त्रिबेणी विकास बैंकले डाँगीहाट, मोरङमा नयाँ शाखा संचालनमा ल्याएको छ। ग्रामिण तहसम्म शाखा विस्तार गरी आधारभुत तहका जनतामा बैंकिङ सेवा पुर्याउने लक्ष्य सहित बैंकले सो क्षेत्रमा २८ औ शाखा कार्यालय संचालनमा ल्याएको हो।
बैंकका अध्यक्ष लङ्कबहादुर केसीले संचालनमा ल्याइएको सो शाखा कार्यालयको उद्घाटन गरे। उद्घाटन अवसरमा बोल्दै अध्यक्ष केसीले कृषी क्षेत्रको विकासमा उल्लेख्य भूमिका रहेको यस बैंकले उर्बर भूमी तथा औद्योगिक नगरीको समिपमा रहेको डाँगीहाट क्षेत्र तथा प्रस्तावित बेलबारी नगरपालिका क्षेत्रमा कृषीको साथै साना तथा मझौला उद्योगको विकासलाई टेवा पुग्ने गरी लगानीलाई महत्व दिने बताए।
उद्घाटन अवसरमा बैंकका संचालक भेजप्रसाद तिमिल्सीना, प्रमुख कार्यकारी अधिकृत सागरकुमार घिमिरे, स्थानिय समाज सेवी तथा ब्यबसायीहरु देवी पोखरेल, धनजित पराजुली , विवेक मिश्र, स्थानीय संघ सस्थाका प्रमुखहरु तथा उल्लेख्य संख्यामा ग्राहकहरुको उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै स्थानीय समाजसेवी तथा व्यवसायीहरुले आधुनिक अर्थतन्त्रमा बैंकिङ सेवा अपरिहार्य रहेको सन्दर्भलाई जोड्दै त्रिवेणी विकास बैंकको उपस्थितिले यस क्षेत्रको आर्थिक गतिविधिलाई सहयोग पुग्ने उल्लेख गर्दै शाखाको उन्नतीको लागि सहयोग रहने बताए।
डाँगीहाट, मोरङमा नयाँ शाखा संचालनमा आएसंगै बैंकको २८ शाखा संख्या, १ एक्स्टेन्सन काउन्टर र २ सिमित बैंकिङ इकाई पुगेको छ। त्रिबेणी विकास बैंक हाल जनता बैंकसंग मर्जर प्रक्रियामा रहेको छ।