हकप्रदपछि मल्टीपर्पस फाइनान्सलाई व्यवसाय विस्तार र प्रतिफल वितरणमा सहज हुन्छ: सीइओ सिंह

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Aug 27, 2023 | 09:54:48 AM मा प्रकाशित

laxmi  sunrise bank

मल्टीपर्पस फाइनान्स लिमिटेडले आज भदौ १० गते देखि हकप्रद निष्काशन बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:०.३५ को अनुपातमा ३५ प्रतिशतले हुन आउने १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी ४५ करोड २० लाख रहेको छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ। राष्ट्रिय स्तरको फाइनान्स हुनको लागि कम्पनीलाई न्युनतम ८० करोड पुँजी चाहिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह कम्पनीलाई अझै पुँजी आवश्यक रहेको भएपनि कसरी ८० करोड पुर्याउने भन्नेबारे पछि संचालक समितिले निर्णय गर्ने बताउछन् । अहिलेको हकप्रदपछि चुक्ता पुँजी ६१ करोड २ लाख पुग्ने र लाभांशबाट केहि थप हुने भएपनि ८० करोड पुर्याउनेबारे संचालक समितिले निर्णय गरे बमोजिम हुने उनको भनाई छ । 

उनका अनुसार अहिले हकप्रदबाट संकलन हुने रकम व्यवसाय विस्तारको लागि प्रयोग गरिने छ। अहिले व्यवसाय विस्तार करिब ३ प्रतिशत हाराहारी मात्र रहेको उनको भनाई छ । सीइओ सिंहका अनुसार व्यवसायको आकार नै सानो रहेको, नियमकीय प्रावधान अनुसार केहि रकम प्रोभिजन पनि गरिएकोले अहिले सन्तोषजनक लाभांश दिन सक्ने अवस्थामा कम्पनी छैन । यद्यपि आगामी वर्ष भने व्यवसाय विस्तार हुदै जाने र राम्रो लाभांश दिन सकिने उनको भनाई छ ।

उनका अनुसार विगत दुई वर्षको तथ्यांक हेर्ने हो भने कम्पनीको निक्षेप संकलन ९५ प्रतिशत बढेको थियो भने कर्जा प्रवाह ६५ प्रतिशतले बढेको थियो । कम्पनीको आकार नै सानो भएकोले काम गर्न नै नसक्ने अवस्था भएकोमा अब हकप्रदपछि पुँजी परिचालनमा सहजता हुने उनको भनाई छ । अहिले मधेशका धेरै स्थानमा बैंक नै नपुगेकोले ति स्थानमा फाइनान्सले शाखा विस्तार गरेको व्यवसायको राम्रो अवसर रहेको उनले बताएका छन्। उनका अनुसार बैंकहरुले गाउँ गाउँमा गएर कर्जा लगानी गर्ने भन्दा पनि निक्षेप संकलन मै जोड दिएका छन् । यस्तो हुँदा कम्पनीलाई शाखा विस्तार गरेर व्यवसाय विस्तार गर्ने राम्रो अवसर रहेको उनी बताउछन् ।  त्यसपछि कम्पनीले राम्रो प्रतिफल दिन सक्ने भएको कम्पनीको भविष्य राम्रो रहेको उनले उल्लेख गरे । 

हाल कम्पनीको कार्य क्षेत्र सप्तरी, धनुषा, सिराहा, महोत्तरी र सर्लाही गरि ५ जिल्ला रहेको छ भने ६ वटा शाखा रहेको छ ।  कम्पनीको ग्राहक संख्या १५ हजार रहेका छन् । 

सीइओ सिंहका अनुसार अहिले बैंक तथा वित्तीय संस्था विरुद्द चलेको आन्दोलनले कम्पनीलाई पनि समस्या परेको छ । कम्पनीबाट लिएको कर्जा नतिरे पनि हुने हो कि भन्ने मानसिकतामा ऋणीहरु पुगेको र यसले ऋणी असुलीमा ठुलो समस्या भएको उनको भनाई छ। 

अहिले आम नागरिकमा वित्तीय सचेताको कमी रहेकोले मल्टीपर्पस फाइनान्सले विभिन्न शाखा मार्फत निरन्तर वित्तीय साक्षरताको काम गरिरहेको उनले बताए । उनका अनुसार आम नागरिकमा अझै बैंक, विकास बैंक, फाइनान्स , लघुवित्त, सहकारी सबै नै फाइनान्स हो भन्ने बुझाई रहेको र यसलाई चिर्न आवश्यक रहेकोले वित्तीय सचेतना मार्फत कम्पनीले निरन्तर वित्तीय साक्षरता कार्यक्रम गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved