ३८ मै सिमित भएको छ । 

त्यस्तै वर्ष २०७८ मा कुल १७  लाख ७६ हजा ९ सय २७ वटा मेरोशेयर  खाता खुलेकोमा २०७९ मा कुल ४ लाख ५७ हजार ३ सय ६३ वटा मात्रै मेरोशेयर खाता खुलेका छन् ।

एकै वर्षमा ३ अर्थमन्त्री 

शेयर लगानीकर्ताहरु सेन्टिमेन्टमा चल्ने हुँदा अर्थ मन्त्रालयको नेतृत्वमा को छ भन्ने विषय लगानीकर्ताका लागि चासोको विषय हुन्छ । 

वर्ष २०७९ मा ३ जना अर्थमन्त्री भए । वर्षको सुरुवातमा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा अर्थमन्त्री थिए भने प्रदेश र केन्द्रको निर्वाचनपछि नेकपा एमालेका विष्णु पौडेल अर्थमन्त्रीमा आए । 

सत्ता समिकरण फेरबदल हुँदा हाल नेपाली कांग्रेसका डा प्रकाशशरण महत अर्थमन्त्री छन् । यी ३ मध्ये विष्णु पौडेल आउँदा लगानीकर्ता उत्साहित भए भने अन्य २ को हकमा पूँजीबजारमा उत्साह देखिएन । 

शेयर बजार अनुत्पादक क्षेत्रको लगानी हो भन्ने गरेपछि लगानीकर्ता माओवादी केन्द्रका जनार्दन शर्माप्रति खासै आशावादी देखिएनन् ।

नियामकले जगाएको आशा 

२०७९ को पूँजीबजारको लागि उत्साहजनक नदेखिए पनि पूँजीबजारका नियामक निकायहरुले गरेका केही प्रयासले भने भावी दिनमा सकारात्मक प्रभाव ल्याउन सक्ने देखिन्छ । यद्यपि निमायकका प्रयासहरु भने विवादरहित देखिएनन् । केही न केही विवादमा उनीहरु परिरहे ।

सिडीएस एण्ड क्लियरिङले एकिकृत केवाईसीलाई अन्तिम रुप दिएर परीक्षणको रुपमा भए पनि कार्यान्वयनमा ल्याइसकेको छ । समय सापेक्ष रुपमा आफ्नो प्रणाली अपग्रेड गरिरहेको छ भने आफ्नो डाटाहरुको व्याकअप २ स्थानमा राख्ने व्यवस्था सुरु गरेको छ । खुलामुखी सामुहिक लगानी कोष योजनाको खरिद बिक्रीमा लाग्ने डिपी शुःल्कलाई २५ रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरेको छ । 

नेपाल धितोपत्र बोर्डले वर्ष २०७९ मा के काम गर्यो ?

ब्रोकरहरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) सञ्चालन गर्न सक्ने गरी  धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी २०७९ वैशाख १६ देखि लागू गरेको छ ।

हाल धितोपत्र दलाल व्यवसायीले आफ्नै टिएमएस सञ्चालन गर्ने काम अन्तिम चरणमा पुगेको बताएका छन् । नेप्सेमा सुचिकृत कम्पनीहरु मर्जमा जाँदा वर्षौसम्म कारोबार रोक्का हुने अवस्था रहेकोमा बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बनाई  बढीमा १५ दिनसम्म मात्र रोक्का हुने व्यवस्था गरेको छ । 

जसबाट  कम्पनीको सेयर कारोबार वर्षौसम्म रोक्का हुने अवस्थाको अन्त्य भएको  छ ।

बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बढीमा रु १०० सेवा शुःल्क लिन सक्नेमा सो सेवा शुःल्क घटाइ बढीमा रु पाँच सेवा शुःल्क लिन सक्ने गरी आस्वा शुःल्क घटाएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आइपिओमा १० प्रतिशत आरक्षण व्यवस्था गरेको छ । उक्त व्यवस्था गरिएसँगै देशको शोधनान्तर स्थिति सबल बनाउँदै विदेशबाट विप्रेषण आप्रवाह औपचारिक माध्यमबाट भित्र्याउनलाई प्रोत्साहन तथा सहयोग भई वैदेशिक विनिमय सञ्चितिमा सहयोग पुग्ने बोर्डको अपेक्षा छ। 

बोर्डले धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका बनाइ मिति २०७९ फागुन ४ गतेबाट लागू गरेको छ । उक्त निर्देशिकाले धितोपत्र दलाल व्यवसायीलाई शाखा कार्यालय विस्तार गर्ने कार्यलाई व्यवस्थित गर्दै एकरुपता ल्याउन विभिन्न व्यवस्थाहरु गरेको छ । उक्त निर्देशिका बमोजिम बोर्डले पहिलो चरणमा २० स्थानमा धितोपत्र दलाल व्यवसायीको शाखा विस्तारका लागि स्वीकृति दिएको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) नियमावली, २०६४ मा चौथो तथा पाँचौँ संशोधन गरी लागू गरेको छ । यस सँगै योग्यता र मापदण्ड पुगेका ब्रोकर कम्पनीहरुले बोर्डबाट सहजै लाइसेन्स पाउनेछन् । यसबाट बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, सेवाको स्तर वृद्धि भइ लागत घटाउने प्रणालीको सिर्जना हुने, धितोपत्र बजारमा नयाँ सोच भएका सक्षम युवाहरुलाई अवसर सिर्जना भइ रोजगारीको दायरामा वृद्धि हुने र धितोपत्र कारोबारमा वृद्धि भइ सरकारी राजस्व वृद्धिमा सघाउ पुग्ने बोर्डले जनाएको छ । 

यसबारे सर्वोच्च अदालतमा मुद्दा परेको भए पनि अदालतले रिट खारेज गरेसँगै यो प्रक्रिया अब अगाडि बढिसकेको छ । 

बोर्डले विशिष्टीकृत लगानी व्यवस्थापकलाई अनुमतिपत्र प्रदान गरेको छ । नविनतम सोच तथा ज्ञान भएका तर पर्याप्त स्व–पूँजी तथा धितो सुरक्षण नभएका स्टार्टअपको लागि पूँजी प्राप्त हुने सन्र्दभमा पूँजी परिचालनको वैकल्पिक साधनको  रुपमा पहिलोपटक ९ वटा विशिष्टीकृत लगानी कोष व्यवस्थापकलाई अनुमतिपत्र जारी गरी पहिलो चरणमा रु पाँच अर्ब रकम संकलन र परिचालनलाई स्वीकृतिसमेत दिएको छ । 

पूँजी बजारमा दोस्रो स्टक एक्सचेञ्ज प्रवेशमार्फत धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ बोर्डले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि आवेदन माग गरेको छ । सर्वोच्च अदालतबाट यस सम्बन्धी मुद्दा खारेज भएसँगै बोर्डले चैत्र ३० गते फेरि आवेदन माग गरेको छ । 

बोर्डले वस्तु विनिमय बजार स्थापनाका लागि आवेदन माग गरेको छ । सर्वोच्च अदालतबाट यस सम्बन्धी मुद्दा खारेज भएसँगै बोर्डले चैत्र ३० गते फेरि आवेदन माग गरेको छ । 

धितोपत्र बजार सूचकाङ्कमा हुने उतारचढावमा न्यूनिकरण गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा छुट्टै एसएमईज प्लेटफर्म सञ्चालनका लागि आवश्यक नियमावली तर्जूमा गर्न बोर्डका विज्ञ सञ्चालकको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन भइ नियमावली मस्यौदा तयार पारेको छ ।

वर्ष २०७९ मा बोर्डले पहिलो पटक धितोपत्रसम्बन्धी कसूरमा कारबाही गरेको छ भित्री कारोबार मुद्दामा इतिहास मै पहिलो पटक अदालतमा मुद्दा दायर गरेको छ ।  सूचीकृत संगठित संस्था रिडी पावर लि (साविक रिडी हाइड्रोपावर कम्पनी लि) का अध्यक्षले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम ३८ को उपनियम (१क) तथा सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ को दफा १४ को उपदफा (६) मा भएको व्यवस्था  उलंङ्घन गरी दोस्रो बजारमा सेयर कारोबार गरेको देखिएकाले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम बोर्डले पचहत्तर हजार रुपैयाँ जरिवाना गरेको छ । साथै भित्री कारोबार पुष्टि भएसँगै अदालतमा मुद्दा दायर गरेको छ ।

सूचीकृत संगठित संस्था नेपाल हाइड्रो डेभलपर लि.का निवर्तमान अध्यक्षले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) तथा सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) मा भएको व्यवस्था उलंङ्घन गरी दोस्रो बजारमा सेयर कारोबार गरेको देखिएकाले हदैसम्मको जरिवाना किन नगर्ने भनी नेपाल धितोपत्र बोर्ड नियमावली २०६४ को नियम २९ उपनियम (१) को खण्ड (क) बमोजिम सफाइ पेश गर्न सूचना दिएको छ । भित्री कारोबार समेत देखिएकोले अदालतमा मुद्दा दर्ताको लागि सरकारी वकिल कार्यालयमार्फत प्रक्रिया अगाडि बढाएको छ ।

बोर्डले धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ, थ्राईभ ब्रोकरेज हाउस, सनि सेक्युरिटिज, इम्पेरयिल सेक्युरिटिज र त्रिसुल सेक्युरिटिज एण्ड  क. प्रा.लिलाई नगद जरिवाना गरेको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा विभिन्न नियमावलीमार्फत गरिएका व्य्वात्षाको पालना नगरेपछि बोर्डले ति ब्रोकरलाई कारबाही गरेको हो । 

बोर्डबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेको केयर रेटिङ्ग नेपाल लि.ले क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उल्लंघन गरी आफ्नो मुख्य शेयरधनी विशाल ग्रुपसम्बद्ध कम्पनीहरुको रेटिङ्ग गरेको हुँदा केयर रेटिङ्ग नेपाल लि.लाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ उपदफा (७) अनुसार हदैसम्मको जरिवाना किन नगर्ने भनी नेपाल धितोपत्र बोर्ड नियमावली, २०६४ को नियम २९ उपनियम (१) को खण्ड (क) बमोजिम सफाइ पेश गर्न सूचना दिइएको छ । साथै, उक्त लि.ले नियमावली विपरित गरेको रेटिङ्ग किन रद्द नगर्ने तथा केयर रेटिङ्ग नेपाल लि.को अनुमतिपत्र किन निलम्बन नगर्ने भनी नेपाल धितोपत्र बोर्ड नियमावली, २०६४ को नियम ३० उपनियम (१) बमोजिम स्पष्टिकरण पेश गर्न सूचना दिएको छ ।

मर्चेन्ट बैंकर नेपाल बंगलादेश क्यापिटल लि. तथा नागरिक लगानी कोषले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ उपदफा १ तथा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २६ उपनियम (१) को व्यवस्था परिपालन नगरी तोकिएको समयभन्दा ढीलो आर्थिक विवरण पेश नगरेको हुँदा हदैसम्मको जरिवाना किन नगर्ने भनी नेपाल धितोपत्र बोर्ड नियमावली, २०६४ को नियम २९ उपनियम (१) को खण्ड क बमोजिम सफाइ पेश गर्न सूचना दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले गरेका कामहरु 

सूचीकरण विनियमावली संशोधन तथा सुपरिवेक्षण तथा सदस्यता विनियमावली तर्जुमा गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

सर्वसाधारणलाई दोस्रो बजार कारोबार प्रविधिको प्रयोगमा अभ्यस्त बनाउन अनलाइन सिमुलेसन प्लेटफर्म उपलब्ध गराएको छ । 

नेप्से अनलाइन कारोबार प्रणालीमा सूचीकृत कम्पनीहरुको सूचना अपलोड गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ । कर्मचारीलाई कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रदान गर्ने प्रणालीको विकास आरम्भ गरेको छ।  

सदस्य दलालको सुपरिवेक्षणका लागि कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको छ।

संचालनमा रहेको डाटा सेन्टरलाई स्तरोन्नतिका लागि अध्ययन गरेको छ। 

नेप्सेको ५ वर्षे रणनीतिक योजना तर्जुमा गर्ने कार्य अगाडि बढाएको छ।  

नेप्से परिसरमा साँढेको प्रतिमा राख्ने सहित अग्रभागमा गार्डेन सहितको भौतिक निर्माण कार्य अगाडि बढाएको छ। 

नेप्सेको पुनर्संरचनाका लागि अध्ययन सुरु गरेको  छ।  

श्रव्य, दृश्य तथा पाठ्य लगायतका दोस्रो बजारसम्बन्धी जानकारीमूलक सामग्री उत्पादन गर्ने, पुराना सामग्रीलाई अद्यावधिक गरी सूचना सम्प्रेषण, प्रकाशन तथा वित्तीय साक्षरता कार्यक्रमलाई सुदृढ बनाएको छ।  

संस्थामा कर्मचारीको उचित आकार कायम गर्न योजना तर्जुमा गरेको  छ।  

डेरिभेटिभ्सलगायतका अन्य वित्तीय उपकरणहरुको कारोवार सञ्चालन गर्न अध्ययन गरेको  छ । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेले तथ्याङ्क प्रयोगसम्बन्धी कार्यविधि लागू गरेको छ । कार्यविधि लागू भएपछि नेप्सेबाट शेयर कारोबार समबन्धि तथ्याङ्कको एपीआई लिइ प्रयोग गर्न सकिने भएको छ।

बुक विल्डिङ आइपिओ 

नेपाली पूँजीबजारको इतिहास मै सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिमार्फत आईपिओ निष्काशन गर्ने तयारी गरेका छन् । 

यसको लागि यी कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले इतिहास मै पहिलो पटक अनुमानित मूल्य तथा मूल्याङ्कनको आधार र औचित्यसमेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (roadshow) सञ्चालन गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved