किन मान्छे मारेर मनाईन्छ मानवअधिकार दिवस ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2016 | 09:16:06 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७३ सालको अन्र्तराष्टिय मानवअधिकार दिवस बोक्सीको आरोपमा एउटी  महिलालाइ  कुटीकुटी मारेर धुमधामसँग मनाइयो ।  अझँ महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापन गर्ने दिनपनि मानवअधिकार दिवसकै दिन पर्ने गर्छ । एकातिर मानवअधिकार अर्कातिर महिला हिंसा विरुद्धको दुइहप्ते अभियानको समापन गर्ने कस्तो संयोग मिलेको दिन । सायद नेपालमा पनि भव्य रुपमा मानवअधिकार दिवस मनाइयो भनेर समाचार बने होलान , अधिकारको क्षेत्रमा काम गर्नेहरुले भव्य रुपमा मनाएको प्रतिवेदन पनि पेश गरिसके होलान । 

 

अरु ठाऊँमा खै कसरी मनाए मानवअधिकार दिवस ? कसरी मनाए महिलामाथि हुने हिंसा विरुद्धको अभियान ? हामीकहाँ नारा मानवअधिकारको व्यवहारमा भने मान्छे मारेर मनाउने चलन छ त्यो पनि कथित मास्टरको कुटाइ खाएर सिगो गाऊँलेको रोहबरमा । राजधानीबाट नजिकै रहेको जिल्ला काभ्रेकी ३३ वर्षीया लक्ष्मी नेपालीलाइ बोक्सीको आरोपमा निर्घात कुटपिट मात्र गरिएन दिसा समेत मुखमा कोचाइयो । एउटा मान्छेले अर्को सोझो निर्दो मान्छेमाथी गर्ने यो भन्दा घृणाको कर्म के हुन सक्छ ? दश वर्षको छोराले आफ्नो जन्मदाता आमालाइ स्कुलको पोलमा बाधेर कुटपिट गर्दै दिसा खुवाएको हेर्दा उसको आत्माले के भन्यो होला ? उ त दश वर्षको अलि बुझ्ने रहेछ पछिपछि आफनो आमालाइ यसरी मारे भन्ने कुरा  दिमागमा राख्ला तर अर्को आमाको दुध खान नपाएर रोएको  सानो भाइले फेरी दुध खान खोज्दा उसले के भनेर सम्झाउला ? 

स्कुलमा पढाउने शिक्षक , थुइक्क भन्न पनि शब्द छैन लक्ष्मीका हत्यारालाइ  । ति शिक्षक भनाउँदा त हत्यारा भएनै उनलाइ साथ दिने सिगो गाऊले नै लक्ष्मीका हत्यारा हुन । अहिलेको जमानामा पनि एउटी महिलालाइ दलित भएको निहुमा, विधुवा भएको निहुमा बोक्सी, डाइना भनेर अभद्र व्यवहार गरिन्छ , कुटपिट गरिन्छ , मान्छेको दिसा खुवाइन्छ र बाँच्ने अधिकारबाट सदाको लागि विदा गरिन्छ । एउटी महिलालाइ बोक्सीको आरोप लगाउनको लागि आधारहरु के के चाहिन्छन ? अलि टाठाबाठा महिलाहरु कहिल्यै बोक्सी हुँदैनन जसको पहुँच छैन, अािर्थक रुपमा विपन्न छ , घरपरिबारबाट एक्लो छ जसलाइ जे गर्दापनि साथ दिने कोही हुँदैन अनि त्यही महिला बोक्सी हुन्छे, डाइना हुन्छे, छिमेकीका बालबच्चा उसैले विरामी पार्छे, कोही मरे त्यसको जस उसैले लिनुपर्छ । कसैका बस्तु विरामी भएभने पनि त्यसको जिम्मा उसैले लिनुपर्छ , छिमेकमा कसैको टाउको दुख्यो, पेट दुख्यो भने पनि आज फलानी बोक्सीले आँखा लगाएकी थि पक्कै त्यही हो भन्न पछि पर्दैनन ठूलाठालुहरु नै । 

फेरि पुरुष बोक्सो हुँदैनन , पुरुष जहिले पनि धामी मात्र हुने बोक्सी चाँही महिलामात्र हुने । जुन धामी आफुलाइ निकै ज्योतिषी ठानेर अर्की निदोैष महिलालाइ बोक्सी देख्छ , कालो बोको र भाले अडर गर्छ खासमा अपराधी त्यही हो । त्यही धामीको पछि लागेर अरु अपराधीहरु जुरमुराउँछन र एउटी महिलाको हत्या गर्न तम्सिन्छन । अनि समाज ? त्यही उल्लासको भोज खानेजसरी तम्सिन्छन सबै जिम्मेवार छन ।  

लक्ष्मीमाथिको त्यो हर्कतमा पनि महिलाहरु नै बढी साक्षी बनेको पाइयो । मास्टर जो मुख्य नाइके हो उसकी आमाले दिसा खोजेर ल्याउने, अर्की महिलाले पोलमा बाँध्नको लागि नाम्लो खोजेर ल्याउने , बाकी अन्य महिला पुरुषहरु जात्राको रमाइलो हेर्ने । अपराधमा संलग्न र त्यो काममा साथ दिने सबैजनालाइ कारबाही गरिनुपर्छ । धन्य रहेछ प्रहरी प्रशासन पनि , एउटी महिलामाथि यतिहदसम्म निन्दनीय व्यवहार हुँदा मिलापत्रमा टुग्याउने । प्रहरीका श्रीमती, आमालाइ कोही पुरुषले त्यस्तै व्यवहार गरेका भएपनि मिलापत्र गरेरै सल्टाउँथे कि के गर्थे ? जो पनि बलेको आगो ताप्ने नै हुन आखिर । 

साली र श्रीमान मिलेर केही समयअघि सुनकुमारीको हत्या गरे । घाइते अवस्थामा अस्पताल पुराएको भएपनि उनको अािर्थक अभावका कारण उपचार हुन सकेन र प्राण त्याग गरिन । एकजनाले अर्कामाथि अमानवीय व्यवहार गर्दा रमिते बन्ने छिमेकी र आफन्तलाइ आफ्ना भन्न पनि घिन लाग्छ । कोही पराइले केही भन्दा एकजुट हुने सस्कार छैन हामीकहाँ । सबैभन्दा पहिले हाम्रो मानसिकतामा थोपरिएको अन्धविश्वासको तुवाँलो पखाल्नु जरुरी छ । 

के सुनकुमारी र लक्ष्मीको यो धर्तीमा बाच्ने अधिकार थिएन ? उनिहरुको नाम बिकाएर कति डलरवादीका प्रतिवेदन तयार भएका होलान । यी र यस्तै महिलाको विषयमा कतिले कार्यपत्र प्रस्तुत गरे होलान अझ कतिपय सस्थाले त यस्तै पात्रको नाममा अन्य सस्थामार्फत आयआर्जनको बाटो पनि खोलेका होलान । के मानवअधिकार र महिला अधिकार भनेको मुठीभरका शासकको लागि मात्र हो ? सामान्य नागरिकले मानव भएर मानवको रुपमा बाँच्न पनि नपाउने ? कस्को लागि मनाइन्छ मानवअधिकार ? एउटा मान्छेले अर्को मान्छेलाइ मार्ने अधिकार हो मानवअधिकार ? एउटी महिलाले  अर्की महिलालाइ पुरुषसँग लागेर हत्या गर्ने अधिकार हो महिला अधिकार ? आफुलाइ अभियन्ता ठान्नेहरुले आफ्नै धारणाहरु पेश गर्लान , ठूलाठूला होटलमा कार्यक्रम बनाउलान लक्ष्मीको बारेमा , सुनकुमारी र अन्य यस्तै  पात्रहरुको बारेमा । उनीहरुले तारे होटलमा गर्ने कार्यक्रमले यस्ता पिडितको पिडामा मलम कहिले लगाउने ? होइन भने मानवअधिकारको परिभाषा बदल्नु जरुरी छ । महिला अधिकारका नाराहरु फेर्नु जरुरी छ । 


मानवले मानवमाथि गर्ने यस्ता हर्कतका मतियारलाइ कस्तो कारवाही हुन्छ ? केही दिन कारवाहीको नौटकी हुन्छ , पैसा र पावरको सामु सबै अपराध फिक्का हुन्छन फेरी उही अपराधी शेर बनेर त्यही समाजमा राज गर्छ । दलित सधै बोक्सी हुने? विधुवा सधै बोक्सी हुने ? विपन्न गरिब महिला सधै बोक्सी हुने ? तिनै निरिह महिलाले धनी सामन्तीको सर्वस्व हरण गर्ने भए ति महिलाको लोग्ने खाने, उनिहरुलाइ कगांल बनाउने, उनिहरुलाइ दलित बनाउने को हो त ? यसको जवाफ कस्ले दिन्छ ? 

मेरी आमा चार वर्षदेखी एकल महिलाको परिभाषामा हुनुहुन्छ । मावली पढेलेखेका , हामी छोराछोरी पनि पढेलेखेका छिमेकीले होच्याउन सक्ने ठाऊँ कही नभएकोले आमालाइ अहिलेसम्म कसैले तँ बोक्सी होस भन्ने आँट गरेको छैन , कसैको साइत आमाका कारण बिग्रेको छैन । आमाका कारण कसैको पुजाआजा रोकिएको छैन , सबैजना छिमेकीले आमालाइ पुजाआजामा बोलाउन छोडदैनन । आमालाइ कसैले पनि लोग्ने टोकुवाको आरोप लगाएका छैनन, सबैलाइ एकपटक पर्छ चित्त बुझाउनुपर्छ भन्दै आड भरोसा दिए गाऊलेले  दिइरहेका छन । बुवा गुमाउँदाको पिडा हामीलाइ जति भयो त्यो भन्दा बढी पिडा आमालाइ आफ्नो जोडी गुमाउँदा भयो यस्तो अवस्था बोक्सी र अलक्षिनीका शब्द सुन्नुपर्दा धाँजा फाटेको आमाको मनमा बाढी पस्थ्यो होला र सखाप पाथ्र्यो होला । मेरी आमा एकल हुँदा बोक्सी नहुने मेरा आमा जस्ता अरुका आमा एकल  हुँदा कसरी बोक्सी हुन्छन मलाइ सधै यही कुराले घोँचीरहन्छ । 

यदि एउटी गरिब असहाय महिला बोक्सी भएर सारा विनास गर्न सक्थिन भने आफु सधै भिखारी भएर बस्ने रहर गर्थिन त ? आफु मागिखाने अरुको सत्यनाश गर्ने कस्तो कला हुन्छ बोक्सीमा ? केको आधारमा बोक्सीको बिल्ला भिराइन्छ ? बोक्सीको मापदण्ड तोक्ने विचारक को हो ? यसबारेमा खै हाम्रा सरोकारवालाको ध्यान गएको ? लक्ष्मी नेपाली त पछिल्लो पात्र हुन उनि जस्ता कति लक्ष्मीले बोक्सीको आरोपमा कठोर यातना सहेर मृत्युबरण गरे । आमा गुमाएपछि छोराछोरीको विरक्तलाग्दो अवस्था नियाल्ने फुर्सद कस्लाइ छ ? छिमेकीको बारीमा कोदो टिप्न गएकी आमाको अन्तिम पटक दुध चुसेको कान्छो छोराले फेरी कतिपटक आमा भन्ला ? कतिपटक दुध खान खोज्ला ? आफ्नी आमालाइ आफ्नै आँखा अगाडी अपराधीले कुटीकुटी मारेको देखेको दश वर्षको छोराले कसरी आफुलाइ सम्हाल्ला ? यसबारेमा कसको ध्यान जाला ? अधिकार पशुको पनि हुन्छ तर मान्छेको अधिकार पशुको जतिपनि हुन सकेन यो बडो दिक्दार लाग्दो अवस्था हो । बोक्सीको आरोप लगाउने र उक्साउनेलाइ सामाजिक बहिष्कार नगरेसम्म र कडाभन्दा कडा कारवाही नगरेसम्म यस्ता मास्टर जन्मिरहन्छ सोझा लक्ष्मीहरु मरिरहन्छ अवोध बालबच्चा टुहुरा भइरहन्छन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved