सर्वोत्तम सिमेन्ट आईपीओ: सबै बोलपत्र खोलियो, कुमारी क्यापिटल र सीईआइटीले हाले उच्च मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2023 | 09:18:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टको आईपीओमा क्युआईआई अर्थात् योग्य संस्थागत लगानीकर्ताले दिएको आवेदनको बोलपत्रको आवेदन खोलिएको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेप्सेका सीइओ कृष्ण बहादुर कार्की र सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु प्रसाद न्यौपाने सहितको उपस्थितमा बोलपत्रहरु खोलिएको हो   । 

 कम्पनीले मङ्सिर ६ देखि मङ्सिर १० गतेसम्म बुक बिल्डिङ विधिमार्फत्  पहिलो चरणमामा  योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेको हो। यस निष्काशनमा ४१ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता शेयर निष्काशन गरेको थियो।  उनीहरुले कुल ३६ लाख १९ हजार १ सय ९० कित्ताको लागि आवेदन दिएका हुन्। 

 जसमा कुमारी क्यापिटल र कुमारी क्यापिटलले संचालन गरेका २ वटा म्युचुअल फण्डले सबैभन्दा महँगो मूल्यमा बोलपत्र पेश गरेको छ । कुमारी क्यापिटलले ५ हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार कित्ता र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ताको लागि बोलपत्र पेश गरेका छन् । यी ३ वटैले ४०६ रुपैयाँमा बोलपत्र पेश गरेका हुन् । जुन सबैभन्दा महँगो हो । नागरिक लगानी कोषले ४०५ रुपैयाँमा ४ लाख कित्ताको लागि बोलपत्र पेश गरेको छ । 

अधिकांशले ४०१ मा नै बोलपत्र पेश गरेका छन् । यस हिसाबमा ४०१ रुपैयाँ नै कट अफ मूल्य हुने प्रारम्भिक अनुमान गरिएको छ । ४०१ रुपैयाँ कट अफ मूल्य भएमा सर्वसाधारणले ३६१ रुपैयाँमा शेयर पाउने छन् । 

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ४०१ देखि ६०१.५० रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो। यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो। यस अघि नै आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले भने आशय मूल्य भन्दा कम मूल्यमा आवेदन पेश गर्न नपाउने व्यवस्था थियो ।

यहि नियमका कारण यस अघि नै आशय मूल्य पेश गरेका धेरै योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिएका छैनन्। आशय मूल्य पेश गर्दाको समयको तुलनामा अहिले बजारको स्थिति बदलिएको र त्यसले मुल्यमा पनि प्रभाव परेको भन्दै आशय मूल्य पेश गरेका  केहि योग्य संस्थागत लगानीकर्ताले आवेदन नदिएका हुन् ।  

 सर्वसाधारणलाई निष्काशन गरिने शेयरको ४० प्रतिशत  योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको हो।  

योग्य  संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने ब्यबस्था छ । कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । योग्य  संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले कुल ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। 

सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको थियो । १५ महिनापछि कम्पनीले अनुमति पाएको हो । सर्वोत्तम बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्ने पहिलो कम्पनी बनेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved