चालु आर्थिक बर्षको पहिलो ९ महिनामा बैदेशिक रोजगारीमा जाने क्रम घटेको छ। गत आर्थिक बर्षको तुलनामा पहिलो ९ महिनामा रोजगारीको लागि विदेश जानेको संख्यामा २० हजार ४७१ ले कमि आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
बैदेशिक रोजगारीको बिकल्पको रुपमा मलेसिया अग्रस्थानमा रहेको छ। यस अघि रोजगारीको लागि कतार र साउदी जानेहरुको संख्या बढी भएपनि यो आर्थिक बर्ष मलेसिया नेपालीहरुको पहिलो रोजाईमा परेको छ।
रोजगारीका लागि साउदी अरब जानेहरुको संख्यामा गिरावट आएको छ भने मलेसिया जानेहरुको संख्या संख्या ८ प्रतिशतले बढेको छ। कुनैबेला बैदेशिक रोजगारीको आकर्षक गन्तब्य मानिने साउदी अरबमा रोजगारीका लागि जानेको संख्यामा ४ प्रतिशतको गिरावट आएको छ।
अरब राष्ट्रहरुले कतार बिरुद्द लगाएको नाकाबन्दी र साउदीको बदलिदो नीतिको असर बैदेशिक रोजगारीमा समेत देखिएको छ। कतारको नाकाबन्दीपछि केही वर्ष अघिसम्म आकर्षक रोजगार गन्तब्यको रुपमा रहेको मलेसियामा नेपाली जाने बढेका हुन्।नाकाबन्दी लाग्नुअघि कतार नेपालीको पहिलो रोजगार गन्तब्य थियो। कतारलाई नाकाबन्दी लगाउने निर्णयले सबै खाडी क्षेत्रको रोजगारी प्रभावित भएको छ।
गत आर्थिक बर्षको तुलनामा बैदेशिक रोजगारीमा जानेहरु घटेपनि नेपाल भित्रिने रेमिट्यान्स भने बढेको देखिएको छ। गत आर्थिक बर्षको तुलनामा पहिलो ९ महिनामा रेमिट्यान्स ५.६ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब ३८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ६.३ प्रतिशतले बढेको थियो ।