
सत्ता फेरबदल र नयाँ सत्ता समिकरण निर्माणसँगै अर्थ मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पाएका छन् । उनी यस अघि पनि अर्थमन्त्री भईसकेका छन् । पहिलो पटक अर्थमन्त्री भएको १२ वर्षपछि उनी दोस्रो पटक अर्थ मन्त्रालय प्रवेश गर्दै छन् ।सत्ता समिकरण फेरबदल हुँदा धेरैले अर्थ मन्त्रीको रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आउने अनुमान गरेका थिए। सोहि अनुमानले शेयर लगानीकर्ता उत्साहित हुँदा गत सोमबार शेयर बजार परिसूचक ६ प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक लाग्दै कुल ४ मिनेट मात्र कारोबार भएको थियो। तर मंगलबार नै सूचक ७० अंक घटेको थियो । यसको कारण थियो अर्थ मन्त्री विष्णु पौडेल नभई वर्षमान पुन बन्दै छन् भन्ने । यद्यपि आज बुधबार भने शेयरबजार परिसूचक नेप्से ९.३३ अंकले बढेको छ। अर्थात् एक तहको ग्रीन सिग्नल लगानीकर्ताले दिएका छन् ।
१२ वर्षपछि अर्थमन्त्रालयमा फर्किएका पुनसँग शेयरलगानीकर्ताका के छन् त् अपेक्षा ? हामीले यही सवाल लगानीकर्तालाई सोधेका छौ । हेरौ वर्षमान पुनसँग के छन् लगानीकर्ताका अपेक्षा ।
छोटेलाल रौनियार, पूर्व अध्यक्ष, नेपाल इन्भेष्टर फोरम
ब्याजदर घट्दा पनि र अन्य चिज सकारात्मक हुँदा हुँदै पनि शेयरबजार बढ्न सकेको छैन । बजारलाई चलायमान बनाउन अर्थमन्त्रीले पुँजीगत लाभकर घटाएर दीघकालीन लगानीकर्ताको लागि ३ प्रतिशत र अल्पकालीन लगानीकर्ताको लागि ५ प्रतिशत कायम गर्नु पर्छ । पुँजीगत लाभकर घटाउँदा राजस्व घट्छ कि भन्ने डर सरकारलाई देखिन्छ, तर लाभकर घटाउँदा कारोबार बढ्न गई राजश्व झन् वृद्धि हुन्छ । यो घटाउन बजेट नै कुर्नु पर्दैन। डा. युवराज खतिवडाले बजेट घोषणा भन्दा बाहिर बाट नै निर्णय गरेर कर फेरबदल गरेको नजिर भएकोले तुरुन्तै लाभकर घटाउन सकिन्छ ।
त्यस्तै नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउन सिफारिस गरेर अर्थ मन्त्रालयमा पठाएको छ । बोर्डको प्रस्ताव अनुसार नै ब्रोकर कमिशन घटाउने निर्णय अर्थमन्त्रीले गरिदिनु पर्छ ।
अहिले ब्याज घटेको छ तर निक्षेपको मात्रै ब्याज घटेको छ । कर्जाको ब्याज पनि घटेर एकल अंकमा आउने वातावरण बनाउनु पर्छ ।
शेयर धितोकर्जाको जोखिमभार घटाएर पुन: १०० प्रतिशत मै कायम गर्नु पर्छ । शेयर धितो कर्जामा जोखिम मै छैन भन्ने विषय बुझाउनु पर्ने छ । त्यस्तै शेयर खरिदको लागि लिइने ऋणमा लगाईएको सीमा व्यक्तिगत र स्नास्थागत लगानीकर्ता दुवैको लागि हटाउनु पर्छ ।
बजारको लागि एउटा स्थिर नीति हुनु पर्छ । हरेक मौद्रिक नीतिको समीक्षा मार्फत बजारलाई प्रभाव पार्ने नीति आउनु हुदैन ।
नेपालमा पुंजीबजारलाई उपेक्षा गरिएको छ । कहिले सटेबाजी, कहिले जुवाघर, कहिले अनुत्पादक लगानीको क्षेत्र भनेर बजारप्रति नकारात्मक दृष्टिकोण बनाउने गरिएको छ । यसको अन्त्य हुनु पर्छ ।
जसलाई लाईसेन्स दिए पछि निजी क्षेत्रको लगानीको स्टक मार्केट आउनु पर्छ । कमोडिटी एक्सचेन्ज आउनु पर्छ । बजारमा सर्टसेलिङ लगायतका लगानीको लागि नयाँ नयाँ उपकरण र औजारहरु आउनु पर्छ ।
धितोपत्र बोर्डमा लामो समय अध्यक्ष नहुँदा अनेकौ काम रोकिएका छन् । बोर्डमा योग्य व्यक्तिलाई छिटो अध्यक्ष नियुक्त हुने वातावरण बनाउनु पर्छ ।
तुलसीराम ढकाल, अध्यक्ष, नेपाल इन्भेस्टर फोरम
वर्षमान पुन पहिला पनि अर्थमन्त्री हुनु भएको हो । त्यस समयमा पनि लगानीकर्ताका गुनासा र माग सम्बोधन भएका थिए । अहिले पनि उहाँले शेयर लगानीकर्ताको माग सम्बोधन गर्नु पर्छ भन्ने अपेक्षा छ। अहिले बजार प्यानिक अवस्थामा छ । यस बाट बाहिर आउँन विभिन्न नीतिगत सुधार आवश्यक छ। २०७८ भदौ ८ गते जारी भएको मौद्रिक नीतिले शेयरबजारलाई प्रहार गरेको छ । त्यसमा आएका धेरै विषयमा सुधार आवश्यक छ।
बजारमा एउटा अन्योलताको स्थिति हुँदा अर्थमन्त्रीको रुपमा वर्षमान पुन आउनु भएको छ । उहाँले शेयर बजार सुधार हुने गरि नीतिगत निर्णय गरेर निकास दिनु हुन्छ भन्नेमा विश्वस्त छौ । आशा गरिएका पात्र हुनुहुन्छ, केहि गर्नु हुन्छ भन्नेमा आशावादी छौ। उहाँलाई सफलताको शुभकामना पनि दिन चाहन्छु ।
तारा प्रसाद फुल्लेल, कार्यबाहक अध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल
शेयर बजार अहिले निकै तल देखिएको छ। बैंकको ब्याजदर घट्दो क्रममा छ, बजारमा तरलता पनि सहज छ, बैंकहरुले ऋण लिन बोलाईरहेको अवस्था छ । लगानीकर्ताको आत्मविश्वास पनि केहि बढेको छ ।
तर अब चाहिएको भनेको विगतमा गरिएका विभिन्न नियमकीय व्यवस्थामा संशोधन गर्नु पर्ने छ । शेयर कर्जाको जोखिम भार घटाउनु पर्नेछ, शेयर धितो कर्जामा लगाईएको सीमा हटाउनु पर्ने छ।
विगतमा नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग समन्वय नभएको जस्तो देखिन्थ्यो । राष्ट्र बैंकको नेतृत्वलाई पार्टीसँग जोडेर हेर्ने गरिएको थियो । अब एमाले र माओवादी सहितको सरकार बनेपछि सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँगको ट्युनिङ मिल्ने देखिन्छ । अब नयाँ अर्थ मन्त्रीले अर्थतन्त्रलाई चलायमान बनाउन, पुँजीबजारलाई अनुकुल नीति ल्याउनको लागि अर्थ मन्त्रालय र राष्ट्रसँगको तारतम्यता मिलाउने गरि काम गर्नु हुन्छ भन्ने अपेक्षा छ । सरकार , अर्थ मन्त्रालय र राष्ट्र बैंकको ट्युनिङ मिलेर आगामी दिनमा शेयरबजारको लागि राम्रो नीति आउंछ भन्नेमा हामी लगानीकर्ता आशावादी छौ।
राधा पोखरेल, अध्यक्ष नेपाल पुँजी बजार लगानीकर्ता संघ
शेयरबजार सेन्टिमेन्टले पनि चल्छ। पुँजीबजारले रुचाएको अर्थ मन्त्री विष्णु पौडेल नै हो । पौडेल अर्थमन्त्रीको रुपमा आउँदा सेन्टिमेन्ट कै कारणले पनि बजार बढ्ने थियो, जुन सोमबारको बजारले देखाईसकेको छ। विस्हनु पौडेल बजार मैत्रीको रुपमा स्थापित भईसक्नु भएको थियो तर अब वर्षमान पुन आउँदा भने लगानीकर्ताको मन जित्न उहाँले काम गरेर देखाउनु पर्ने हुन्छ ।
माओवादीका अर्थमन्त्री हुँदा बजारले नरुचाएको जस्तो एउटा छाप परेको थियो। यो छाप माओवादीका अर्थमन्त्री हरुले दिएको अभिव्यक्तिको कारण थियो । त्यसलाई अहिलेको अर्थमन्त्रीले चिर्न सक्नु पर्छ र आफु पनि बजार मैत्री नै रहेको संदेश दिन सक्नु पर्छ ।
लगानीकर्ताको रुपमा हाम्रो अपेक्षा भनेको बजारमा स्थायित्व हुनु पर्यो , नीतिगत विषय सुधार हुनु पर्यो, नीतिगत विषयपनि स्थिर हुनु पर्यो । उहाँले यी काम गर्नु हुन्छ भन्नेमा आशावादी छौ ।