
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो।
समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता २४७.४३ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको शेयर मूल्य प्रति कित्ता २६९.७० रुपैयाँ थियो ।
बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर बितरण गर्न लागेको हो । बैंकले साधारणसभा प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेतगरी ५.७० प्रतिशत नगद लाभांश गरि कुल १४.७० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु:
१. आर्थिक वर्ष २०७९/०८० को संचालक समितिको १९ औ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आ.व. २०७९/०८० को नाफा नोक्सान विवरण तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने ।
३. यस बैंकको सहायक कम्पनीहरू सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरीटज लिमिटेडको आ.व. २०७९/०८० को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण छलफल गरी पारित गर्ने ।
४. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०/०८१ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक श्री पि.के.एफ.टि.आर. उपाध्या एण्ड कं. चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन योग्य रहेको)
५. संचालक समितिले प्रस्ताव गरे बमोजिम २०८० साल आषाढ मसान्तमा कायम रहेको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५.७०% नगद लाभांस (कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने ।
विशेष प्रस्ताव
१. संचालक समितिले प्रस्ताव गरे बमोजिम २०८० साल आषाढ मसान्तमा कायम रहेको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ९% वोनस शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गरि प्रबन्धपत्र / नियमावलीमा संशोधन गर्ने ।
२. बैंकको प्रबन्धपत्र / नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।