घोराही सिमेन्टको आईपिओ रोकिएको बारे के भन्छन् लगानीकर्ता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2023 | 02:09:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपिओ बिक्री बन्द गर्न निर्देशन दिएपछि बोर्डको कदमको पक्ष र विपक्षमा बहस भइरहको छ। बोर्डले रेटिङको विषयमा प्रश्न उठाउँदै र मागभन्दा बढीको आवेदन परेपछि म्याद थप गरेको कारण देखाएर छानबिनका लागि भन्दै आईपिओ बिक्री बन्द गर्न निर्देशन दिएको थियो ।

त्यसपछि शेयरबजारमा घोराही प्रकरण चर्चाको शिखरमा छ । पूँजीबजारमा रहेका २ वटा लगानीकर्ता सङ्गठनले बोर्डको कदमको स्वागत गरेका छन् । केहीले भने बोर्डको गम्भिर त्रुटी भएको औँल्याएका छन् । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बोर्डले यस प्रकरणमा थप बुझ्न र छानबिन गर्न खोजेकाले बोर्डको कदम जायज रहेको बताउँछन्। बोर्डको छानबिनमा सबैले सहयोग गर्नुपर्ने र छानबिनपछि मात्र सबै कुरा खुल्ने उनको भनाइ छ । ढकाल थप्छन्, 'बोर्डको कदम जायज छ, कम्पनीले आईपिओ बिक्री भइसकेको भनेको छ, फर्जी आवेदन हालेको विषय पनि आएको छ, फेरि समय पनि थपेको छ, सबै शेयर बिक्री भइसकेको भए समय थप गर्न मिल्दैन, यस्तो अनैतिक तरिकाले सर्वसाधारणलाई झुक्याउन खोजिएको छ, यसमा छानबिन हुनैपर्छ ।' 

शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल पनि बोर्डको कदम सही भएको बताउँछन्। सर्वसाधारण लगानीकर्तालाई भ्रममा पारेर आईपिओ ल्याउने प्रवृत्ति बन्द हुनुपर्ने भन्दै उनले त्यस विषयमा छानबिन जरुरी रहेको बताए। रेटिङ कम्पनीहरु पनि सजग हुनुपर्ने भएकाले अहिले देखिएका वेथितिको अन्त्य गर्नुपर्ने र त्यसका लागि बोर्डको छानबिनमा सबैले सघाउनुपर्ने फुल्लेल बताउँछन् । सर्वसाधारण लगानीकर्ताको घाँटी रेट्ने काम कसैले पनि गर्न नहुने उनको भनाइ छ ।

लगानीकर्ता तथा पुँजीबजार विश्लेषक मुक्ति अर्याल भने घोराही प्रकरणमा कोही पनि चोखो नदेखिएकाले यसको स्वतन्त्र छानबिन हुनुपर्ने बताउँछन् । धितोपत्र बोर्डले रेटिङको विषय देखाएर अहिले आईपिओ बिक्री बन्द गर्नु अधिकारको दुरुपयोग भएको उनको ठम्याइ छ। बोर्डले यो कार्य रेटिङको बेला नै गर्नुपर्ने उनको तर्क छ । यस प्रकरणमा धितोपत्र बोर्ड, घोराही सिमेन्ट, बिक्री प्रबन्धक, रेटिङ कम्पनी, अन्डरराइटर सबैको गल्ती देखिएकाले सबैमाथि छानबिन हुनुपर्ने उनी बताउँछन्।

उनी भन्छन्, 'सबैलाई उत्तरदायी बनाउनुपर्छ, बोर्डले अहिले आएर आईपिओ रोक्नु हुँदैन थियो, रेटिङ कम्पनीले यो(यो कारणले रेटिङ अर्कै कम्पनीबाट गराउ भन्नुपर्थ्यो, बिक्री प्रबन्धकले त्यही बेलामा रेटिङको विषय हेर्नुपर्थ्यो, अन्डरराइटर कम्पनीले पनि सबै हेरेर मात्र सम्झौता गर्नुपर्थ्यो, गल्ती सबैको छ।'

लगानीकर्ता तथा अधिवक्ता ज्योति दाहाल पनि यस प्रकरणमा धितोपत्र बोर्डको ठूलो गल्ती नै भएको बताउँछन् । बोर्ड आफैँले अनुमति दिएको कम्पनीले रेटिङ गरेकाले रेटिङलाई देखाएर बोर्ड आफू चोखिन खोज्न नहुने उनको भनाइ छ । 

उनी भन्छन् 'रेटिङ कम्पनीको शेयरधनीको विवरण पनि बोर्ड कै कार्यालयमा छ, घोराही सिमेन्टको लगानीकर्ताको विवरण पनि बोर्ड कै कार्यालयमा छ, आफ्नै कार्यालयमा भएको विवरण नहेर्ने अनि अन्तिम दिनमा आएपछि रेटिङलाई देखाएर आईपिओ बिक्री बन्द गर्नु ठूलो गल्ति भएको छ।' प्रिमियम मूल्यको औचित्य प्रष्ट पार्न माग गरिएको, प्रोजेक्सन नमिलेको भनेर खबरदारी गर्दा पनि बोर्डले नसुनेको र अहिले आएर विवाद बढेपछि आईपिओ रोक्नु गलत भएको उनको भनाइ छ । 

नेपाल धितोपत्र बोर्डले  केयर रेटिङ्गको विषयमा बोर्डमा उजुरी परेकोले त्यसमाथि छानबिन गर्न आईपिओ रोकेको जनाएको छ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए, नभएको बारेमा केयर रेटिङ्ग नेपाल लिमिटेडलाई स्पष्टिकरण सोधिएकोमा सो अवधिमा जवाफ नआएकाले कैफियत जाँचबुझका लागि आईपिओ बिक्री रोकेको बोर्ड अध्यक्ष रमेश हमालले बताए । साथै मागभन्दा बढीको आवेदन परिसकेपछि पनि म्याद थप गरेपछि यस विषयमा पनि छानबिन गर्न आईपिओ रोकेको उनको दावी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved