यस्तो हुनेछ रारामा बन्ने लक्जरी रिसोर्ट (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 12:00:57 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वर्गकी अप्सराको उपनाम पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा रारा होल्डिङ्स प्रा.लि.ले लक्जरी रिसोर्ट बनाउने भएको छ । अष्टेलियन लगानी भित्र्याएर रारा होल्डिङ्स प्रा.लि.ले मुगुको रारा क्षेत्रमा पर्ने मुर्माटपमा ६० कोठाको रिसोर्ट बनाउन लागेको हो ।

यो क्षेत्र निकै चर्चित पर्यटकीय गन्तव्य भए पनि सविधासम्पन्न होटल तथा रिसोर्टहरु छैनन् । रारा ताल किनारमा केही सामान्य रिसोर्ट भए पनि मुर्माटपमा त एउटा पनि होटल रिसोर्ट छैनन् । यहीँ अभावलाई पुर्ति गर्ने हेतुले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमइ समूहका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको रारा होल्डिङ्स प्रा.लि.ले गैरआवासीय नेपालीहरुको लगानी रहेको अष्टेलियन कम्पनीसँग मिलेर १ अर्ब १० करोड रुपैयाँ लगानीमा मुर्माटपमा ६० कोठाको रिसोर्ट खोल्न लागेका हुन् ।

यो रिसोर्ट कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हुनेछ । रिसोर्टमा लगानीका लागि लगानी सम्मेलनकै क्रममा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र रारा होल्डिङस् प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् ।

मुगुको छायानाथ रारा नगरपालिको मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्‍ने लक्जरी रिसोर्टमा पहिलो चरणमा ७० करोड र दोस्रो चरणमा थप ४० करोड रुपैयाँ लगानी हुनेछ । 

रिसोर्ट वातावरणमैत्री, स्थानीय मुर्मा गाउँको कला संस्कृति झल्किने डिजाइनमा निर्माण गरिने बताइएको छ । 

रिसोर्टमा सुइट र डिलक्स गरी २ प्रकारका कोठाहरु हुनेछन् । भिल्लै भिल्लाहरु हुने रिसोर्ट झट्ट हेर्दा मुर्माकै गाउँजस्तो देखिने गरि डिजाइन तयार पारिएको छ ।

रिसोर्टमा पहिलो चरणमा ४० कोठा तयार हुनेछन् । दोस्रो चरणमा २० वटा कोठा थपिने छ । 

एक्सपर्ट ग्रुपका बद्री अर्यालका अनुसार रिसोर्टमा रेष्टुरेन्ट, १ सय जना क्षमताको मिटिङ हल, साउना, स्टिम, हेल्थ क्लब लगायत लक्जरी रिसोर्टमा हुने सबै सुविधाहरु उपलब्ध हुने छन् ।  

समुद्र सतहदेखि ३ हजार ७ सय मिटरको उचाईमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल, छायानाथ हिमालसहित त्यस क्षेत्रका हिमालहरुको उत्कृष्ट दृश्य देखिनेछ । रिसोर्टका सबै कोठाबाट रारा ताल छ्याङ्ग देखिने गरि डिजाइन तयार पारिएको बताइएको छ । तालबाट हिँडेर एकदेखि डेढ घण्टामा पुगिने मुर्माटपबाट राराको पुरै भेग देखिन्छ । 

प्रकृतिसँग रमाउन चाहने स्वदेशी तथा विदेशी खर्चालु पर्यटकलाई लक्षित गरेर रिसोर्ट निर्माण थालिएको र यसले रारा क्षेत्रमा पुग्ने पर्यटकको बसाइ लम्ब्याउने विश्वास लिइएको छ । 

रिसोर्ट परियोजनाको निर्माण सुरु गर्न सबै प्रकृया अन्तिम चरणमा पुगेको रारा होल्डिङ्स प्रा.लि.का शाह बताउँछन् । अब निर्माण प्रकृयालाई तीव्रता दिएर १८ महिनाभित्र निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।

हेर्नुस् प्रस्तावित रिसोर्टका फोटो डिजाइन


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved