विद्यालयको भवनमा स्थानीय तहको कार्यालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2019 | 02:06:46 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह गठन भएको डेढ वर्ष बित्नलाग्दासमेत  दार्चुलाको स्थानीय तहले अझै आफ्नै भबन निर्माण गर्न सकेका छैनन् | दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको यहाँ सात स्थानीय तह भाडाका भवनमा सञ्चालन भैरहेको छ । 

आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको छ । अपी हिमाल, व्यास, दुहुँ, मालिकार्जुन र लेकम गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाका आफ्नो  भवन छैनन् । 

भवन निर्माणको लागि सरकारले बजेट व्यवस्थापन नगर्दा निर्माण गर्न नसकिएको अपी हिमालका अध्यक्ष धर्मानन्द मन्यालले बताए । उनले भने, “भवन मापदण्ड अनुसार सबै ठाउँमा एकै प्रकारको बनाउने भन्दै सर्कुलर भएको थियो, बजेट व्यवस्थापन कै कारण आफ्नै भवन निर्माणमा ढिलाइ हुन गयो ।” 

अपी हिमाल अहिले खण्डेश्वरी माध्यमिक विद्यालयको भवनमा राखिएको छ । भवन निर्माणका लागि भन्दै गाउँपालिकालाई स्थानीयले २२ रोपनी जमिन गतवर्ष नै जग्गादान गरिसकेका छन् । चालू आर्थिक वर्षमा गाउँपालिकाले आफ्नै बजेटबाट भवन निर्माण शुरु गर्ने तयारी गरेको उनले जानकारी दिए । भवन निर्माणको लागि गाउँपालिकाले ३० लाख विनियोजन गरेको छ । 

लेकम स्थानीय तहले  पनि खरकडामा रहेको विद्यालयका कोठा मर्मतसम्भार गरी कार्यालय स्थापना गरिएको छ । गाउँपालिकाले विद्यालय, साविकको गाविस भवन तथा स्थानीयका दुई घर भाडामा लिएर कामकाज सञ्चालन गरिरहेको उपाध्यक्ष माधवी जोशीले बताईंन्  । नयाँ भवन निर्माणका लागि जग्गाखोजी भइरहेको उनले जानकारी दिईन् । आफ्नै भवन नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित हुने गरेको उनको भनाई छ । 

मालिकार्जुन, व्यास दुहुँ गाउँपालिकाले भने स्थानीयको भर भाडामा लिएर कार्यालय संचालन गरिरहेका छन् |

सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाले कर्मचारी आवास गृहको भवनलाई पाँच वर्षका लागि भाडामा लिएर काम गरिरहेको छ । साविकको अपी नगरपालिका तथा गाविस भवनमा ठाउँ अभाव भएपछि सो भवन भाडामा लिइएको नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले बताए । 

शैल्यशिखर नगरपालिकाको पनि साविकको गाविस भवन तथा केही विषयगत कार्यालय सञ्चालन गर्न भाडामा भवन लिइएको छ । नगरपालिकाको भवन निर्माणका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालयले डिजाइन निर्माण गरेको नगर प्रमुखका स्वकीय सचिव सुरेश विष्टले जानकारी दिए  । 

नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाले भने पहिलो वर्षमै आफ्नो भवन निर्माण गरेका छन् । नौगाडले गत वर्ष आफ्नै भवन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीले बताए । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved