ब्रोकरमाथि बढ्यो निगरानी, शेयर मूल्यमा खेल्न खोज्नेलाई थरीथरीका कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 11:29:12 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर ब्रोकरहरुको संख्या बढेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले छुट्टै विनियमावली निर्माण गरेर ब्रोकरहरुको सुपरीवेक्षण गर्ने भएको छ । नेप्सेले 'धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरीवेक्षण विनियमावली, २०८०)' को मस्यौदा तयार पारेर स्वीकृतिका लागि नेपाल धितोपत्र  बोर्डमा पठाएको छ ।

प्रस्तावित मस्यौदामा तोकिएको नियम उल्लघन गर्ने ब्रोकर कम्पनीहरुलाई विभिन्न ३ प्रकारका कारबाहीको प्रस्ताव गरिएको छ । जसमा पहिलो नम्बरमा सचेत गराउने वा लिखित चेतावनी दिने, दोस्रोमा ब्रोकरको सदस्यता  निलम्बन गर्ने र तेस्रो नम्बरमा ब्रोकरको सदस्यता नै खारेज हुने प्रस्ताव गरिएको छ ।

कस्तो अवस्थामा सचेत गराउने वा लिखित चेतावनी दिने ?

प्रस्तावित मस्यौदामा ब्रोकरले धितोपत्र बोर्ड वा नेप्सेले दिएको निर्देशन वा आदेशको पालना नगरेमा वा ऐन, नियम, विनियम विपरित कार्य गरेमा वा नेप्सेले स्थलगत वा गैह्रस्थलगत सुपरीवेक्षण गर्दा कुनै कैफियत देखिएमा वा आचारसंहितासम्बन्धी व्यवस्थाको पालना नगरेको पाइएमा  नेप्सेले तत्कालै सचेत गराउन वा लिखित चेतावनी दिन सक्ने उल्लेख छ। यद्यपि त्यसअघि स्पष्टिकरण माग गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

कस्तो अवस्थामा निलम्बन प्रस्ताव ?

एक आर्थिक वर्षमा सदस्यले दुई पटकभन्दा बढी सचेत वा लिखित चेतावनी पाएमा, धितोपत्रसम्बन्धी प्रचलित कानून बमोजिम नेप्सेलाई दिनुपर्ने सूचना तथा जानकारी नदिएमा, धितोपत्रको मूल्यमा अस्वाभाविक उतार चढाव ल्याउने प्रयास गरेमा, तथा नेप्सेले स्वीकृति दिएका बाहेक अन्य सफ्टवेयर र टर्मिनल प्रयोग गरेमा ब्रोकरलाई निलम्बनको प्रस्ताव गरिएको छ।

त्यस्तै नेप्सेले दिएको आदेश तथा निर्देशनको पालना नगरेमा, सुपरीवेक्षण प्रतिवेदनमा लगानीकर्तालाई हानी हुने र कारोबार प्रणालीमा क्षति पुग्ने वा बजारमा विकृति आउने किसिमको कैफियत देखिएमा पनि ब्रोकरलाई निलम्बनको प्रस्ताव गरिएको छ । निलम्बन अघि सफाइको मौका दिनुपर्ने प्रस्ताव गरिएको छ । ब्रोकरलाई कम्तिमा १५ दिन निलम्बन गर्ने प्रस्ताव मस्यौदामा गरिएको छ । 

के हुँदा सदस्यता खारेज ?

नेप्सेबाट सदस्यता प्राप्त गरेको तीन महिनाभित्र कारोबार शुरु नगरेमा, कुनै कारणले सदस्य संस्था खारेज भएमा, झुटो विवरण तथा कागजात पेश गरी सदस्यता प्राप्त गरेको कुरा पछि पत्ता लागेमा र तोकिएको अवधि भित्र नवीकरण नगरेमा ब्रोकरको सदस्यता नै खारेज हुने प्रस्ताव गरिएको छ ।  त्यस्तै निलम्बनको सजाय पाएका ब्रोकरको जाँचबुझ गर्दा कुनै ब्रोकरले निलम्बन् अवधिमा पेश गरेको जवाफ सन्तोषजनक नभएमा नेप्सेले त्यस्तो सदस्यको सदस्यता खारेज गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै विनियमावलीको मस्यौदामा ब्रोकरहरुाका लागि ३४ बुँदे आचारसंहिता प्रस्ताव गरिएको छ। यी आचारसंहितासम्बन्धी व्यवस्थाको पालना नगरेको पाइएमा  नेप्सेले तत्कालै सचेत गराउन वा लिखित चेतावनी दिन सक्ने उल्लेख छ। एक आर्थिक वर्षमा सदस्यले दुई पटक भन्दा बढी सचेत वा लिखित चेतावनी पाएमा ब्रोकर निलम्बनको प्रस्ताव गरिएको छ ।

यस्तो छ प्रस्तावित आचारसंहिता

१, आफ्नो व्यवसायको प्रतिकूल वा लगानीकर्ताहरुको हित विपरित हुने कार्य हुन नदिई धितोपत्र कारोबारमा स्वच्छता कायम गर्न उच्च नैतिकता, निष्ठा कायम राखी सेवा प्रदान गर्नुपर्नेछ ।

२, नगद लाभांश, बोनश शेयर हकप्रद शेयर वा धितोपत्रसम्बन्धी हक हित संरक्षणका निमित्त सदस्यले लगानीकर्तालाई सहयोग गर्नुपर्नेछ ।

३, सदस्यले मुख्य वा शाखा कार्यलयको ठेगाना, सम्पर्क कार्यलय, सम्पर्क नम्बर, ईमेल, ठेगानाआदि परिवर्तन भएमा कार्यलय स्थापना वा स्थानान्तरण गरेमा वा कुनै कार्य गर्ने वा कुनै कार्य नगर्ने भएमा, त्यसको सूचना अविलम्ब बोर्ड र नेप्सेमा दिनुपर्नेछ ।

४, बोर्ड तथा नेप्सेले सञ्चालन गरेको बैठक, तालिम, सेमिनार, गोष्ठिमा सहभागी हुनुपर्नेछ ।

५। नेप्सेले तोकिदिए बमोजिमको नगद, बैंक मौज्दात वा अन्य तरल सम्पत्ति राख्नु पर्ने ।

६, धितोपत्र कारोबारका सम्बन्धमा ग्राहक तथा धितोपत्र बजारलाई तथ्याङ्क सूचनाआदि प्रवाह गरी उच्चस्तरको सेवा प्रदान गर्नुपर्नेछ ।

७, आफ्ना ग्राहकलाई अनलाईन प्रणालीको लगईन उपलब्ध गराउनुभन्दा अगाडि अनिवार्यरुपमा तालीम दिनुपर्नेछ ।

८, कारोबारका सम्बन्धमा ग्राहकलाई कुनै समस्या आएमा उक्त समस्याको यथाशिघ्र समाधान गरिदिनुपर्नेछ । सदस्य व्यवसायीले आफ्ना ग्राहकहरुको निमित्त उनीहरुको खरिद र बिक्री आदेशानुसार धितोपत्र खरिद र विक्री गरिदिनु पर्नेछ ।

९, ग्राहक आफैँले अनलाई प्रणालीमार्फत धितोपत्र खरीद र बिक्री गर्न आदेश प्रविष्ट गरेमा सहयोग गर्नुपर्नेछ ।

१०, सदस्य व्यवसायीले कुनै कम्पनीको धितोपत्र आफ्नो तथा आफ्नो परिवारको नाममा खरिद बिक्री गर्नु परेमा नेप्सेबाट पूर्वस्वीकृत लिएर अर्को सदस्य व्यवसायीमार्फत मात्र खरिद बिक्री गर्न सक्नेछ ।

११, सदस्यता प्राप्त व्यवसायीले आफ्नो कम्पनीबाट कम्पनीको नाममा धितोपत्र खरिद र बिक्री गर्न हुँदैन तर यस व्यवस्थाले धितोपत्र व्यापारी (स्टक डिलर)ले आफनो कम्पनीको नामबाट धितोपत्र खरिद बिक्री गर्न कुनै बाधा पुगेको मानिने छैन ।

१२, सदस्य व्यवसायीको तर्फबाट कार्यसम्पादन गर्दा ऐन, नियमावली तथा यस विनियमावलीले तोकेका सम्पूर्ण कराहरुको पूर्णरुपमा पालना गर्नुपर्नेछ ।

१३, कुनै सदस्यलाई सदस्यताबाट निलम्बन वा खारेज गरेको अवस्थामा सम्बन्धित सदस्यको शाखा कार्यलय पनि कारोबारबाट स्वतः निलम्बन वा खारेज भएको मानिनेछ ।

१४, सदस्यता प्राप्त सदस्य व्यवसायीले कम्पनीको नाम, अंशियारवालाको नाम तथा तिनीहरुको एकाघर परिवारको नाममा खरिद र बिक्री गरेको धितोपत्र विवरण तत्कालै नेप्सेमा पेश गर्नुपर्नेछ ।

१५, सदस्य व्यवसायीले आफ्नो लापरबाहीबाट ग्राहकलाई कुनै हानी नोक्सानी भएमा त्यसको क्षतिपूर्ति दिनुपर्नेछ।

१६, सदस्यले धितोपत्रको कारोबार गर्ने सम्बन्धमा कुनै निश्चित क्षेत्र वा कुनै खास सूचीकृत संगठित संस्थाको धितोपत्रमा कुनै सीमा वा बन्देज वा लकिङ्ग पिरियड लगाइएको भए सो को पूर्ण रुपमा परिपालना गर्नुपर्नेछ ।

१७, नेप्सेले सुपरीवेक्षण तथा निरीक्षण गर्न आउँदा वा जुनसुकै बखत माग गरेको विवरण, जानकारी तथा कागजातहरु उपलब्ध गराउनु पर्नेछ ।

१८, प्रचलित कानुन बमोजिम बन्देज लगाईएका ग्राहकहरुको नाममा धितोपत्रको कारोबार गर्न नपाउने गरी व्यवस्था मिलाउनु पर्नेछ ।

१९, सदस्य व्यवसायीले आफ्नो संस्थापक, सञ्चालक, पदाधिकारी एवं कार्यरत कर्मचारीको विवरण अद्यावधिक गरी नियमित रुपमा वा माग गरेको बखत नेप्सेलाई उपलब्ध गराउनुपर्नेछ । सदस्य कम्पनीको शेयर पूँजी र शेयरको स्वामित्वमा कुनै परिवर्तन भएको भएमा तत्कालै जानकारी गराउनुपर्नेछ ।

२०, कारोबार गरे बापत प्राप्त सेवा शुल्कको तोकिए बमोजिमको रकम बोर्ड तथा नेप्सेलाई समयमा नै बुझाउनु पर्नेछ, साथै नियमानुसार लाग्ने शुल्क तथा नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने राजश्व समयमा नै दाखिला गर्नु पर्नेछ ।

२१,  लगानीको उद्देश्य र ग्राहकलाई दिने सेवा प्रत्येक ग्राहकको नामबाट भएको कारोबारको अभिलेख, ग्राहकसँग लिनु, दिनु पर्ने हिसाब छुट्टाछुट्टै राख्ने व्यवस्था गर्नुपर्दछ ।

२२, धितोपत्रको कारोबार गर्दा बजार सन्तुलनमा विकृति आउने काम, अनुचित प्रभाव पारी आफूतिर आकर्षित पार्ने, व्यक्तिगत फाइदाको निमित्त झुठो हल्ला भ्रम फैलाउने तथा सूचना दिने, कमिसन बढाउने उद्देश्यले लगानीकर्ताहरुलाई धितोपत्र खरिद, बिक्री गर्नमा उक्साउने वा बाध्य पार्ने काम गर्न नहुने ।

२३, सदस्यले झुठो बजार खडा गर्ने वा कृत्रिम माग तथा आपूर्ति सिर्जना गर्ने गरी आदेश प्रविष्टी गर्ने वा म्याचिङ्ग कारोबार गर्ने, कारोबार प्रणाली छेडछाड गर्ने वा कारोबार प्रणालीमा अनाधिकृत पहुँच राख्ने, मूल्यमा अस्वाभविक उत्तारचढाव ल्याउने, जालसाजी कारोबार गर्ने तथा कुनै निश्चित कम्पनीको धितोपत्रको मूल्य र परिमाणलाई मात्र प्रभावित गर्ने गरी कार्य गर्ने वा सर्कुलर ट्रेडिङ्ग, फन्ट रनिङ्ग भित्री कारोबार वा ऐन, नियम, विनियम वा निर्देशिका विपरितका कुनै पनि कार्य गर्न गराउनु हुँदैन । आफना ग्राहकले धितोपत्रको आदेश प्रविष्टि वा कारोबार गर्दा माथि उल्लेख गरिएका कुनै कार्य गरेको पाइएमा तत्कालै नेप्सेलाई जानकारी गराउनुपर्नेछ ।

२४, ग्राहकले आफैँले धितोपत्रको कारोबार गर्दा बजारमा गम्भिर प्रभाव पर्ने वा कुनै हानी नोक्सानी हुने गतिविधि गरेको पाइएमा नेप्सेले त्यस्तो कार्य नगर्न, नगराउन सदस्यललाई निर्देशन दिन सक्नेछ वा त्यस्ता ग्राहकलाई निश्चित अवधि तोकी वा नतोकी कारोबार खाता रोक्का राखी कारोबार गर्नबाट बञ्चित गर्न निर्देशन दिएमा सो निर्देशन तत्काल पालना गरी सो को जानकारी सदस्यले नेप्से र बोर्डलाई दिनुपर्नेछ ।

२५, कारोबार सम्पन्न भएपछि ग्राहकको नाममा धितोपत्रको नामसारी तथा दाखिल खारेज यथासिघ्र छिटो गराइदिनु पर्नेछ ।

२६, कारोबारको सिलसिलामा ग्राहकको लगानीसम्बन्धी गोप्य सूचना, विवरण वा कुनै जानकारी प्रकाशन व प्रसारण दुरुपयोग गर्न नहुने ।

२७, लगानीकर्तालाई भ्रम सिर्जना गर्ने र धितोपत्र बजारलाई प्रतिकुल प्रभाव पार्ने विज्ञापन गर्न हुँदैन ।

२८, ग्राहकलाई कारोबार राफसाफ सम्पन्न भए पश्चात्त तुरुन्त रकम भुक्तानी दिनुपर्नेछ । प्राप्त रकम अन्यत्र परिचालन गर्ने वा आफ्नो आय आर्जन गर्ने कार्यमा उपयोग गर्नु हुँदैन ।

२९, सम्बन्धित सूचिकृत कम्पनीको धितोपत्र नियामानुसार एक व्यक्तिको स्वामित्वमा राख्न पाउने अधिकतम संख्याभन्दा बढी हुने गरी कारोबार गर्न गराउन हुँदैन ।

३०, ग्राहकसँग तोकिएको रकम मात्र लिनुपर्दछ । ग्राहकसँग लिएको पेश्की रकम वा ग्राहकले उपलब्ध गराएको वा ग्राहकलाई उपलब्ध गराउनु पर्ने अन्य रकमको लगानीबाट प्राप्त ब्याज वा लाभांशको रकम आफ्नो कारोबार वा अन्य प्रयोजनका लागि उपयोग गर्न नहुने ।

३१, सम्झौतामा लेखिएको अवस्थामा बाहेक ग्राहकको लिखित आदेश बिना ग्राहकको लागि आफ्नो नामबाट कारोबार गर्न वा आफ्नो नाममा धितोपत्र राख्न नहुने ।

३२, तोकिदिएको संख्या भन्दा कम (अडलट) वा बढी हुने गरी धितोपत्र खरिद, विक्री कार्य गर्न नहुने ।

३३, ग्राहकलाई धितोपत्रको रकम अनिवार्य रुपमा बैंकिङ माध्यमबाट मात्र भुक्तानी गर्नुपर्नेछ ।

३४, सदस्यले ग्राहकसँग मार्जिन ऋणमा व्याज निर्धारण गर्दा तोके बमोजिम मात्र गर्नुपर्नेछ ।

३५, सदस्यले ग्राहकलाई कारोबार व्यवस्थापन प्रणालीमा अनाधिकृत पहुँच दिनु हुँदैन । ग्राहकले कारोबार व्यवस्थापन प्रणालीमा कुनै किसिमले अनाधिकृत पहुँच पुर्याइ वा अन्य कुनै गैरकानुनी गतिविधि गरी बजारलाई प्रभावित गरेको पाइएमा त्यस्ता ग्राहकको कारोबार खाता तत्कालै बन्द गरी नेप्सेलाई जानकारी गराउनुपर्नेछ ।

३६, सदस्यले जोखिम व्यवस्थापनका लागि आवश्यक व्यवस्था गर्नुपर्नेछ ।

३७, बोर्ड वा नेप्सेले समय समयमा दिएको आदेश तथा निर्देशनको पालना गर्नुपर्नेछ ।

आचारसंहिता हेरफेरको अधिकार नेप्सेलाई नै 

प्रस्तावित विनियमावलीमा यी आचारसंहिताहरु अनुसूचीको रुपमा राखिएको छ । र नेप्सेको सञ्चालक समितिले अनुसूची हेरफेर गर्न सक्ने प्रस्ताव गरिएको छ। हाल कै अवस्थामा धितोपत्र बोर्डले विनियमावली स्वीकृत गरेमा विनियमावली लागू भएपछि नेप्सेको सञ्चालक समितिले नै आचारसंहितामा नयाँ व्यवस्था थप्न तथा भएका व्यवस्थालाई हटाउन तथा परिमार्जन गर्न सक्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved